site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशका केही स्थानमा वर्षा हुने, मंगलबार काठमाडौंसहित यी स्थानमा पर्नेछ पानी
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा सोमबार (भोलि) र मंगलबार (पर्सि) वर्षा र हिमपातको सम्भावना छ । सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बदली (आकाशमा बादल) भने आज (आइतबार) पनि हुनेछ । काठमाडौंसहितका स्थानमा आंशिकदेखि साधारणतथा बदली हुने महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । “बादल त आज पनि लाग्नेछ । केही समय खुलेको जस्तो भए पनि बादल लाग्ने देखिन्छ,” उनले बाह्रखरीसित भनिन्, “आज वर्षाको सम्भावना भने देखिएको छैन ।”

वर्षाको सम्भावना सोमबार रातिदेखि बढ्ने उनले बताइन् । सोमबारदेखि मंगलबार रातिसम्म केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सोमबार देशैभरि बदली हुनेछ । “सोमबार राति वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले भनिन्, “कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना छ ।”

मंगलबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । त्यस दिन बाँकी प्रदेशका पनि एक/दुई स्थानमा वर्षा हुन सक्नेछ ।

“हिमपातको सम्भावनाचाहिँ सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी भूभागमा बढी र मंगलबार त्यसयताको भूभागको हिमाली क्षेत्रमा बढी देखिन्छ,” उनले भनिन् ।

आउँदो मंगलबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । हल्का वर्षा हुन सक्ने उनले बताइन् । “मंगलबार दिउँसो काठमाडौंमा पनि वर्षाको सम्भावना छ । ठूलो वर्षा होइन, हल्का वर्षाको सम्भावना देखिन्छ,” उनले भनिन्, “दुईवटा मोडेलले वर्षाको सम्भावना देखाएको छ । काठमाडौंमा वर्षाको सम्भावना ४० प्रतिशत हाराहारी देखिन्छ ।”

वर्षा र हिमपातको सम्भावना भनिए पनि त्यो ठूलो र धेरै हुने खालको नरहेको उनले स्पष्ट पारिन् । बुधबार पनि सामान्य बादल लाग्न सक्ने उनको भनाइ छ ।

अरू केही मौसमविद्ले पनि सोमबार रातिदेखि मंगलबारसम्म वर्षाको सम्भावना औँल्याएका छन् ।

उक्त दिन पानी परे यो वर्षको हिउँदको चौथो वर्षा हुनेछ । यही पुस १२ र १३ गते यो वर्षको हिउँदको तेस्रो वर्षा भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro