(क)
हामी श्रेष्ठ कथा जीवनबाट लिन नजानेर अक्सर कल्पनाबाट उनेर, बुनेर अद्र्धप्रकृत अवस्थामा विश्वास पार्ने किसिमका बनाउँछौं । तर जीवनभन्दा राम्रो उपन्यास केही छैन र दैनिक घटनाभन्दा औपन्यासिक र रुचिकर भईकन सत्यको यथार्थ चेत दिन सक्ने कुरा केही छैन ।
हाम्रा अड्डा–अदालतमा दिनदिनै कति छोटकरी कथा (कहिले त पचास ताड लेखे पनि) लेखिइरहेछन्, फैसला पाइरहेछन् ।
यो तलको वर्णन त्यस्तै एक घटना हो, र यो न्यायालयमा छिनिएको धेरै महीना भएको छैन र सबैलाई विदित छ । यसमा अवकाशको कमीले (र कागजको कमी र समयको कुव्यवस्था पनि किन नथपूँ ?) हामीलाई छोटकरी पार्न कर लागेको छ ! तर चाख लाग्नेले मिसिल पल्टाएर हेर्न मन लागे रानीपोखरीभन्दा टाढा जानु पर्दैन ।
(ख)
महागुरु वैकुण्ठसिंह पाल्पा इलाकाको रिडी मठका गद्दीमा विराजमान थिए । नेपालमा बस्नेहरूलाई उनको नाममा उत्तिको भाव नभए पनि, उनी भारतवर्षसम्म प्रसिद्धि फैलेका विद्वान् थिए । यस्ता असाधारण विद्वान् मानिस रिडी गद्दीले कहिले पायो र ?
अरू गुरुभन्दा विशेष गुण र विद्याले गर्दा यिनी महागुरुको उपाधिले भूषित थिए । कट्टर, दुब्ला, कल्सेँदा, तीन घण्टा सुत्ने, घोरिने, गेरूदार महात्मा यिनी सर्वश्रेष्ठ थिए । नजानेको कुरै थिएन । उनका जवाफ किक्लिक्क पार्थे, उनका सवाल षड्शास्त्रीका गालालाई खुर्सानी खुवाउँथे । उनको नाक बडो लामो थियो ।
गुरुमुताबिकको चेलो यौटा न यौटा जरूर हुन्छ । कोही घोकन्ती सुगा, कोही सीधा भक्त, कोही छटेल, कोही टपर्टुय्याँ हुन्छन् । तर एउटा तट्टु लिन्छ, चित्त बुझाउँछ, रिझाउँछ र आखिर गुरुपदको उत्तराधिकारी बन्दछ ।
महागुरुले सरकारलाई उत्तराधिकारको नाम र गुण विन्ति चढाउँदा सरकारले सधैंजस्तो नाइँनास्ति गरेनन्, र उनी नाममुताबिक वैकुण्ठका सिंह स्वर्गतिर याल फर्काएर जाँदा, उनका ठाउँमा पछि गुरु ज्ञानसिंह विराजमान भए ।
(ग)
ज्ञानसिंह सानो उमेरमा आमाले छोडेकी हुँदा, बाबु वैरागी बनेर महागुरुका पयरमा सुम्पिएका टुहुरा थिए । उनी आमा ‘ज्ञानुको बिहे नेदेखी मर्न आँटे’ भनेर घाटमा रोएर परमधाम भएकी थिइन् ।
महागुरुकहाँ कामधेनुहरूले दूध बर्साउँथे, पेडा, केरा फलफूल टनाटन हुन्थे, महागुरु लिटे खीर दिनदिनै रुचाउनुहुन्थ्यो र ज्ञानसिंहलाई खुवाउनुहुन्थ्यो । लिटे खीर भन्नाले भात बेसरी मिचेर लिटोजस्तो पारी, केरा थिचेर मिसाई, पेडाको धूलोले सिँगारी, ताततातो बाक्लो दूध हालेर फाई, आँप पाइने बेला पहेँलो आँपरसको केशरी चढाएर सिँगारी, बडा मीठो स्वादको आबालवृद्ध वनितालाई रुच्ने, पच्ने र जिभ्रो रसाएर त्यसै गला तलतिर दगुर्ने महापौष्टिक आर्य वैज्ञानिक पदार्थ थियो ।
वाह ! मकै मदौरू लडरपिँदौली सिँगार्ने टुहुरोलाई स्वर्ग आएजस्तो लाग्यो । धर्मसंरक्षक गुरुत्वको नजीकको जरूर स्वर्गको बास्ना पाइन्छ– त्यस जातिसंरक्षक तत्त्वले जो प्राचीन स्थितिलाई सर्वस्व चढाउन खोज्दछ । अमृतको स्वाद साधुका जिभ्रामा हुन्छ, वैकुण्ठका वेदना उनकहाँ आउँछन् ।
हाम्रा टुहुरा ज्ञानसिंहले स्वर्ग सबैतिर देखे । पढ्नुपर्दो रहेछ, महागुरुको सिको गर्नुपर्दो रहेछ, अनि सबैभन्दा जान्ने हुनुपर्दो रहेछ, अनि स्वर्ग कति टाढा हुँदो रहेछ र ? यस्ता तर्कले भरिएर ठिटो महागुरुको घरमा दिन बिताउन लाग्यो । गुरु अलि भकभक गर्थे, ऊ पनि धेरै भकभक गर्न लाग्यो । गुरु एक आँखा बराबर चिम्लन्थे, उसले पनि त्यो बानी सिक्यो । आवाज पनि उस्तै–उस्तै, ढङ्ग पनि । एवं रीत तालीम भएर ऊ गुरुको यति नजीक आयो कि गुरुले आफ्नो उत्तराधिकारी उसमा देखे ।
ठिटो ज्ञानसिंह अरूको छुल्याहा पुलीसझैँ थियो । फलानाले पाँच मिनेट मात्रै जप गर्यो, फलानो रिडी माईको दर्शनै गर्दैन, फलानो गाँजा खान्छ, फलानाले स्वास्नीमान्छेको कुरा गर्यो ।
यो कट्टर शिक्षालयमा धेरै बन्देज थिए, धूवाँ नखानु; नथुक्नु, नउड्नु, नङले झैँ नकोट्टयाउनु, कुरा नगर्नु; आकाशमा नहेर्नु ! इत्यादि ।
बराबर विद्यार्थी चटकन खान्थे; कानका चिलाइ मारिमाग्थे; काइन्थे– आदर्श गुरुप्रिय विद्यार्थी ज्ञानसिंहद्वारा !
(घ)
साहिँला र माहिला दुई जनालाई यो ज्ञानसिंहको पक्षपात कत्ति मन परेन । उनीहरूले मतो गरे, ‘हामी भागेर देश जाऊँ !’ पर्यो पैसाको मुश्किल । तब साहिँलाले सेठ धनदाससँग गएर एउटा महागुरुको कीर्ते सहीको कागजद्वारा ‘चार सय रुपियाँ तुरन्त जरूरत पर्यो’ भन्ने पारेर ‘कसैलाई नभन्नू, म कुनै दिन गरुँला यसबारेमा’ भन्ने बेहोरा पारेर रुपियाँ हात लागी गरी त्यसै दिन कुलेलम ठोक्ने भन्ने सल्लाह दियो र त्यसमा माहिलाको मन्जूर भयो ।
एक दिन दुई जना बसेर “मेमसाहेबहरू कस्ता हुन्छन्” भन्ने प्रकृत जिज्ञासालाई खूब दगुराएर अरू छात्रका पीठपछाडि निहुरेर कुरा गर्न लागेको त, ए वित्यास ! छुल्याहा ज्ञानसिंहले कान थापेर पछाडिबाट सुनिरहेको रहेछ ।
“विन्ति ! बाबा ! विन्ति !” भनेर हात जोरेर पयर छुँदा पनि कट्टर फलामको डन्डीझैँ ननिहुरिने ज्ञानसिंह गएर गुरुकहाँ कुरा लगाइदियो ।
महागुरुले त्यस दिन ती दुई बदमाशका टाउका जुधाए, घण्ट बजाए, काँक्रो काटेर माला लगाइदिए, बोके धूप पानीमा हालेर सब छात्रका खिसीतेत्लीसँग मर्नु गरी पढ्न लगाए र ज्ञानसिंहको देब्रे हात सुँघाउन लगाए ।
दुई जनाले बदला लिने त्यस दिन प्रतिज्ञा गरेका थिए– ज्ञानसिंह बिरालामाथि !
त्यसका चार–पाँच दिनपछि सेठ धनदास र महागुरु तिनको चलाखी बुझेर दङ्ग परे । दुवै विदेशिइसकेका थिए ।
“चार सय रुपियाँ” सेठजीले भने, “के कचिङ्गल गर्नु ? महागुरुकै पाउमा चढाएको थिएँ । अनुग्रह राखिबक्से चार करोड हुन्छ, अब भोलिपर्सि ।”
“भैगो ! ठक्कर खाए फक्कर होलान् शण्ठहरू ।” भनेर महागुरुले आज्ञा गरे ।
(ङ)
महागुरु वैकुण्ठसिंह अप्सराहरूको शराब रङ्गिलो देशमा वास गर्न जानुभएदेखि गुरुपदलाई सुशोभित गर्ने सालिक गुरु ज्ञानसिंह बीडो थाम्ने सच्चा प्रवृत्तिमा केही दिन चलेकै थिए ।
गुरुसँग हामी एक किसिमको मोहनी सिक्छौँ जसलाई हामी भ्रम भनूँ भने संसारले गिल्ला गर्छ– एक किसिमको रङ्गिलोचङ्गिलो आस्तिकता जसका जग बालुवामा अडेका हुन्छन् । विद्या र धर्म भुलाउने र बिर्साउनेको ताकतले नै आफ्ना अस्तित्व र मोहनी दुनियाँ नजरमा राख्दछन् नत्र जीवनजस्तो पाठशाला र सांसारिक समझजस्तो साथी र प्रकृतिजस्तो गुरु पाएर दुनियाँ बेकारमा कपाल दुखाउँदैनथ्यो तर मृत्युलाई विस्मृति र ढाडस चाहिन्छ र मृत्युकी बहिनी वेदनालाई त्यस्तै विस्मृति र त्यस्तै केही कुरा जसलाई आशा भनिन्छ– यी दुई जरूरतमा प्रकृति बिर्साउने प्रकृतिविरोधी नासमझ, समझलाई जगमा पहाड पारेर उठाइएको छ, र त्यसका चुली गुरु र महागुरु बन्दछन्– कुइरा र बादलभित्र !
यसमा केही दबावट छ । मृत्युको निम्ति तयारी गर्न पहिले नै सास रोके । यस प्राणायामउपर श्रद्धा राखेझैँ दुनियाँ श्रद्धा राख्दछ । तर आँखा खुला सत्यचेत र आँखा पल्टाइको मुर्दा सत्य कुनचाहिँ बेस हो हाम्रो श्रद्धालु समझको न्यूनता र कट्टरता हामीलाई बुझ्न बुझाउन दिँदैन । जीवन नाशको त्रास धार्मिक तत्त्वमा आँखा पल्टाएकालाई पूजा गर्न सिकाउँछ र यस ‘बुल हाउण्ड’ पनामा कट्टरताको आवश्यकता देखिन जाँदा हामी नाजवाफ हुन्छौँ ।
तर प्रकृति राज्य गर्न छोड्दिनन् । आखिर उनैको जीतबाजी हुन्छ– या त स्वर्गको राहमा निर्मोहनी पाएका प्राणहीन स्वर्गवासी साधु महात्मा हुन् या त यसैपट्टि यसै पार तपस्याभङ्ग भएका विश्वामित्र हुन् ! हामीलाई अनन्त काम लाग्दैन; त्यसमा मोल छैन; घनिष्ठता छैन; जति नजीक उति जीवन र उपयोगिता प्रकृतिको नियम हो । तर यही अनन्तको मन्त्र सुनाइन्छ; यही अनन्तले प्रकृतिका भाग दबाइन्छ । साधुहरू त्यसैले च्याउ नखाएका बाहुनझैँ मर्छन्, धेरैले मुक्त भएँ भनेर ब्यूँझँदा झल्याँस्स दरबार महलभित्र आँखा खोल्दा हुन् ।
रामनामले छोपिएका प्रकृतिका प्रवृत्तिहरू हिउँमनिका बीउ रहिरहन्छन् र वासना संस्कार भन्ने क्रिया संसारमा नभई गुफामा हुन हर्गिज सक्तैन ।
गुरुगद्दी पाएपछि स्वर्गको चुलीमा चढेझैँ भावनाले छोपेर आदर्शको टुङ्गो पुगेर ज्ञानसिंहकी शिथिल प्रकृति “आ ! अब सुस्केरा हालूँ न ! आँखा मुदू न ! नरम तकियामा एकैछिन पल्टूँ न !” भन्न लागी । डुङ्गाको दौड जित्नेले बहना छोडेर अडेस लागेझैँ उनका प्रवृत्ति नदीका धारतर्फ झर्दै गए जसलाई हामी उन्नति भन्न चाहन्छौँ । उनलाई पोप– रोगको प्राथमिक लक्षणले शिकार बनाउन चाहेजस्तो हुन लाग्यो । विद्या प्रशस्त हासिल गरेका थिए; तर उनी आखिर बिजुली नानीका छोरा थिए र कमजोर भिक्षासिंहका पुत्र !
एक कुरा बिग्रन्छ ज्यादा ठूला गुरुहरूको, त्यो हो जिभ्रो । लिटे खीर छाडेर ढिँडो उनी खान सक्तैनन् । तर आजकल महागुरु स्वर्गवास भएपछि उस्तो भक्त–मण्डली जमेजस्तो भएन । फेरि ज्यादा कट्टर गुरुमिजासले हप्काएर कडाइ गरेर उनी आजकल बालिष्टमा उङ्न लाग्दा, पढाइ राम्रो नदेखेर छात्रवर्ग पनि पातलिएका थिए ।
०००
उनले एक दिन उडेर आमाको सपना देखे । गुरु ज्ञानसिंहको उमेर पच्चीस मात्र थियो ।
आमा भन्दथिन् घाटमा आँखाभरि आँशु गरेर “बाबु ! बिहा गर ! मलाई एउटी बुहारी भित्र्याउने धोको थियो !”
“आम्मै ! के भन्नुभएको ?” उनले जिभ्रो टोकेर जवाफ दिए । आमाचाहिँ स्वर्गवास भइछन् र उनी रुन लागेछन् । अरूले कोकोहोला हालेछन्, उनी झल्याँस्स ब्यूँझे ।
छात्रहरू वरिपरि कराइरहेका । उनले थाहा पाए कि सपना रहेछ । अनि माला लिएर “राम, राम, राम !!” जप्न लागे र नाना प्रकृति, सभ्यता, संसारको भोगवासनाको स्वाभाविक क्रियाहरूउपर ‘बिग्रुँला कि भन्ने डरले सांसारिक नाताले खिच्लान् कि’ भन्ने त्रासले आँखा चिम्ले ।
०००
एक दिन लक्ष्मीसिंह भन्ने एक शिक्षित पाल्पाली भलाद्मी आएर शिष्य हुनको ठूलो आग्रह गरेर, “मेरो कोही छैन रोकावट गर्ने । म गेरू लगाएर हजूरको चेला बनेर सेवा गर्दछु” भन्ने जिद्दी गरे ।
भक्त सम्झेर गुरु ज्ञानसिंहले कान फुकेर गेरू वस्त्र लगाएर लक्ष्मीसिंह बी. ए., बी. एल. उनका चेला बने ।
गुरुशिष्यको मेल–मिल्ती बढ्दै गयो । हुँदाहुँदा गुरुले छापा सुन्न लागे, अंग्र्रेजी साहित्यका टुक्राहरू, अंग्र्रेजी उपन्यासहरू र पोपका इतिहासहरू, लक्ष्मीसिंहले विज्ञान र मनोविज्ञानका पनि कुरा सुनाए । अनि आखिर त्यही मान्छे जो मेमसाहेबका चरित्र सुन्न लाग्यो ।
जीवनमा केही चाखलाग्दो मिठास पाल्पाली रिडी गद्दीमा थिएन । सबै दिन उस्तै थिए । उही घाम, उही अँधेरी, उही सूर्य, उही चन्द्र, उही तारा, उही क्षितिज ! घटनाशून्य संसारका पढन्ती भ्यागुताहरूले झैँ समुद्रको कुरा सुनेझैँ लहरीदार उच्छालित, आन्दोलित, खतरनाक, कर्मशील पाश्चात्य संसारका बर्ताव र समाचार उनले बडो चाखसँग सुन्न लागे । आधुनिक जीवनमा नै मोहनी हुन्छ; एक दैनिक उपन्यास; एक चाखलाग्दो परदेशीय मिठास ! च्याउ नखाए पनि च्याउ कस्तो होला भनेर स्वाद खोर्याउनु एक बनावटी राजीनामा चढाएकी प्रकृतिको आभ्यन्तरिक चाख हुन जान्छ !
लक्ष्मीसिंह र ज्ञानसिंह नङमासु बने । लक्ष्मीसिंहले गुरुलाई सिकाए कि “दुनियाँ नीतिमा चल्दछ । आफ्नो गद्दीको केही गौरव बढाउनु पनि पर्छ । दुई–चार शिष्यद्वारा आफ्नो कीर्ति र शक्तिको केही बर्ताव सेठ, साहू, दरबारतिर पनि पठाउनुपर्छ, दुनियाँमा पनि फिँजाउनुपर्छ । त्यसमा के हानि ? म गर्छु । म गर्ने भएँ ! विद्या छँदैछ, ज्ञान छँदैछ, हजूरको शक्ति छैन र ?”
ज्ञानसिंह त्यसै चूप लागिरहे । तर लक्ष्मीसिंहले आफ्नो कबूल गरेको पर्याए । भक्त बढे, रोटी असल र धेरै आकाशबाट झरे; असल गाईहरू गोठमा आए । कसैले छोरा पाए; कसैले मुद्दा जिते; कसैले विचित्र शक्ति देखे, कसैले सपना ! ‘मेस्मेरिज्म’ जस्तो केही अर्धसाँचो भ्रममा पाल्पाको कल्पना दौडेर अरूलाई पनि बोलायो ।
गुरु ज्ञानसिंहलाई लक्ष्मीसिंहको सल्लाहले विलासका सामग्री जुटाइदियो । बालिष्ट मखमलले मोरियो । रेशमी धोती पहिरियो । बुट्टे तन्ना कसियो । झाडपानस ल्याइए । झल्लरी छाता–चाँदीको बीँडवाला नेपालसँग लेखापढी गरी ओढाइयो । पयरमा दर्शन नगर्ने नआउनू भन्ने कायदा बनाइयो । “यति रवाफ नभै” लक्ष्मीसिंह फटाहाले भन्यो, “कसले टेर्छ र आजकलको संसारमा !”
“गुरु, मैले ल्याएको ‘पियर्स सोप’ साबुन– यसले शरीर सुगन्धी बनाउँछ, नत्र कसैले पत्याउँछ हजूरलाई स्वर्ग देख्नुभएको छ भनेर ?” लक्ष्मीसिंहले कानमा कानेखुशी गरे, “अनि यो अत्तर थोरै छिट्किराख्नु पर्छ ! आकर्षण ! आकर्षण ! अस्ति विन्ति चढाएको विज्ञानको नयम !”
एक दिन फेरि लक्ष्मीसिंहले कितापका अक्षर गुरुका तेजिला दुई आँखानेर चार अंगुुलको फरकमा देखाएर भने, “ओहो ! देख्तै देखिबक्सिन्न ?”
“उहुँ !” गुरुले मन्टो हल्लाए । त्यसपछि गुरुका आँखामा सुनौला फ्रेमका चश्मा चढे ।
एवं रीत लक्ष्मीसिंहका प्रवेशपछि गुरु र गुरुपरिस्थितिमा अनेक परिवर्तन भएका देखिन्थे ।
“ज्यादा पढाए मगज कमजोर हुन्छ गुरु– यान्त्रिक हुन्छन्, यान्त्रिक यी सुगाहरू !” धूर्त लक्ष्मीसिंहले भन्यो ।
चार घण्टासिवाय छात्रले पढ्न पाएनन् ।
“अलिकति औषधिमूलो पनि जानिराख्नुपर्छ गुरु !”
“हो !”
“नत्र त कसरी बिरामी निको हुन्छन् त ? विश्वास छुटिहाल्छ नि !”
“हो !”
गुरु बसेर ‘भाव–प्रकाशः चरक’ हेर्न लागे ।
धेरै जनताको विश्वास बढ्दै गयो ।
०००
धूर्त लक्ष्मीसिंह जताततै डुल्थ्यो । कहिले भेष पनि बदलेर !
पाल्पा एक किसिमको हेलम्बूकी बहिनीजस्ती छन् । अघि बाबुआमा त्यहाँ छोरालाई जागीर खुवाएर पठाउन हच्कन्थे । ज्यादै राम्रा तरुनीहरू, घर फर्कन दिँदैनन् भनेर !
जो होस्, एक दिन अप्सराभन्दा राम्री एउटी तरुनीसँग लक्ष्मीसिंह सल्लाह गर्न लागेका थिए–
‘एक हजार रुपियाँ भयो तिम्रो ! खालि यो कागजमा मेरी स्वास्नी हुँ भन्ने सही मात्र गरिदेऊ । अनि फेरि एक हजार रुपियाँ भयो, गुरुको सेवा छ महीना मात्र गरिदेऊ । बुझिनौ ?’
“पाप लाग्दैन हामीलाई ?” हलुका चरित्रे अर्धवेश्ये रूपखानीले भनी ।
“आम्मै ! कस्ती रै छौ तिमी त ? गुरु चाहनुहुन्छ भनेको तिमीलाई भित्रबाट । तर बडो गुप्ती तवरले है ! बुझिनौ ?”
“ऊँ” रूपखानी अन्कनाई, “अनि त्यो कागज किन सही गर्नु नि ?”
“खाउली लाटी ! पैसा चाहिन्न तिमीलाई ?”
“चाहिन्छ ! किन चाहिन्न ?”
“लौ कुरा मिलेन त ! ९ बजेपछि आउनू राति, ‘म बाँझी भएँ’ भन्नू । ‘सन्तान पैदा गराइदिए जन्म–जन्मकी दासी हुन्छु’ भन्नू, पाउ यसो कोही नभए मिचिदिनू’ प्रभु ईश्वर कृष्णजी’ भनेर अलिअलि गर्दै टाँस्सिन खोज्नू ! मैले के सिकाउनुपर्छ तिमीलाई ?”
०००
एक रात लक्ष्मीसिंहले सोध्यो गुरुसँग, “व्यभिचारी–चरित्र रामायण, भागवत, महाभारतमा को–को छन्, गुरुजी ?”
गुरुजीले आज रूपखानीको सपना देखेर ब्यूँझिएका थिए ।
“व्यास आफैँ व्यभिचारी थिए, बुहारीतिर सल्के । द्रौपदीले पाँच पोइ लिइन् । ए ! इन्द्र सहस्राक्ष बने ! चन्द्रमालाई गुरुपत्नीको कलंक लाग्यो !”
“होइन त गुरु ! सत्यजुगमा पनि को असल रहेछन् र ? सूर्य गुन्डा, चन्द्र गुन्डा, द्रौपदी वेश्ये, गुरुपत्नी व्यभिचारिणी, विश्वामित्र गुन्डा, होइन त ?”
“गुन्डा त होइन तर एक–एक जनालाई महामायाले घुमाइराखेकी छन् ।”
“महामाया भन्या स्वास्नीमान्छे, पुरुष ब्रह्म भनेको लोग्नेमान्छेजस्तो लाग्यो मलाई त ?”
“हुन त हो एक किसिमले । तर धेरै कुरा छ त्यसमा !”
त्यस दिन कुविजा–उपाख्यान सुन्ने आग्रह गरेर धूर्त लक्ष्मीसिंह एकातिर काममा हिँड्यो ।
गुरुजी घोरिए । “के छ संसार आखिर ? एक किसिमले लक्ष्मीसिंह पनि ठीकै छ ! स्त्री पुरुष, पुरुष स्त्री, लीला, सिर्जना– यही मान्छेभित्र छैनन् परमेश्वर ?”
एक कचौरा खावा– स्यालसिंह नोकरले ल्यायो र उनले खाए । घडीले दश हान्यो । आइपुगी रूपखानी !
“रूपखानी !” उनले विचार गरे, “हुन पनि यो मान्छे रूपखानी नै छ ! यही होइन महामाया, जो संसार–चक्र चलाउँछ । यही होइन जहाँ पुरुष लीला गर्छ । यसैमा व्यास भुले, चन्द्र, विश्वामित्र र अरू कति ! के आकर्षण छ यसमा, ईश्वर जाने !”
“हजूर ! मेरो कृष्ण प्रभु ! मेरो बाँझोपन हटाइबक्सनुपर्छ ! म जन्म–जन्मकी दासी हुनेछु !”
“अब म कहाँबाट हटाऊँ यसको बाँझोपन ?” उनले विचार गरे ! “म सुत्छु,” स्पष्ट भने, “तिमी जाऊ ! भोलिपर्सि !”
अनि मुखलाई सिरकले ढाकेर बुट्टे तन्नामा लम्पसार परे । ढोका उनी बन्द गर्दैनथे ।
बत्तीको तेल सिद्धियो । रूपखानी उनी घुरेको सुनेर पयर दाप्न लागी ।
एकछिनपछि रूपखानीलाई चिसो चिसो लाग्यो । अलिकति सिरकभित्र घुम्रिएर कम्बरमा अडेसा लागेर निदाइदिई ।
“बिहा गर बाबू !” फेरि आमा रुन लागेकी रहिछन् । बिउँझेर गुरुले कम्बरमा के–के फूलथुँगे भार अलि सन्चो लाग्दा यौटा मुलायम सिमलबालिष्ट लडेजस्तो, परेवीको भुवाजस्तो, केही वजन कम्बरमा रहेको थाहा पाए ।
‘रूपखानी होली ! के फसाद !’ उनले चल्न साहस गरेनन्, ‘कहाँबाट आइलागी !’
“ए रूपखानी !”
“ऊँ !”
“रूपखानी !”
“ऊँ !”
खालि सिमलभुवा चलमलायो, झन् अप्ठ्यारो पारेर ! “राम ! राम ! कृष्ण ! कृष्ण !”
गुरु ज्ञानसिंहले नआएको हाई हाई गरे । चुट्की मारे । घडी बज्छ भर्खर बाह्र !
ए बाबा ! यो संसार सुतेको बेलामा, व्यभिचारी जागा रहने, चोरी चल्ने, अधिकार छिनिने, चखेवाचखेवी रुने तर मान्छे मान्छेनी जोडी–जोडी हुने– छिः “कृष्ण ! कृष्ण ! अविनयमपनय विष्णु दमय मनः शमय विषयमृगतृष्णाम्, ए रूपखानी !” जोरसँग कराऊँ भने सुन्लान् नोकरले फेरि !
“ऊँ !” झन् ऊ त माथि पो सर्छे ।
“महामाया ! भ्रामयन् सर्वभूतानि यं चारूढामि भ्रामय ।”
यो के सिर्जना गरेको होला ? फेरि रूपखानीजस्तै नभै मनुष्ययोनि असम्भव किन हुन गएको होला ?
हातले छामे– कपाल कति नरम सजीव ! अनि यसो आङमा “रूपखानी !”
ऊ ब्यूँझेर “छिः म कता जाऊँ त जाडामा ? आज प्रभुसँगै मेरै कृष्ण प्रभुको गुँडमा ।” ऊ तकियामा शिर अडाउन पुगी ।
“अरूले देखे के भन्लान् ए रूपखानी ? के गरेको ?”
“उसो भए म ढोका लाइदिन्छु !”
फेरि रूपखानी आएर आधा सिरक दावा गरी ।
फूलैफूलको लहरा काली नागिनीले हालिदिई । सहानुभूति नपाएको गलामा “बोलूँ ! बोलूँ” गरे गुरुले ! बोली नै निस्केन । “चिच्च्याऊँ ! चिच्च्याऊँ !” चिच्च्याउनै सकेनन् ।
०००
भोलिपल्ट बिहानै काककुखुरा कराउनुअगाडि लक्ष्मीसिंह आयो टर्चलाइट लिएर दुई जना साधुसाथमा ।
खोलेर हेर्छन् ढोका ! दुई जना अँगालो मारेर मस्त थाकेका बटुवाझैँ निदाएका !
सिरक खोलेर मुख हेर्दा रूपखानीको मुखमा टर्च पर्यो ।
“ए को यो ? रूपखानी ! रूपखानी !” रूपखानी उठेर मन्टो निहुराई ।
“तँ कुलाङ्गार्नी ? तँ वेश्ये ! तँ रन्डी ! तँ गुरु घण्टालकी रखौटी ! नाकचुल्ठो काट्छु ! म यो गोरुलाई थुक्छु ! यो गद्दीलाई थुक्छु ! यो गद्दीको गुरु घण्टाललाई थुक्छु ! थुक्, थुक् थुक् !” उसले ज्ञानसिंहको मुखमा थुक्यो । ज्ञानसिंह सह्मालिएर उठे !
“नकाटी छोड्दिनँ ! नकाटी छोड्दिनँ ! नकाटी छोड्दिनँ !” लक्ष्मीसिंह गर्ज्यो ।
अरूले सम्झाए ।
“मेरी स्वास्नी बिगार्ने तँ को होस् गुरु घण्टाल ?”
“मैले छोएको छैन बाबा !” बिचरा ज्ञानसिंहले दोषी अन्तष्करणले प्रार्थना गरे ।
“काट्छु !” लक्ष्मीसिंहले नजीकको खुकुरी समात्यो । नोकर र साधु मिलेर खोसे ।
०००
मुद्दा चल्यो । यो जत्तिको झोँझ मुद्दा कुनै भएन । गुरु ज्ञानसिंहको तखत जाने हुनाले उनले भरसक जाली ऐन जान्नेहरूको शरण लिए । कसैले रूपखानी वेश्ये हो भन्ने प्रमाण पेश गरे, कसैले होइन, कसैले इबीले लक्ष्मीसिंहले रखौटी स्वास्नीद्वारा गुरुजीलाई जाल गरेको हो भने । उसैले ल्याइदिएको; उसैले ढोका लाएर गएको, गुरुजीलाई अज्ञानमा निदाएको बेलामा मुद्दा लगाउन जाल गरेको– इत्यादि, इत्यादि ।
जाँदाजाँदा धेरै वर्षसम्म यो मुद्दा चलिरह्यो । आखिर प्रधान न्यायालयमा पुग्यो र भारी सभामा लक्ष्मीसिंहले आफैं फैसला गर्यो ।
०००
“म सच्चा लक्ष्मीसिंह होइन । म हुँ महागुरु वैकुण्ठसिंहको चेलो साहिला सिलवाल । जो चार सय रुपियाँ सेठ धनदासकहाँबाट लिएर माहिलासँग कलकत्ता पुगेको थिएँ तर माहिला उहीँ मर्यो ।
मेरो इबी थियो– यिनीसित । यिनले मलाई मेमसाहबको कुरा गर्दा काँक्रोको माला लगाउन लाई, बोके धूप दिई थुकेका थिए ।
मैले कुनै तरहले बी.ए., बी.एल. पास गरेर फेरि पाल्पा फिर्दा यिनी गुरुपदमा रहेछन् । बालककालको इबी बडो तीव्र हुन्छ । मेरो मुटु हेर्दै चसक्क भयो र मैले यिनीसँग बदला लिने प्रतिज्ञा गरेँ ।”
कपाल दुखेका बिचारी, कञ्चट तातेका सुब्बा, तीखा आँखे कारिन्दा, बुज्रुक, बुझक्कड न्यायाधीश इत्यादि सब छक्क परेर सुन्न लागे । मुद्दा यसरी आफैँले फैसला कसैले गरेको थिएन ।
“मैले मनोविज्ञान खूप पढेको थिएँ र यी टुहुरा लीटेखीरले पालिएका बिजुली नानीका छोराभित्र रहने कमजोरीहरू मलाई याद थिए । यी खानबार गुरु र महात्मा बनेकाकी कल्पना दबावट र शरमले मात्र सम्भालिएकी हुन्छे भन्ने मलाई याद थियो । स्वर्गको लोभले साधु हुन्छ जो मान्छे, दूधदहीको लोभले गुरु– त्यस्तालाई सांसारिक आनन्द र विलास सामग्रीहरू पृथिवीमा पाउने अवसर देखाए मनको क्रम उल्टिन्छ र अप्सराजस्ती स्त्री देखाए स्वर्ग यहीँ देख्छन् । अच्छा, म चेला बनेर आफ्नो परिवर्तन क्रिया शुरू गरेँ ।”
मैले अखबार सुनाएँ; उपन्यास, मोपासाँका छोटकरी कथा सुनाएँ, मेमका तस्वीर ल्याएँ; ‘इलस्ट्रेटड वीक्ली’ मगाएँ; सिनेमा एक्ट्रेसका अद्र्धनङ्गा चित्रहरू र सामयिक पत्रहरू; जान्नेमा तान्ने बनाएँ, तरुनीहरूलाई भक्त बनाएँ, संसार स्वर्गको झलक र सपना देखाएँ । गुरु जान्दैनथे चेलो गुरु बनिरहेछ । मलाई प्यारो गर्थे किनकि अप्रकृत दबावट भित्रबाट प्रेरणा गर्दथे । उनकी आमा छोराको बिहा देख्न पाइनँ भनेर मर्नुभएको थियो ।
पुत्र–स्मृतिमा झल्कने यस भावलाई मैले उघारेँ । घाम उज्यालो दिएँ; फैलाएँ ! कति बाजि सपना देखे होलान् गुरुजीले । मेरो इबीको कालो साँपको प्रभाव थियो । नीति मैले सिकाएँ । पैसाको खोलो लगाएँ । औषधि दिन्थे यिनका हातबाट । बेरामी निको हुन्थे । अनि रवाफ सिकाएँ । झाडपानस झुन्डाएँ । तन्ना बुट्टाएँ । बालिष्ट मखमलाएँ र यिनको परीक्षा गरें । मेरी रखौटी वेश्ये हो रूपखानी । बाँझी थिई, उसलाई पठाएँ । परीक्षामा उत्तीर्ण भएँ । म गेरू झिक्दिनँ नत्र म यिनलाई न्यायालयसम्म ल्याएर बदला लिन्छु भन्ने मेरो भित्री प्रतिज्ञा थियो । आज भलाद्मी पोशाकमा छु । यिनी पतित छन् । लौ भन !”
अड्डा चकाचौँध भयो ।
“तिमीले यो वेश्याको आलिङ्गन रोक्न सकेनौ । त्यस रात तिमी फस्यौ । तिम्रो कमजोरी थियो । कसो रूपखानी ?” रूपखानीतिर ऊ फर्क्यो ।
रूपखानीले गुरुका आँखा हेरेर मुसुक्क हाँसिदिई र मुख छोपी ।
“बस्, तिमी पतित छौ । ईश्वरसँग झूटो बोल्छौ ? अझ बोल ! तिमी पतित छौ कि छैनौ ?”
गुरुजीले बल्ल बुझे र आत्मबल पाएर बोले, “हो ! म पतित छु ।”
“यो सब मुद्दा मैले टाँगेको हो यहाँसम्म ल्याउन । गुरुपरीक्षाको फल देखाउन । सब उलझन फुके । सब साफी भयो । यिनी गुरुगद्दीबाट आजदेखि च्युत छन् । मेरो अब उजूर छैन । रूपखानी वेश्ये हो, तिम्रो उजूर छ गुरुजी ?”
“छैन ।” गुरुजीले जवाफ दिए ।
मुद्दा जरीमानासाथ फैसला भयो ।
ज्ञानसिंहले सच्चा ज्ञान पाए !
(महाकवि देवकोटाको ‘लक्ष्मी कथासंग्रह’बाट ।)