site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भ्रम

युवावस्थामा हेरिएको हो, प्रशस्त सिनेमा ।

सिनेमा हल त थियो तानसेनमा, निकैअघिदेखि । तर, सिनेमा फाट्टटफुट्ट मात्र फेरिन्थ्यो । भिडियोको जमाना थियो त्यो । सानो ठाउँ अटसमटस दर्शक राख्ने र अधिकतम तीन रुपैयाँसम्ममा सिनेमा देखाउनेहरू थिए, पाँच–छ ठाउँमा ।

नयाँनयाँ सिनेमा आउँथे, उता ‘बम्बै’मा रिलिज हुन नभ्याउँदै तात्तातै तानसेनमा । खल्तीमा पैसा भएका बेला कहिलेकाहीँ क्याम्पस बिदाका दिन बिहान नौ बजेअघि नै पुगिन्थ्यो भिडियो देखाउने घरहरूका सामु र कालोपाटीमा लेखिएका वा कागजमा लेखेर भित्तामा टाँसिएका सिनेमाका नाम पढेपछि के कहाँ हेर्ने, छानिन्थ्यो ।

Dabur Nepal

कक्षा भएका दिन साँझको शो हेरिन्थ्यो भने बिदाका दिन त कहिलेकाहीँ । खल्ती गरम भएका बेला बेन्च वा गुन्द्रीमा बसेर लगातार तीन शो हेरेर आँखा मिच्दै साँझको खाना होटेलमा खाई डेरामा फर्केर सुतेको सम्झना पनि छ । ती समय, ती दिन सम्झँदा अहिले पनि काउकुती लाग्दछ । 

बरु खाजा नखाने, खाजा खाने पैसाले भिडियो हेर्ने एक खालको लत नै लागेको थियो, उस बेला । पढाइमा अब्बल नभए पनि कमसल नहुनुले यसमा साथ दिन्थ्यो कि अनुत्तीर्ण होइँदैन भन्ने ढुक्कै थियो ।

यो लेखिरहँदा खासगरी अत्यन्त निकट मित्रहरू जीवन थापा, पशुपति नेपाल, हरिहर खनाल र नारायण अधिकारीको नाम भुल्नै सकिँदैन । त्यसमा पनि कोठे साथी जीवनसँगका हेराइ, भोगाइ र अनुभूति भिन्नै, विशेष र अविस्मरणीय खालका रहे । किनकि, हामी कति बेलै पनि छुट्दैनथ्यौँ ।

हेरियो धेरै नै सिनेमा लगातार । हेरेपछि विस्तारै सिनेमा दोहोरिएजस्तो, हेरिसकेजस्तो लाग्ने । कुनै सिनेमाको सुरुदेखि अन्त्य, अर्कोको अन्त्यदेखि सुरु भएजस्तो भान हुन थाल्यो । घटनाहरूको अनुमान पनि मिल्न थाले । सिनेमाहरू सबै एउटा फर्मुलामा बन्दा रहेछन् भन्ने बुझियो ।

त्यसपछि भने सिनेमा नहेर्ने निर्णयमा पुगियो । सुरुमा त लागेको थियो यो निर्णयको कार्यान्वयन कठिन हुनेछ, तर अठोट गरेपछि नहुने केही रहेनछ, सकियो । सिनेमाको नशा उत्रियो । झन्डै सवा सय सिनेमा लगातार हेरेपछि त्यसप्रतिको मोह समाप्त भएको थियो ।

०००

जब जागिरे जीवन प्रारम्भ भयो, त्यसपछि दुनियाँ अर्कै भयो । कहिले बिजुली नै नभएको ठाउँमा, कहिले सिनेमा हल नभएका गाउँमा, कहिले कहाँ त कहिले कहाँ भएपछि सिनेमाप्रतिको आकर्षण हराएर जानु स्वाभाविक थियो ।

त्यसैताका टेलिभिजनको प्रचलन व्यापक हुँदै आयो । नेपाल टेलिभिजन काठमाडौंबाहिर नदेखिने समयमा भारतीय टेलिभिजन – त्यो पनि ‘दूरदर्शन’ले बजार लियो । अब सिनेमा होइन, टेलिफिल्म र धारावाहिकहरूले तान्न थाल्यो । त्यो हेर्न थालियो ।

तिनमा हास्यव्यंग्य कार्यक्रमहरू प्राथमिकतामा परे । गीतको सोख थियो, यसैले सिनेमा नहेरे पनि हिन्दी गीतका क्यासेटहरू किनियो र टेप रेकर्डरमा निस्फिक्री सुनियो ।

पछिल्लोपटक २०५२ सालमा चितवनको गणेश चलचित्र मन्दिरमा एउटा सिनेमा हेरिएको हो, एक मित्रको अनुरोधमा । त्यो हेर्नुको कारण पनि थियो, त्यसका नायकनायिका आफूले नशाका रूपमा भिडियो हेर्दाताकाका चर्चित नायकहरूका सन्तान हुनु । त्यसयता हलमा गएर सिनेमा हेरिएको छैन । न त टेलिभिजनको पर्दामा वा अन्य प्रविधिको प्रयोगबाटै कुनै सिंगो सिनेमा नै हेरियो ।

०००

उमेर अवस्थासँगै रुचि परिवर्तन हुनु स्वाभाविक हो । किशोरवय र युवावस्थाको जस्तो रुचि वयस्क अवस्थामा र अहिले यो उमेरमा हुने कुरो भएन । अचेल सिनेमामा रुचि पटक्कै छैन ।

फेरि, सिनेमामा देखिने नानाथरी दृश्य – यी सब कल्पना न हुन् । यथार्थमा जिउनु, भोग्नु र यथार्थमै घटनाहरूको अनुभूति गर्न पाएपछि, आफू नै नायकको भूमिका निर्वाह गर्नुपर्ने द्वन्द्व र संघर्षमा उत्रिँदै जिउनुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेपछि व्यावसायिक र देखाउनका लागि हुने कृत्रिम अभिनयले सजाइएका चलचित्रप्रति केको मोह !

उस बेला हिरोहिरोइनका हाउभाउ, तिनका पहिरन आदिले आकर्षित गर्दथे । लाग्थ्यो, यस्तै हुन पाए हुन्थ्यो । यसै गर्न पाए हुन्थ्यो । हिरोको हेयर स्टाइल, हिरोकै जस्तो पहिरन र हाउभाउ आदि गर्न खोज्ने र कसैले ‘ओहो, कस्तो हिरोजस्तो !’ भनिदियो भने गमक्क पर्नेहरूको पनि कमी थिएन ।

तिनको नक्कल वा सिको गर्नुमा भिन्नै सन्तुष्टि थियो । त्यसैले त्यतातिर मोहित भइन्थ्यो । कसैको आँखा परे वा नपरे पनि कसैलाई रुचे वा नरुचे पनि आफूलाई केके न भएँ, केके न गरेँजस्तो महसुस हुन्थ्यो ।

अहिले न पहिरनको मोह न कुनै स्टाइलकै । आफ्नै जिउ नापेर सिलाएका कपडाहरूले ह्यांगारबाट गरिरहेका व्यंग्यका सामु रमिते हुनु परिरहेको अवस्थामा तीप्रति के आकर्षण !

०००

नेपाली सिनेमा दुर्लभ थिए, त्यसबखत । एकप्रकारले सिनेमा भन्नु नै हिन्दी सिनेमा र हिरोहिरोइन भन्नु नै हिन्दी सिनेमाका नायकनायिका बुझिन्थे । तिनैका नायकनायिकाका विभिन्न हाउभाउका तस्बिर छापिएका मायापुरी, फिल्मी दुनियाँ, रंगभूमि, फिल्मफेयर आदि पत्रिका किन्ने, तिनमा रहेका हिरोहिरोइनका फोटो भएका पाना र यदाकदा थप उपहारका रूपमा पट्याएर राखिएका पोस्टर कोठाको भित्तामा टाँस्नुमा भिन्नै आनन्द महसुस हुन्थ्यो । लाग्थ्यो, जिन्दगी यही हो र सारा आनन्द यसमै छ ।

जब व्यावहारिक जीवनमा प्रवेश गरियो, तब भने दुनियाँ नै फेरियो । विस्तारै पारिवारिक जन्जालमा जेलिन थालेपछि जीवन भन्नु नै सिनेमा रहेछ भन्ने बुझ्न थालियो । सम्भवतः त्यसै कारण त्यस किसिमको मोह समाप्त भयो । लाग्न थाल्यो, यो सब फुर्सदिलाको समय बिताउने र जान्नेहरूको कमाइ गर्ने तरिका रहेछ ।

०००

रिलका सिनेमाबाट टाढिएर रियल अर्थात् वास्तविक जीवनको सिनेमामा अभिनय गर्न थालेको चार दशक बढीको अवधिमा थुप्रै सिनेमा आए, गए । हिन्दी सिनेमाको त कुरै भिन्न भइहाल्यो, नेपाली सिनेमाजगत्को पनि निकै प्रगति भयो । सिनेमाको प्रविधि परिवर्तन भयो । सिनेमा हलहरूको स्तर, तिनका साजसज्जा र सुविधा आदिमा नौलोपन आयो ।

यसबीच धेरै सिनेमा बने, धेरै नायकनायिका, निर्देशक, निर्माता, संगीतकार, गायक, कलाकार आदिले चर्चा पाए । धेरैले कमाए, धेरैले गुमाए पनि भन्ने सुनियो र पढियो । समयले नै गर्ने हो आखिर सबथोक !

०००

यतिखेर सहरहरूमा सिनेमाको चर्चा छ । राजधानी मात्र होइन, देशभर र विदेशमा समेत नेपालीमाझ एउटै सिनेमाको चर्चा छ । त्यसका दृश्य, गीत, संवाद हरेकको चर्चा छ ।

म दर्शक त होइन, तर यतिखेर मानिसहरू भनिरहेछन् र सुनिरहेछु, ‘हलबाट निस्कने कसैका आँखा ओभाना छैनन्, कोही सुँक्कसुँक्क गरिरहेछन्, कोही हाते रुमालले आँखा पुछ्दै छन्, साँच्चिकै गजबको सिनेमा बनेको रहेछ, यति राम्रो नेपाली सिनेमा पनि बन्दो रहेछ !’

कोही भन्दै छन्, ‘साँच्चिकै राम्रो रहेछ, मैले त आँसु थाम्नै सकिनँ ।’

समाचारहरू आइरहेछन्, ‘अमूक सिनेमाले यतिको व्यापार गर्‍यो, कीर्तिमानी कमाइ गर्‍यो ।’ कोही भन्दै छन्, ‘अहिलेसम्मकै उत्कृष्ट सिनेमा ।’

राम्रो कुरा हो, सिनेमा राम्रो बन्नु । यो कदापि नराम्रो हुन सक्दैन । तर, म भने यी खबरहरूप्रति कत्ति पनि सकारात्मक छैन । मलाई त्यो सिनेमाप्रति कुनै रुचि नै जागेको छैन । वा भनौँ, सुनेका कुराले ममा कुनै कुतूहल, कुनै जिज्ञासा, कुनै उत्सुकता, कुनै खुलदुली, अहँ केही नै जगाउन सकेका छैनन् ।

म क्रूर, निष्ठुर र कठोर हृदयी त हुँदै होइन । चाहे जोसुकैको होस्, दुःखपीडाका ससाना कुराले पनि छोइन्छु । तर आश्चर्य, यस सिनेमाप्रति मेरो कत्ति पनि रुचि जागेको छैन । बरु, चकित छु यी समाचारहरूबाट, वाहियात लागिरहेछन् यी प्रतिक्रियाहरू र लागिरहेछ यी सबै मान्छेलाई बेवकुफ बनाउने कामबाहेक केही होइनन् ।

के कसैलाई रुवाउनु कुनै सिनेमाको सफलताको आधार हो ? के कमाउनु सिनेमाको सफलताको मापदण्ड हो ? म भन्छु, पक्कै होइन । अहँ, हुनै सक्दैन । सिनेमाले ज्ञान देओस्, कुनै खास सन्देश र शिक्षा देओस्, दिनुपर्छ र हरेकले कतै न कतै र केहीले केही हदसम्म सन्देश दिन्छन् नै ।

म ठान्दछु, मान्छेको जीवन नै चलचित्र हो । सिनेमा हो । जन्मेदेखि यो उमेरसम्म आइपुग्दाका आ–आफ्ना भोगाइ सम्झनुस् त ! के ती सिनेमाका दृश्यभन्दा कम छन् ?

हरेक सिनेमामा आउने जीवनका भोगाइहरू नै त हो । जीवनमा घटेका र सम्भावित घटनाको चित्र नै त चलचित्र हो । त्योभन्दा अर्थात् मान्छेभन्दा पर गएर, मान्छेलाई बिर्सेर त कहाँ नै पो चलचित्र बन्छ र ?

तर पनि मान्छे कसैको व्यापार बढाउन, कमाइ बढाउन यसरी पनि उपयोग भइरहेका छन् ! आफ्नो वास्तविक जीवनका दुखाइ बिर्सेर सिनेमामा अभिनीत दुःखपीडा देखेर आँसु खर्चिरहेका छन् !

उपभोक्तावादी समाजको एउटा चरित्र हो, भित्री कुरा र आफ्ना भोगाइ बिर्सेर बाहिरी सतही कुरामा हराउनु । हराउने बनाउनु । यिनैमा रमाउनु वर्तमानको आजको आधुनिकताको चरित्र हो । अझ सुन्नोस्, आँसु निकाल्नेहरू नै खुसी छन्, कृत्रिमतामै खुसी छन् मान्छेहरू ! कस्तो आश्चर्य, कस्तो विरोधाभास !?

यद्यपि, कसैको खुसीमा, कसैको रोजाइमा र कसैको सन्तुष्टिमा हस्तक्षेप गर्ने मनसाय होइन यो । यो त केवल नितान्त व्यक्तिगत स्वभाव, रुचि र आनीबानीसँग जोडिएका कुरा हो ।

एउटा अनुरोध, यी र यस्ता कुरामा अलमलिनुभन्दा आफैँलाई व्यस्त राख्ने उपाय रोज्नु बेस हुन्छ । एउटा अनुरोध फेरि, बेवास्ता गर्न सिक्नुस् ! सुनेका कुरा पनि नसुनेझैँ गर्न र तीप्रति गम्भीर नहुन, तिनलाई लिएर मनमा अनेक कुरा नखेलाउन वा सोचाइमा नपर्न सिक्नुस् ! सुनेकै भरमा कसैका पछाडि दौडन छाड्नुस्, आफूमाथि विश्वास गर्नुस्, अनि जीवन आनन्दमय हुन्छ ।

०००

सबैलाई थाहा छ, जीवन सरलरेखामा हिँड्दैन । यो संघर्षपूर्ण छ । यसको यात्रा उबडखाबड र वक्रताबीच हुने गर्दछ । गरिब, अभाव, दुःखपीडा नभोगिएका कुरा हुन् र ? जीवन भन्नु नै यही त हो ! आँसुबिनाको कोही पनि त छैन, कहाँ कतिखेर खस्छ – कुरा त्यत्ति मात्रै न हो ।

थाहा छ, जन्मदेखि मृत्युसम्मको अवधि नै जीवन हो । अनि, गन्तव्य उही हो सबैको । अर्को सत्य, जन्मनु नै मर्नु हो । अझ प्रस्ट भनौँ, जन्मसँगै मृत्यु सुनिश्चित हुन्छ । यसरी जन्मसँगै मृत्यु लिएर आएको भए पनि मान्छेले दिग्विजयी बन्ने महत्त्वाकांक्षा राख्छ । आफू, आफू र केवल आफूलाई मात्र सोच्छ । हेर्छ । जे गर्छ, आफू र आफ्नाका लागि मात्र गर्छ ।

घटना, दुर्घटनाहरूमा पर्छ । चक्रव्यूह, षड्यन्त्रहरूमा फस्छ । संघर्ष गरिरहन्छ । कहिले विजयी हुन्छ कहिले पराजित । तर पनि मान्छे समस्यासँग जुध्न डराउँछ र समस्याबाट भाग्न खोज्छ । समस्या पर्दै नपरोस् भन्छ !

यो समाधान होइन । समस्यासँग जुध्ने सामर्थ्य राख्ने मानिस नै वास्तवमा सुखी हुन्छ । पस्केर कसले दिन्छ ? आफूले जुटाउनुपर्छ । वास्तविक जीवन र जीवनको सार्थकता त्यहीँ छ ।

एउटा चाहना सबैजसो मान्छेमा एकसमान हुन्छ, मृत्यु सकभर नजिक नपरोस् । यो पनि वाहियात हो । कम से कम मृत्यु नजिक आयो भने अर्को संसार हेर्ने अवसर छिटो प्राप्त हुने थियो, होइन र !

यो दुनियाँ चहार्न खोज्ने मानिसलाई किन अर्को दुनियाँमा जान तयार हुँदैन ? ऊ किन त्यसरी सोच्दैन ? वास्तवमा यसरी सकारात्मक सोच्दा उसको मृत्यु सहज, स्वाभाविक हुन सक्थ्यो होला, होइन र ?

हामी सुनिरहेछौँ र पत्याइरहेछौँ, शरीर मरे पनि आत्मा मर्दैन, आत्मा जीवित नै रहन्छ । यसैले मृत्युसँग डराउनुको खासै औचित्य छैन । तर पनि मान्छे बाँचिरहन चाहन्छ । यही शरीर सदा रहिरहोस् भन्छ, अजम्बरी हुन खोज्छ ।

विडम्बना, अचेल मान्छे बिकाउ भएको छ, हरेक ठाउँमा बिक्छ । कतै सिनेमाका दृश्यमा, कतै उपभोग्य सामग्रीहरूमा । कतै महँगा गाडी, अग्ला घर, बडेबडे महल त कतै शृंगार प्रसाधन र नयाँनौला आधुनिक भनिने लाज नछोपिने पहिरनहरूमा ! कतै सभ्यतालाई गिज्याउने आधुनिकता र कतै अरू केहीमा ! जुन वास्तवमा भ्रम मात्रै त हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro