site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव पनि ठगीमा तानिए

विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगी प्रकरणमा मुछिएका छन् । 

पोखरेलकी पत्नी अञ्जना कोइराला मोरङको उमागौरी सहकारीको रकम अपचलनको आरोपमा फरार रहेकै बेला पोखरेलका स्वकीय सचिवसमेत अर्को ठगी प्रकरणमा जोडिएका हुन् ।

पोखरेलका स्वकीय सचिव मोरङको रंगेली नगरपालिका–२ का वासिन्दा हुन् । उनी एमाले मोरङ जिल्ला कमिटी सदस्य पनि हुन् । ४३ वर्षीय अनिल पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ ठगेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । 

समिति सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निस्कासन गरेको बताएका छन् । उनीमाथि लागेको आरोपमा अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको बताएका छन् ।

पोखरेलले चिकित्सा विज्ञान अध्ययन गराउन परीक्षामा उत्तीर्ण गराइदिने भन्दै रकम असुलेको आरोप छ । यो प्रकरणमा पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको हो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको भने छैन । 

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले पटक–पटक गरेर ३८ लाख रकम लिएको पाइएको छ । उनले विभिन्न मितिमा सातपटक रकम लिएको खुलेको छ । चौधरीले पोखरेललाई बैंकमार्फत पठाएको भौचरमा देखिन्छ । 

नविल बैंकमा रहेको पोखरेलको खाता नं. ३५१००१७५०३९८१ मा चौधरीले रकम जम्मा गराएका थिए । एमबीबीएस अध्ययन गर्न नाम निकालिदिने र होस्टेलको बसोबासको व्यवस्था गरिदिने भनेपछि बौआलाल चौधरीले रकम दिएको उनले दिएको जाहेरीमा उल्लेख छ । विराटनगरमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर पैसा जुटाएर दिएको उनले बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलसँग आफ्नो राम्रो सम्बन्ध भएको र एमबीबीएस पढ्न सहजै नाम निकालिदिने आश्वासन दिई पोखरेलले रकम लिएको आरोप लागेको छ । पार्टीको एउटा कोटामा दीक्षालाई पारिदिने भन्दै रकम लिएको चौधरीले उल्लेख गरेका छन् । 

तर, नतिजा आउँदा भने दीक्षाको नाम एमबीबीएसको प्रवेश परीक्षाको सूचीमा थिएन । त्यसपछि चौधरीले उनीविरुद्ध जाहेरी दिएका थिए ।

चौधरीले पोखरेलसँग रकम फिर्ता मागे पनि पोखरेलले ५० लाख रुपैयाँ चौधरीले नै ऋण लिएको कपाली तमसुक बनाएको र हिसाब चुक्ता गरिदिने भन्दै काठमाडौंमा बोलाएर पुरानो मितिमा किर्ते कागज बनाई तमसुक गरेको पीडितले बताए । उनले भने, “छोरीको नाम निस्किएन तर उल्टै मेरो रकम हजम गर्ने नियतले किर्ते तमसुक बनाएको छ ।”

चौधरीलाई रकम दिएको बैंक स्टेटमेन्ट र भौचरसहित उनले उजुरी लग्दा प्रहरीले लिन नमानेपछि उच्च अदालतमा रिट दायर गरेको बताए ।
 
चौधरीले १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा जाहेरी दरखास्त मोरङ प्रहरीमा पठाएको बताए । तर, उनको नामबाट कुनै पनि उजुरी प्राप्त नभएको भन्दै मोरङले जाहेरी दर्ता नगरेको उनले जानकारी दिए । 

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ ।

गत भदौ ३१ गते उच्चले परमादेश दिएको थियो । पुस ११ गते यसको प्रमाणीकरण भएको हो । उच्चले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीमा पुगिसकेको ठहर गर्दै जाहेरी दर्ता गरेर कानुनी कारबाही अगाडि बढाउन भनिएको छ ।

२०८० जेठ १० मा मोरङ प्रहरीका तत्कालीन मुद्दा फाँटका प्रहरी निरीक्षक मोहन पोखरेलले हस्ताक्षर गरेर उच्च अदालत विराटनगरमा पठाएको जवाफमा प्रहरीले हुलाकको जाहेरी प्राप्त नभएको बताएको देखिन्छ ।
 
ठगी आरोपित पोखरेलले चौधरीले आफ्नो खातामा रकम पठाएको स्वीकार गर्दै रकम निकालेर चौधरीकै श्रीमतीलाई फिर्ता दिएको दाबी गरेका छन् । सबै रकम निकालेर काठमाडौंमा बस्ने उनकै श्रीमतीलाई दिएको उनले बताए ।
 
ठगीको विषयमा आफूले २०७८ पुस २७ मा नेकपा एमाले मोरङमा पनि निवेदन दिएको बताएका छन् । निवेदन पर्दा एमाले जिल्ला अध्यक्षमा ऋषिकेश पोखरेल थिए । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro