प्रदीप सापकोटा
मान्छेको जिन्दगीको के छ र भर ! आज हामी सँगै छौँ । कुरा गर्दैछौँ । कुनै पार्टीमा चुस्की मार्दैछौँ या अरू केही गर्दैछौँ । तर, तपाईं र मेरो भेट यहीँसम्म हुनसक्छ । के भर छ र जिन्दगीको !
तपाईंको परिचय तर्पां मान्छे हो । मेरो परिचय पनि यहि मान्छे हो । फगत चिनाउन दिइएको नाउँ फरक छ । भलै तपाईं डाक्टर हुनुस् वा इन्जिनियर या अभिनेता हुनुहोला या अरू नै केही हुनुहोला । तर, यो त तपाईं मान्छेसँग जोडिएको विशेषता हो । कामको जिम्मेवारी हो ।
जे भने पनि वास्तवमा तपाईं र मेरो परिचय मान्छे नै हो । मन र विचारले तपाईं धनी हुनुहोला, सम्पत्ति र आभूषणले भरिपूर्ण हुनुहोला । तर, तपाईं मान्छे नै हो ।
बाँच्ने एउटा जिन्दगी न हो । यसमा बाँच्ने शैली पृथक पृथक होला । दैनिकीमा उस्तै फेरबदल रहला । व्यक्ति, चरित्र र तपाईंको मन मसँग तुलना गरेर चित्रण गर्न नसकिएला वा भनौँ नमिल्ला ।
तपाईं र मेरो समाजप्रतिको दृष्टिकोण र बुझाई अलग अलग होला । हामीबिचको भूमिकामा प्रभावकारीता कम या बेसी होला । तपाईंले अनुशरण गरेको धर्म, संस्कार र संस्कृति पनि मसँग नमिल्ला ।
तथापि, तपाईं र मबिच एउटा समानता छ, मान्छेको ।
समाजले तपाईंलाई उच्चस्तरीय सम्मान र दर्जा दिएको होला । समाजमा काम पनि उल्लेखनीय गर्नुभएको होला । समाजमा योगदान पनि किमति नै दिनुभएको होला । यसले तपाईंको योगदान उच्चताको कदर समाजले सोही अनुरूप गरेको होला ।
मेरो सामाजिक मानसम्मान यहाँकोभन्दा होचो कदको होला । मेरोभन्दा तपाईंको जिन्दगी उर्जाशील र सृजनशील होला । र पनि, तपाईं र मबिचको समानता मान्छेमा पुगेर ठोकिन्छ ।
तपाईंको बौद्धिकता, विभिन्न भाषाप्रतिको ज्ञान, तपाईंको स्वभाव, विचार र धारणा उच्च ललाटमा पुगेको हुन सक्दछ । साहित्य, विज्ञान, कला र संगीत एवं तिनका नयाँनयाँ आविष्कारको पारखी तपाईं मनका भावनाहरू बडो बिम्बयुक्त शब्दहरूद्वारा अभिव्यक्त गर्न सीपालु हुनुहोला । ममा ती सबैखाले बौद्धिकताको खडेरी हुनसक्ला । र पनि, हजुर र ममा समानता छ मान्छे हुनुको ।
मान्छे आफ्नै पौरखले बाँच्छ । सक्नेले प्रतिकूल समय र परिस्थितिलाई अनूकुलतामा परिवर्तन गरेर बाँच्छ । नसक्नेले उपरवाला र भाग्यमा भएको खोटमाथि दोष थोपरेर समय र परिस्थितिसँग सम्झौता गरेर बाँच्छ ।
आआफ्नै छन् मान्छेका बाँच्ने कला यहाँ । समस्यालाई समाधानमा बदलेर बाँच्नु पनि जिन्दगी हो । विगतका दुःख भुल्दै भविष्यमा आशावादीता र सम्भावनाहरू खोज्दै बाँच्ने पनि जिन्दगी हो । हामी कसरी बाँँच्ने भन्ने आ–आफ्नै मर्जी हो ।
जिन्दगी ज्ञानको विशाल भवसागर हो । यसलाई कसरी छिचोल्ने आ–आफ्नो कुरा । आ–आफ्नो शैली । आजसम्म अरबौं मान्छे जन्मिएर त्यति नै सँख्यामा मरे होलान् । जीवन जीउने कला तिनका पनि आ–आफ्नै थियो होला । आ–आफ्नो भावभंगीमा व्यतित गरेर सकाए होलान जिन्दगी सबैले ।
जिन्दगीको सुर र ताल आ–आफ्नै संगीतमय शैलीमा गाए होलान् । यस्तै छ तपाईं र मबिच पनि मित्र । कोही सदैव अभाव र पीडामा रुमल्लिएर जिन्दगी सक्छन् कोही उत्साहको संसार भरेर जति बाँच्छन् जिन्दगी सार्थकपूर्ण बाँच्छन् । यहि हो सार, फगत हामी मान्छे हौँ ।
जिन्दगी अनेकौँ सपना र योजनाहरुको मूर्तरूपमा अड्छ । मसँग पनि जिन्दगीका रुमानी सपना र योजनाहरूको चाङ छ । सायद त्यो तपाईंमा पनि हुनपर्छ वा हुनसक्छ । तर, तपाईं र मबिच बुनिएका योजना र देखिएका सपनाहरूमा एकरूपता नहुन सक्छ । यति हुँदा पनि भन्न सकिने एउटा सहज, स्वभाविक र शाश्वत सत्य भनेको तपाईं र म मान्छे हौँ ।
मेरो आँखाले हेर्न चाहने दृश्य, मनको चाह अनि तपाईंको एउटै पक्कै होइन । मेरो स्मृतिको ललाट र तपाईंको एकनास छैन् । वर्तमानको बचाई र भोलिको भविष्यमा पनि आकास जमिन फरक छ भन्ने कुरामा म विश्वस्त छु ।
मेरो मथिङ्गलमा बनेका जिन्दगीका फाइल र फोल्डरहरू पनि तपाईंकोसँग दाँज्दा अमिल्दा हुन्छन् भन्ने कुरामा पनि म प्रष्ट छु । तपाईं र मबिच यतिका अमिल्दा कुराहरू हुँदा पनि सबैभन्दा उल्लेखनीय र बलशाली बनेर आएको एउटै शाश्वत सत्य हो, मान्छे ।
मित्र, तपाईं र मबिच हाँस्ने र बाँच्ने तरिका फरक छ । सामाजिक अन्तरविरोधलाई बुझ्ने, अनुशरण गर्ने वाद, विचार र सिद्धान्त नै फरक छ । साथीसंगाति, समाज, ठाउँ पनि फरक छ ।
तपाईं र मेरो भोगाइको अनुभूति एकै मेलोको हैन । हरचीजलाई हेर्ने दृष्टिकोण निर्माण पनि फरक फरक जगमा भएको छ । यो कुरामा म किमार्थ दुविधामा छ्रैन् । यति भन्नसक्छु मित्र, उमर खैयामको रुबाई हैन जिन्दगी ।
मित्र, ममा जुन घमण्ड छ, त्यो तपाईंमा नदेखिन सक्छ या नहुन सक्छ । जे जस्ता निराशा र कुण्ठा पाल्छ मेरो मनले त्यो तपाईंको मनमा नआउन सक्छ । हामीमध्ये कसैमा पाखण्डपन हुनसक्छ । ढोङ्ग हुनसक्छ । त्यसैले तपाईं र मेरो भाव फरक हुनजान्छ ।
म डरपोक छु तपाईं आँटिलो हुनुहोला । मेरो मन कोमल छ तपाईं आफ्नो मनमा कठोरता बास गराउन सक्नुहुन्छ । तपाईंमा कैयन यस्ता गुण हुनसक्छन् तर, म दुर्गुणी छु । यस्तै छ फरक मान्छेमा ।
फरक फरक जिन्दगीको महिमा । चरित्र अलगअलग, भेष र व्यवहार फरकफरक । यी कुरा त साँच्चै जन्मसिद्ध रूपमा पनि आउँदो रहेछ ।
ज्ञानी तपाईं, अज्ञानी म । बुझक्कड तपाईं अबुझ् म । यी सबै कुरामा तर्क गर्न सकिन्छ कि तपाईं र ममा हर पक्ष फरक छ भनेर । यसमा तर्क गर्नुको तुक छैन र अथ्र्याइरहनु नि परोइन ।
तपाईं र मेरो चेतना फरक छ । मेरो दिमागमा खराब चेतनाको कचेरा जमेर बसेको होला तर, तपाईंकोमा स्वच्छताको बास नहोला भन्न सकिन्न । मेरो सोच निच होला तपाईंको उच्चताको बिन्दुमा सोचाइ रहला ।
लेखनीमा शिल्प, भाषा र संरचनामा फरकपन हुने नै भयो हाम्रो । भोगाइ रूपी जिन्दगीको धरातलमा विभिन्नता हुने कुरा नौलो भएन् ।
तपाईं सहरमा आलिशान महलमा वैभवपूर्ण तृप्तताको जिन्दगी जिउनुस्, म दूरदराज गाउँको अभाव, पीडा र छट्पटीयुक्त विकट जिन्दगीमा रमेको छु । म अभ्यस्त छु यो जिन्दगीसँग तर, तपाईंलाई सुन्दा मात्र पनि पट्यार लाग्नसक्छ ।
म शारीरिक श्रम गरेर पसिनाका बुँदहरू बगाउँछु । तपाईं मानसिक श्रममा बाँचिरहुनु भएको होला । म गाउँको अर्गानिक खान्कीमा जिन्दगीलाईअगाडि बढाउँदैछु । तपाईं विषाक्त जंकफुडमा जिन्दगीको आयु छोट्याउनु होला । तर, हामीबिच समानतामा हामी फगत मान्छे हौँ ।
कहिल्यै कसैले साक्षात्कार नगरेको अनुभुति हुनसक्छ मेरो । मज्जाले रमाउनसक्छु म आफ्ना अनुभूतिहरूमा । अनि तिनलाई सङ्गालेर सफेद कागजमा पोख्न सक्छु । तपाईंको हकमा त्यो हुन वा नहुन सक्छ । यसरी नै जीवन दर्शन हामीबिच फरकफरक हुनसक्छ ।
जिन्दगी एउटा सिङ्गो चुरोट हो, जुन विस्तारै सल्किन्छ र थाहै नपाई अन्तिममा एस्टूेमा निभ्छ । तपाईं हाम्रा जीवनका आशा, अभिलाषा र इच्छाहरू कति पुरा हुन्छन्, कति हुन्नन् त्यो पनि थाहै नपाइ रित्तिन्छ ।
मनको चाहना विरोधी मनसुन बोकेर तपाईं हाम्रो जिन्दगीमाथि बादल मडारिरहेको पनि पत्तो हुन्न र कतिबेला बर्सन्छ भन्न सकिन्न् ।
त्यसैले नगुम्सनु, नछट्पटाउनु जे पर्छ पर्छ । चाहे अभावको हावाले हानोस् लात्ती, चाहे गर्मीले बगाओस् पसीनाको खोलो, चाहे बर्र्सोेस दुःखको बर्सात, सबैसँग जुध्नुमा नै त तपाईं हाम्रो जिन्दगीको मज्जा छ ।
संघर्षमय जिन्दगी जसले दुःखको पहाडको उचाइ चुम्न सक्छ । पीडा र ब्यथाका समुद्रको गहिराई नाप्न सक्छ । यसैमा छ असली जिन्दगीको मज्जा । आखिर एकदिन त विश्राम लिनै छ किन धेरै गलफत्ती गर्नु हजुर ।