site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रातहरू चुपचाप ननिदाए हुन्थ्यो

रातको शान्त सन्नाटामा एउटा अदृश्य जादु हुन्छ । त्यसले मानव हृदयलाई अद्भुत अनुभूतिमा डुबाउँछ । दिनको कोलाहल, भीडभाड निख्रिएपछि रातको आगमन हुन्छ । त्यसपछि प्रकृति आफ्नै गहिराइमा हराउन थाल्छ । शारीरिक र मानसिक विश्राम लिन्छ ।

साँझ परेपछि सूर्य अस्ताउँछ र आकाशलाई गाढा निलो खास्टोले ओढाउँछ । धर्तीमा एउटा सौम्य शान्ति व्याप्त हुन्छ । यही समय रातले आफ्नो यात्रा आरम्भ गर्छ । त्यसपछि हाम्रा आँखाले हामीलाई देख्न नसक्ने संसारको कल्पनामा पुर्‍याउँछ ।

रातिको समयमा प्रकृति आफ्नै तरिकाले मौन संवाद गर्न थाल्छ । नदीको अविरल प्रवाह रातको सन्नाटामा झन् स्पष्ट सुनिन्छ । सिमसिम पानी पर्न थालेमा त अझ रोमाञ्चक पल फैलिन्छ । परपरका झ्यालबाट आउने मधुर प्रकाशले अँध्यारोमा डुबेका घर, बाटा र बोट–वनस्पतिलाई हल्का उज्यालो दिन्छ । दृश्यहरू अनौठो रङमा देखापर्छन् । वातावरणभरि हावा बिस्तारै डुल्न थाल्छ ।

Dabur Nepal
NIC Asia

त्यसो त यस्ता कतिपय रातमा, जीवनका थुप्रै स्मृतिहरू मनको पत्रमा पुनः सजिएर आउँछन् । ती स्मृतिहरू कहिलेकाहीँ मौन गीतजस्तै प्रतीत हुन्छन् । तिनले आफ्नो भाकामा हामीलाई नचाउँछन् । बेग्लै मनोरञ्जनको आनन्दमा पुर्‍याउँछन् ।

यद्यपि, कति रातहरूले मनलाई गहिरो प्रश्नहरूमा लगिदिन्छन् । कतिपय रातहरूले सोधेको भन्दा बढी उत्तर दिएर मनलाई तृप्त पारिदिन्छन् । के रातको यो शून्यता कुनै सन्देश हो ? के यो भौतिक संसारको पल्लापट्टि के छ भन्ने संकेत हो ? 

रातको यो गहिराइ, यसको निस्तब्ध रूप आफैँमा अनगिन्ती कथा बोकेर बसिरहेको छ । रातको शान्ति बाहिरी आवरणमा नभएर यसको अन्तर्यमा रहेको सत्य हो । त्यसले हामीलाई चुपचाप समर्पण र मौनताको पाठ सिकाउँछ ।

कल्पना गरौँ, यदि रातहरू चुपचाप ननिदाइदिने भए कस्तो हुन्थ्यो ? त्यो निराकार आनन्द, त्यो शान्तिको गहिराइ मानवीय हृदयलाई अडिग शान्तिमा बाँधिदिने पो हो कि ! रातको चुपचाप कुनै कर्मकाण्ड होइन । बरु, त्यो भावनाहरूको सरल संवाद हो ।

त्यसैले रातको यो मौनतामा एउटा रहस्यपूर्ण आनन्द लुकेको हुन्छ । त्यसलाई हामीले देख्न सक्यौँ भने हामीमा नयाँ अनुभूति–यात्राको प्रारम्भ हुन थाल्छ ।

यसरी कुनै चिसो रातमा पातहरू हल्लिएर बिस्तारै रोकिन्छन् । त्यसले क्रमशः समयको सुस्केरा लिन थाल्छ । हामीलाई भान हुन्छ कि यस्ता रातहरू केवल निदाएर हाम्रो मनलाई शान्त पारिरहेका छन् । अनि, मन पनि चुपचाप भित्रभित्रै निदाउन चाहन्छ – यस्तै रातहरूको गोप्य पर्खाइमा ।

रातको सन्नाटामा लुकेको एउटा अनकन्टार आकर्षण छ । दिनभरको दौडधुप, हल्ला–खलबल र भीडभाडबाट थाकेको मान्छे घर फर्कन्छ, साँझ सुत्नुपर्छ । त्यतिखेर मात्र सुरु हुन्छ, रातको वास्तविक कथा । 

यद्यपि, म चाहन्छु– रातहरू ननिदाऊन् । उनीहरू चुपचाप टोलाएर बसून् र हामीलाई असंख्य सवालहरूको उत्तर दिएर जाऊन् ।

रातमा लुकेका कुरा मात्र सुनिन सक्छन्, दिनमा भन्न नपाएका कुरा मात्र भन्न सकिन्छ । सोचौँ त, यदि रातहरू चुपचाप ननिदाउने भए हामीले तिनीहरूलाई साथी बनाएर आफ्ना सबै दुःखसुखका कथा–संवाद साझेदारी गर्न सक्थ्यौँ ? मानौँ, यो धराधाममा कुनै अनौठो शक्ति छ, जसले रातलाई जीवन दिन्छ र हामीलाई त्यसको साक्षी बनाउँछ ।

रातहरू खुला किताबजस्तै हुन् । आकाशमा टाँसिएका ताराहरू, चन्द्रमाको न्यानो प्रकाश र आकाशगंगाको अथाह गहिराइ हेर्दै हामी ती अनन्त प्रश्नहरू सोध्न सक्छौँ । त्यसले हामीलाई निरन्तर पर्खिरहेको हुन्छ । 

रातसँगै कहिलेकाहीँ हामी आफ्नै जीवनलाई प्रश्न गर्छौँ, के मैले सही बाटो रोजेँ ? के यो यात्रा सही दिशातर्फ छ ?

मलाई लाग्छ, दिनभर देखावटी मुस्कानले थकित अनुहारहरू रातमा मात्र वास्तविक देखिन्छन् । उनीहरूका अधुरा सपना, अनगिन्ती आशा अनि गुमनाम डरहरूको एउटा छुट्टै संसार हुन्छ । यसलाई कुनै चन्द्रमाले शान्तिपूर्वक सुन्दै सान्त्वना दिइरहेको हुन्छ । सायद रातमा हामी आफ्ना सबै दुःखका पोका खोल्न सक्छौँ । अन्यथा, हामी दिनभर बनावटी हाँस्दै बस्न बाध्य हुन्छौँ ।

रात कतै टाढा सुनसान पहाडमा उभिएको एक्लो रुखजस्तै पनि हुन्छ । त्यो न जाग्छ न मर्छ । बस्, शान्त रहन्छ । उसको शीतल स्पर्शले हाम्रो मनलाई शीतलता दिन्छ । उसको अँध्यारोले आफ्ना कमजोरी र लाजका प्रश्नचिह्नहरूलाई लुकाइदिन्छ । यस्तो लाग्छ, रात मात्र हाम्रो एक सच्चा साथी हो, जसले हाम्रो सम्पूर्ण भोगाइहरू विनाप्रश्न चुपचाप सुनिदिन्छ ।

यदि, रातहरू चुपचाप ननिदाउने भए हामीले धेरै कुरा भन्न पाउँथ्यौँ । हाम्रा सपनाहरूको एउटै उद्देश्य उनीहरूलाई खुलस्त रूपमा रातलाई सुनाउनु पनि हो । हो, रातहरू यस्ता भइदिए हुन्थ्यो कि तिनीहरू नथाकून्, ननिदाऊन् र हामीलाई आफूभित्रका असंख्य संवादहरू बाँड्न प्रेरित गरिरहून् ।

अफसोस, बिहानको उज्यालोले रातलाई बिदा दिन बाध्य बनाउँछ । अनि फेरि हामी आफूभित्रको अन्धकारलाई भुल्छौँ । आगो लगाएर डढेका अहंकारलाई पुनः जगाउँछौँ । यो चुपचाप ननिदाउने रातहरू केवल कल्पनामा मात्रै रहनेछन्, किनकि हाम्रो संसार निरन्तर चलायमान छ, जसलाई विश्राम छैन ।

जुनेली रातको सन्नाटा भनेको प्रकृतिको त्यो यस्तो क्यानभास हो, जसले हामीलाई जीवनका हरेक हलचल र आन्दोलित भावनाबाट अलग गरेर एउटा शान्त विन्दुमा पुर्‍याउँछ । रातको काखमा जब चन्द्रमाले आफ्नो सफा, शीतल ज्योति छरिरहन्छ, तब चारैतिरको संसार कुनै आन्तरिक साधनाको अनुभवजस्तो लाग्छ ।

त्यस्तो रातमा आकाशमा अनगिन्ती तारा टल्किरहेका हुन्छन् । तिनको झिल्काले रातलाई गहिराइभन्दा अझ गहिराइमा पुर्‍याइरहेको अनुभव हुन्छ ।

जुनेली रातको सौन्दर्य वर्णन गर्नै नसकिने खालको हुन्छ । त्यस क्षणमा माटो र हरियो घाँसमा समाहित सुगन्धले एक प्रकारको सुरम्य शान्तिलाई निम्तो दिन्छ । सुनसान वातावरणमा सन्नाटाको संगीत हुन्छ । त्यो शान्त र निस्तब्ध भए तापनि अन्ततः त्यसले मनमा शब्दरहित भावनाहरूलाई उजागर गर्छ । यस्तो अनुभवले प्राचीन रहस्यहरूको स्मरण गराउँछ, जुन हाम्रो चेतनाको कुनै कुनामा बसेका छन् ।

हुन त दिनको उज्यालोमा पनि प्रकृतिले मानिसलाई अचम्ममा पार्ने सौन्दर्य प्रदान गरिरहेको हुन्छ । रातको समयमा चन्द्रमाको मधुर प्रकाशले प्रकृतिलाई कुनै स्वप्निल कथाजस्तो बनाइदिन्छ । न त चराहरूको चिरबिर न त कुकुरहरूको भुकाइ सुनिन्छ, देखिन्छ । मस्तले भातेनिद्रामा निस्लोट सुतिरहेजस्तो आभास हुन्छ ।

मौनताको त्यो अनौठो संगीत वातावरणभरि फैलिरहेको हुन्छ । त्यस समयमा हावाले अलिअलि सुसाउने, रुखहरू हल्काहल्का हल्लिने, अनि पातहरूले सुमधुर स्वरमा आफ्नै किसिमले बोलेको महसुस हुन्छ ।

जुनेली रातमा, मौन र अदृश्य आत्माले भनेको कुरा उसैले मात्र सुन्छ । बाहिरका सबै आवाजहरू शून्य बन्छन् । भित्री भावना र विचारहरू एकएक गर्दै खुलेर आउँछन् । यस्तो लाग्छ कि जुनेली रातको सन्नाटाले हाम्रो जीवनका प्रश्नहरूको उत्तर दिन्छ ।

फलतः रातको चकमन्न अन्धकारमा हामीले खोजेको एकान्त भेटिरहेका हुन्छौँ । त्यो एकान्तमा मायावी ममताका खातहरू दृश्यमान हुन्छन् । तिनले मान्छेका मनहरूलाई संवेदित पार्ने चेष्टा गर्छन् ।

सबै कुरा समयले मिलाउँछ । त्यो सन्नाटाले जीवनका हरेक दुखाइलाई शान्त र सहज बनाइदिन्छ । शीतल उज्यालोले मनलाई एक प्रकारको शान्ति दिन्छ । नपत्याउँदो शक्ति प्रदान गर्छ । त्यसले जिन्दगीमा आएको सबै उतारचढावलाई केही क्षणका लागि भुलाइदिन्छ ।

रातको त्यो सन्नाटा क्रमशः जब बढ्दै जान्छ, तब मनमा एक नयाँ प्रकाशको उज्यालो फैलिन्छ । चन्द्रमाको त्यो सफा प्रकाशले हाम्रो मनको प्रदूषणलाई सफा गर्दै जान्छ । अन्त्यमा हामीलाई नवीकरण गराएर नयाँ सोच–शैलीका साथ आफ्नो कर्ममा रमाउन प्रेरित गर्छ । 

मूलतः रातको सन्नाटाले जीवनका सारा हतारो, चिन्ता र निराशाहरूलाई एक क्षणका लागि बिर्साएर आनन्दको अनुभूति गराउँछ ।

अन्ततः यो रातको सन्नाटा भनेको एक मौन गुरु हो । यसले शब्दविनै शिक्षा दिन्छ । यसले हामीलाई धेरै कुरा नभनी नै सिकाउँछ । जीवनमा कहिलेकाहीँ मौनतामा पनि गहिरो अर्थ लुकेको हुन्छ । शान्ति मात्र होइन, आनन्दको स्रोत पनि यही मौनतामा पाइन्छ ।

तसर्थ, रातहरू चुपचाप ननिदाए हुन्थ्यो । अप्रत्याशित डर र त्रासको आँधीबेहरी नआइदिए हुन्थ्यो । मायाको म्वाइँ खान बरु सुस्तरी नै भए पनि रातको सन्नाटालाई चिर्दै झ्याल खोलेर सुटुक्क आइदिए हुन्थ्यो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro