site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलनका बिरामीका लागि बर्न युनिट सञ्चालन गरिने (पूर्णपाठ)

पोखरा । पोखरा महानगरपालिकाले जलनका बिरामीको लागि बर्न युनिट सञ्चालन गर्ने भएको छ । पोखराका नगर प्रमुख धनराज आचार्यले आइतबार नगरसभामा पेस गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पोखरा–१५, हरियोखर्कमा डेडिकेटेड बर्न युनिट सञ्चालन गर्ने जानकारी दिए ।

प्रमुख आचार्य आफैँ गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने कार्यक्रममा बेलुन विस्फोट हुँदा घाइते बनेका थिए । उनलाई हेलिकोप्टबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाँचदिन कीर्तिपुरस्थित बर्न अस्पतालमा चिकित्सकको निगरानीमा रहेका आचार्य फागुन ८ गते डिस्चार्ज भएका थिए । त्यसपछि उनले पोखरामा नै बर्न युनिट सञ्चालन गर्ने बताएका थिए ।

“जलनका बिरामीहरूको उपचारका लागि पोखरा–१५ नयाँ गाउँ स्थित हरियो खर्क अस्पतालमा डेडिकेटेड बर्न युनिट सञ्चालन गरिनेछ,” आचार्यले नगरसभामा भने ।

पोखरा महानगरपालिकाले जेनजी पुस्तालक्षित कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । त्यसको लागि महानगरले मेरो सहरको कथा म भन्छु भन्ने अभियान सञ्चालन गर्ने भएको छ । “मेरो सहरको कथा म भन्छु, पोखरा स्टोरीटेलिङ एन्ड सिटी ब्रान्डिङ वाई युथ  अभियानअन्तर्गत पोखराका जेनजी पुस्तासहित विभिन्न पृष्ठभूमिका युवाहरूलाई आफ्नो सहरका अनुभव, संस्मरण, संस्कार, चुनौती र सपनाहरू आफ्नै शब्द, फोटो, भिडियो वा कला (मल्टिमिडिया स्टोरी) मार्फत प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ ” आचार्यले भने, “यस अभियानले स्थानीय कथालाई उजागर गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत साझा गरी पोखराको विविधता, पहिचान र सकारात्मक पक्षलाई उजागर गरी पर्यटन प्रवर्द्धन गर्न सघाउनेछ ।”

पूर्णपाठ हेर्नुहोस्

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्