site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित, गौसले बनाए शतक

काठमाडौं । आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा पोखराको तेस्रो खेलमा यो पहिलो जित हो । पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो ।

Dabur Nepal
NIC Asia

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो । प्रतियोगितामा यो विकेट आधारको सबैभन्दा ठूलो जित हो ।

पोखराको जितमा ओपनर गौसले अविजित १०४ रन जोडे । गौसले ५५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे । योसँगै उनी एनपीएलमा शतक बनाउने पहिलो ब्याटर समेत बने । लुम्बिनीविरुद्ध गौसले २० बलमा अर्धशतक र ५४ बलमा शतक पूरा गरेका थिए ।

गौससँगै अविजित रहेका अर्का ओपनर दीनेश खरेलले ६१ रन बनाए । ४६ बल खेलेका दीनेशले समान चार चौका र छक्का प्रहार गरे ।

पोखराका ओपनर आन्द्रियस गौस र दीनेश खरेलले पहिलो विकेटका निम्ति १७६ रनको कीर्तिमानी साझेदारी बनाए । जारी प्रतियोगितामा यो हालसम्मको सबैभन्दा ठूलो साझेदारी हो । गौस र दीनेशले यसअघि जनकपुरका हर्ष थाकेर र लहिरु मिलान्थाको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यसअघि थाकेर र मिलान्थाले विराटनगर किंग्सविरुद्ध ११६ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । थाकेर र मिलान्थाले तेस्रो विकेटका निम्ति यो साझेदारी गरेका थिए ।

पोखराविरुद्ध प्रभावहीन बनेको लुम्बिनीका सबै बलर विकेटविहीन रहे । लुम्बिनीले सात बलर प्रयोग गरे पनि कसैले विकेट निकाल्न सकेनन् ।

पहिलो इनिङ : शतकबाट पाँच रनले चुकेको रोहित
त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

इनिङको अन्तिम बलमा रनआउट भएका लुम्बिनीका रोहितले ९५ रन बनाए । शतक बनाउन पाँच रनले चुकेका रोहितले उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा रोहित अर्धशतक बनाउने १०औँ ब्याटर बने ।

४६–३ को कठिन स्थितिबाट रोहितले चौथो विकेटका निम्ति टम मोरिससँग ११० रनको शतकीय साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । जारी प्रतियोगितामा चौथो विकेटका निम्ति बनेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि चितवनका कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । कुशल र रविले पोखराविरुद्ध नै यो साझेदारी बनाएका थिए ।

मोरिसले ४५ रन बनाए । अर्धशतक बनाउन पाँच रनले चुकेका मोरिसले ३८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । मोरिसलाई १९औँ ओभरको अन्तिम बलमा आन्द्रियस गौसले रनआउट गरेका थिए ।

लुम्बिनीको खातामा सन्दीप जोराले १८ रन थपे । सातौँ ओभरको पहिलो बलमा म्याट क्रिट्च्लीबाट एलबीडब्लूको धरापमा पर्नुअघि सन्दीपले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विवेक यादव दुई रनमा अविजित रहे ।

त्यसअघि लुम्बिनीका दुवै ओपनर डक भएका थिए । ओपनर आशुतोष घिरैया पहिलो ओभरको तेस्रो बलमा विपिन खत्रीबाट एलबीडब्लू आउट भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार बल खेल्दै रन नजोडी पभेलियन फर्किए । उन्मुक्तलाई तेस्रो अ‍ोभरको दोस्रो बलमा विपिन खत्रीले रेमन रेफरबाट क्याच गराएका थिए ।

पोखराका विपिन खत्रीले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका विपिनले १८ रन खर्चिए । म्याच क्रिट्च्लीको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro