काठमाडौं । पशुमाथि क्रूर व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले ट्रक चालक विराटनगरका ३८ वर्षीय हेमु श्रेष्ठ र २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिकाका ५५ वर्षीय इर्साद आलम र ७ वर्षीय समिम आलमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९९२ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा प्रहरीले ट्रकमा २४ गोरुलाई यातना हुने गरी पुच्छर बाँधेर झुन्डाइएको, नाक डोरीले छेडिएको अवस्थामा फेला पारेको थियो । जसमध्ये दुई गोरुको सिङबाट रगत आइरहेको थियो । यस्तै, ट्रकको पूरै छत त्रिपालले छोपेकाले गोरुहरूको श्वासप्रश्वासमा समेत अवरोध पुगेको थियो ।
त्यसपछि प्रहरीले संलग्नहरूलाई नियन्त्रणमा लिएर गोरुहरूको उद्धार गरेको थियो । गोरुहरूलाई सुरक्षित स्थलमा छाडिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।