site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘भाइरल’ विरोधबाट विश्वकै ध्यान तानिरहेकी हाना को हुन् ?

काठमाडौं । न्युजिल्यान्डको संसद्‌मा एक युवती सांसदले नाच्दै विरोध गरेको भिडियो संसाभर भाइरल बनिरहेको छ । यो भिडियो क्लिप मिम दुनियामा पछिल्ला दिनहरूमा सबैभन्दा धेरै प्रयोग भइरहेको छ ।

संसद्‌मा नाच्दै विरोध गर्ने युवती हुन्, हाना रावहिती माइपी क्लार्के । २२ वर्षीया हाना न्युजिल्यान्डकी कान्छी सांसद हुन् । माओरी समुदायकी हाना सन् २०२३ को अक्टोबरमा सांसद निर्वाचित भएकी थिइन् । उनले आफ्नो पहिलो संसदीय भाषणमा पनि यस्तै नृत्य देखाएकी थिइन् ।

अनुहारमा आक्रोश देखाउँदै नृत्य गरिरहेकी हानाले एउटा कागज च्यातेको देखिन्छ । उनले च्यातेको कागज हो, माओरी समुदायलाई अधिकार दिलाउने सन्धि खारेज गर्न ल्याइएको विधेयक ।

उनी माओरी समुदायको प्रतिनिधित्व गर्छिन् । माओरी समुदायको संस्कृति र अधिकार संरक्षण गर्ने वाचा गरेकै कारण उनलाई माओरी समुदायले भोट दिएका थिए । माओरी समुदाय न्युजिल्यान्डका आदिवासी समुदाय हुन् ।

न्युजिल्यान्ड सरकारले माओरी समुदायको अधिकार, संस्कृति संरक्षण गर्ने १८४ वर्ष पुरानो सन्धि खारेज गर्ने विधेयक संसद्‌मा प्रस्तुत गर्‍यो । त्यसपछि उक्त विधेयकको पक्ष/विपक्षमा मतदान गर्न भनियो । हानाको दललाई उक्त विधेयकको पक्षमा कि विपक्षमा भनेर सभामुखले सोधेपछि हाना आफू बसिरहेको ठाउँबाट उठिन् र नृत्य गर्दै विधेयक च्यातिन् ।

हानाले विरोध गरेसँगै अरू सांसद र अवलोकन कक्षमा रहेका अवलोकन कर्ताले पनि विरोध थाले । त्यसपछि उक्त विधेयकमाथिको मतदान रोकियो र हानालाई एक दिनका लागि निलम्बित गरियो ।

सन् २०२४ को अक्टोबरमा विश्व प्रसिद्ध टाइम म्यागजिनले हानालाई ‘जेन जी’ पुस्ताकी नेता भनेको थियो ।

संसद्‌मा उनले गरेको नृत्य माओरी समुदायको परम्परागत ‘हाका’ नृत्य हो । संसद्‌मा हाका नृत्यमार्फत माओरी अधिकार जोगाउन लागिपरेकी हानालाई कतिपयले ‘हाका क्विन’ भनेर सम्बोधन गर्छन् ।

हाका नृत्य माओरी समुदायले युद्ध र संघर्षका लागि गर्ने नृत्य हो । उनले संसद्‌मा हाका नृत्य गरेर माओरी समुदाय आफ्नो अधिकारका लागि संघर्ष गरिरहेको संकेत गरेकी छन् । आफ्नो अधिकारका लागि संसद्‌मा लडिरहेका हानालाई माओरी समुदायले आफ्नो भाषामा ‘काइतिकाई’ अर्थात् रक्षक भनेर सम्बोधन गरिरहेका छन् ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सोनले माओरी समुदायको अधिकार कटौती गर्न थालेपछि उनी राजनीतिमा आएकी थिइन् । यसअगाडि क्रिस्टोफर सरकारले माओरी समुदायको स्वास्थ्य नियमन निकाय र भाषालाई सरकारी कामकाजबाट हटाएको थियो । अहिले पनि न्युजिल्याडको प्रधानमन्त्री क्रिस्टोफर नै छन् ।

हानाले संसद्‌मा हाका नृत्यमार्फत विरोध गरे पनि न्युजिल्यान्डमा माओरी समुदायको अधिकार रक्षाका लागि प्रर्दशन हुन थालेका छन् । न्युजिल्यान्डमा १० लाख माओरी छन् । न्युजिल्यान्डको संसद्का १२३ सदस्यमध्ये ६ जना माओरी समुदायका छन् ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफरको सबैभन्दा ठूली आलोचक हुन्, हाना । टाइम म्यागजिनले गरेको सर्वेक्षण अनुसार, उनी न्युजिल्यान्डकी भविष्यकी प्रधानमन्त्री हुन् ।

फर्स्टपोस्टबाट ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro