
काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल बहस सुरु गरेको छ । विद्यार्थी लक्षित 'एट होम गजेट युज पोलेसी'अन्तर्गत बहस सुरु गरिएको स्कुलले जनाएको छ ।
स्कुलले बालबालिकाले अधिकांश समय अनियन्त्रितरूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेका र उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा स्पष्टता नदेखिएपछि पोलिसी ल्याइएको जनाएको छ ।
विद्यालयको अभिभावक प्रतिनिधिहरूको सहकार्यमा, बालबालिकाको पूर्वप्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल व्यावहारिक र सन्तुलित नीति तयार पारिएको जनाइएको छ । यस नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गरेको बताइएको छ ।
विश्वव्यापीरूपमा डिजिटल ओभर एक्सपोजरका लागि विभिन्न देशले धेरै प्रतिबन्ध लगाएका छन् । विद्यालयका शैक्षिक निर्देशक प्रभिना थापाले यो विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति नभएको स्पष्ट पारिन् ।
"यो त हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान हो । हामी हाम्रा अभिभावक प्रतिनिधिहरूसँग मिलेर यस्ता संस्कार निर्माण गर्ने कोसिस गरेका छौँ, जसमा विद्युतीय उपकरणहरूले विद्यार्थीको सिकाइको क्षमतामा ह्रास नआउने गरी प्रोत्साहन गरियोस्,” उनले भनिन् ।
नेपालमा यस्तो मार्गदर्शक कदम चालेर प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले २१औँ शताब्दीको शिक्षालाई नयाँ आकार दिएको बताइएको छ ।