site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– काठमाडौंमा किन परेन पानी ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शुक्रबार र शनिबार वर्षा भएको छ । उच्च पहाडी र हिमाली कतिपय स्थानमा हिमपात पनि भएको छ । बदली (आकाशमा बादल) भने देशभर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्षको हिउँदको तेस्रो वर्षा पनि पश्चिम नेपालमै सीमितजस्तो देखिएको छ । अरू भूभागको तुलनामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात धेरै भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

सुदूरपश्चिम र कर्णालीका केही र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अहिले पनि वर्षा भइरहेको उनले बताए । यीबाहेक अरू एक/दुई स्थानमा छिटपुट पानी परेको उनको भनाइ छ ।

“राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “बादल भने देशभर छ, चिसो बढेको छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीका कारण बदली, वर्षा र हिमपात भएको हो । हल्का वर्षा र मध्यमसम्म हिमपात भएको उनले जानकारी दिए ।

महाशाखाले काठमाडौंमा पनि वर्षाको पूर्वानुमान गरेको थियो । अरू केही मौसमविद्ले समेत काठमाडौंमा वर्षाको सम्भावना औँल्याएका थिए । तर, शनिबार बेलुका करिब सवा ६ बजेसम्म यहाँ पानी परेको छैन । “काठमाडौं आसपास हाम्रा स्टेसनहरूमा वर्षा रेकर्ड भएको देखिएको छैन,” उनले भने ।

शनिबार दिउँसो काठमाडौंका एक/दुई स्थानमा आफूहरूले पानी पर्ने पूर्वानुमान गरेको उनले बताए । “हाम्रै र विभिन्न मोडलहरूले पानी पर्ने देखाएको थियो,” मौसमविद् अधिकारीले भने, “धेरै त होइन, एक/दुई स्थानमा हल्का वर्षाको पूर्वानुमान थियो ।”

काठमाडौंमा पानी पर्लापर्लाजस्तो भएको तर नपरेको उनले स्पष्ट पारे । पानी पर्न सक्ने सम्भावना राति पनि रहेको उनले बताए । “मोडलहरूले (शनिबार) दिउँसो पनि पानी पर्ने देखाएको हो, राति पनि केही सम्भावना देखिन्छ,” उनले भने ।

काठमाडौंमा पानी नपर्नुमा कुनै खास कारण नरहेको उनले उल्लेख गरे । पूर्वानुमान शतप्रतिशत नमिल्ने उनले बताए । “यो अस्वाभाविक कुरा होइन,” उनले भने, “पूर्वानुमान भनेको शतप्रतिशत मिल्दैन । पानी पर्नपर्न आँटेर नपरेको अवस्था हो ।”

आइतबार (भोलि) बिहानदेखि मौसम क्रमिक रूपमा खुल्दै जाने उनले जानकारी दिए ।

यो वर्षको हिउँदको दोस्रो वर्षा पुस ८ र ९ गते भएको थियो । त्यति बेला काठमाडौंमा छिटपुटसहित पश्चिम नेपालमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो ।

गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो । त्यति बेला काठमाडौंमा छिटपुटसहित पश्चिम नेपालमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro