site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडौं । सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो । तर, सुदूरपश्चिमले १६औँ ओभरमा जित निकालेको कारण नेट रनरेटमा कर्णालीले काठमाडौंलाई पछि पार्दै प्लेअफ यात्रा तय गरेको हो ।

अंक तालिकाको चौथो स्थान सुनिश्चित गरेको कर्णालीले सात खेलबाट आठ अंक जोडेको छ । समान अंक भए पनि काठमाडौं नेट रनरेटका आधारमा पाँचौँ स्थानमा छ ।

यता, कर्णालीविरुद्ध सहज जित निकालेसँगै सुदूरपश्चिमले भने लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ । 

सोमबार सुदूरपश्चिमको जित दिलाउन कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । उनले २९ बलमा चार चौका र एक छक्का पहार गरे । यस्तै, इशान पाण्डेले अविजित ३८ रन थपे । उनले ३६ बलमा चार चौका प्रहार गरे । २८–३ को कठिन स्थितिबाट यी दुईले चौथो विकेटका निम्ति ६७ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्‍याएका थिए । इशानसँगै अविजित रहेका आरिफ सेखले चार रन जोडे ।

त्यसअघि सैब जैबले ११ रन थप्दा विनोद भण्डारी चार र ब्रान्डन म्याकमुलम तीन रनमा पभेलियन फर्किएका थिए ।

कर्णालीका कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । कर्णालीका जिसान मक्सुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा चार चौका प्रहार गरे । विलियम बोसिस्टोले २४ बलमा एक चौकासहित १६ रन जोडे । ओपनर बाबर हायातले नौ बलमा तीन चौका प्रहार गर्दै १३ रन बनाए ।

यस्तै, चान्डविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन थपे । कर्णालीका ओपनर रित गौतम, नन्दन यादव र विपिन शर्मा ‘डक’ भए ।

कर्णालीलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले १७ रनमात्र खर्चिए । स्कट कुग्गेलेनले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।

यो नतिजासँगै प्रतियोगिताको प्लेअफ समीकरणसमेत पूरा भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro