site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एसईई नतिजा : प्रधानमन्त्री भन्छन्– विद्यार्थीको मिहिनेतको अपमान गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मिहिनेतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार (असार १३) साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाप्रति केही विद्वान्‌ले विद्यार्थीको अपमान हुने गरी बोलेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद रहेको टिप्पणी गरे । यस्तो नतिजामा पनि केही मानिसले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“खुसीको कुरा हो । यस वर्षको एसईईको परीक्षाको नतिजा प्रकाशित भएको छ । एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ,” उनले भने, “यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उहाँहरूको सफलताको शुभकामना भन्न चाहन्छु ।”

नयाँ पुस्ताको मिहिनेतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै उनले दुःख लागेको उल्लेख गरे । “केहीले अंक थपेर पास गराइयो भनेर हचुवाको भरमा बिनाआधार बोलिरहेका छन्,” उनले भने, “मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ ।”

उनले नेपाली विद्यार्थीमा मिहिनेत गरेर आफ्नो उचाइ अघि बढाउन सक्ने खुबी रहेको बताए । “४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्‍याउन मिहिनेत गर्ने विद्यार्थी भाइबहिनीलाई धन्यवाद भन्न चाहन्छु,” उनले भने, “राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरूको मिहिनेत सफल भएको छ ।”

प्रधानमन्त्री ओलीले आउँदो वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले आफ्नो योजना अघि बढाउने बताए । विद्यार्थी ‘फेल’ नहुने परिस्थिति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्