site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्रीले बढाए तीन तोला सुन, सहकारीमन्त्रीले लिएकी छन् सहकारीबाट १० लाख ऋण

पोखरा । दोस्रोपटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले एक वर्षको अवधिमा तीन तोला सुन थपेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री पाण्डेसँग हाल ४५ तोला सुन छ । जबकी गत सालको असोजमा सार्वजनिक विवरणअनुसार उनीसँग ४२ तोला सुन थियो ।

६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गण्डकीका मन्त्रिपरिषद् सदस्यको आचारसंहिताविपरीत चार महिनापछि मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री पाण्डेसँग चाँदी सात सय तोला र दुई सेट हिरा छ । जग्गा बेचेर हिरा किनेको उनले उल्लेख गरेका छन् । पाण्डेसँग एक सेट मोती पनि छ ।

Dabur Nepal
NIC Asia

गोरखाको पालुङटारमा जन्मेका पाण्डेसँग काठमाडौं महानगरपालिका–३ मा २१२ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । गोरखामा पाँच रोपनी १० आना एक दाम जग्गा र घर छ । यी दुवै सम्पत्ति पैतृक रहेको उनले विवरणमा खुलाएका छन् ।

विवरणअनुसार यसबाहेक गोरखामा तीन कित्तामा पैतृक जग्गा छ । कपिलवस्तुमा पनि उनको दुई कित्तामा जग्गा छ । यो पनि पैतृक नै रहेको खुलाएका छन् ।

यस वर्ष उनले भक्तपुरमा पनि जग्गा रहेको खुलाएका छन् । सूर्यविनायक नगरपालिकामा पाँच कित्तामा करिब १० रोपनी जति जग्गा रहेको र यसको प्राप्तिको स्रोत चाहिँ मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको विवरणमा उल्लेख छ ।

एभरेस्ट बैंकमा मुख्यमन्त्री पाण्डेको २७ लाख ७४ हजार नगद मौज्दात छ । श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्धति खातामा ७१ लाख बीस हजार नगद छ भने छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमईमा चार लाख ७८ हजार रुपैयाँ मौज्दात छ । श्रीमतीको नामको ७१ लाख रुपैयाँको स्रोत उपदान र जग्गा बिक्री रहेको छ । उनकी श्रीमतीको नाममा ३२ लाखको कार छ । 

दियालो फुडल्यानडमा मुख्यमन्त्री पाण्डेको ६१ हजार एक सय कित्ता सेयर रहेको छ । बैंक तथा वित्तीय संस्थामा पाँच हजार कित्ता सेयर लगानी पाण्डेको छ ।

सहकारीमन्त्रीसँग सहकारीको ऋण
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठको सहकारीमा करिब ११ लाख ऋण छ । नवलपुरकी श्रेष्ठले कालीगण्डकी ऋण तथा सहकारी संस्थाबाट १० लाख ९१ हजार ५८७ रुपैयाँ ऋण लिएकी हुन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनले एनएमबी बैंकबाट पनि ३९ लाख ९० हजार रुपैयाँ व्यक्तिगत ऋण लिएकी छन् ।

श्रीमान् जीवन श्रेष्ठको नाममा काठमाडौंको टोखा र नवलपुरको कावासोतीमा घर छ । उनको नाममा कावासोतीका दुई ठाउँमा घर छ । नवलपुरकै कावासोतीमा मन्त्री दम्पत्तिको ६ ठाउँमा जग्गा छ ।

मन्त्री श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी छ । प्राप्तिको स्रोत भने उनले खुलाएकी छैनन् । कृषि विकास बैंकमा एक लाख ११ हजार ३६८ रुपैयाँ श्रेष्ठको बचत छ । किस्तामा किनेको गाडी उनको श्रीमान्को नाममा छ ।

लमजुङको पिपुल्स हाइड्रोबाट १० लाख बराबरको सेयर उनको नाममा छ । कामना सेवा विकास बंैकमा २८ सय किस्ता र कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थामा एकलाख कित्ता सेयर उनको छ ।

सुन, चाँदी, हिरा, व्यापार, व्यवसाय र घरजग्गाका धनी विन्दुकुमार थापा
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री हुन् विन्दुकुमार थापा । उनी पोखराका धनाढ्यमध्येका एक हुन् । उनको सुन, चाँदी, हिरादेखि होटेल, घरजग्गै रहेको सम्पत्ति विवरणमा देखिएको छ । मन्त्री थापाको पोखरा, नयाँ बजारमा भव्य घर र घरले चर्चेको तीन हजार ९११ वर्गमिटर जग्गा छ ।

उनको परिवारको नाममा पनि पोखराका अधिकांश वडामा जग्गा रहेको खुलाएका छन् । थापाले अंशुभरा स्क्युवार प्रालि, फुड एन्ड रिटेल, रोयल हिमालयन रिसोर्ट, पोखरा ट्रेड मल, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा फाउन्डेसन, अंशुभरा फुड एन्ड वेभरेल, अंशुभरा एग्रो रहेको सम्पत्ति विवरणमा देखाएका छन् । थापासँग १६० तोला सुन, ५७० तोला चाँदी र २० तोला हिरा रहेको छ ।

दुई करोड ८० लाख ऋण दिएका छन् भौतिकमन्त्रीले
भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीले दुई करोड ८० लाख रुपैयाँ ऋण मात्रै दिएका छन् । विवरणअनुसार उनले शुभ जगदम्बा कन्सट्रक्सनलाई एक करोड ९० लाख रुपैयाँ र थप दुई व्यक्तिलाई ४५÷४५ लाख रुपैयाँ ऋण दिएका छन् ।

यसबाहेक सटरहरूबाट मासिक चार लाख रुपैयाँ आम्दानी उनले गर्छन् । पोखरा–१२, हस्पिटल चोकका सटरहरू उनले भाडामा लगाएका छन् । त्यहाँबाट मासिक आम्दानी हुने उनले खुलाएका छन् ।

उनले हाइड्रोपावरदेखि विभिन्न बैंकमा लगानी रहेको उल्लेख गरेका छन् । पोखरा–१२ मा घर र घरले ओगटेको २२६ वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर र २०४ वर्गमिटर जग्गा छ । ललितपुरमा उनले घरसहित आठ आना जग्गा खरिद गरेका छन् र पोखराका विभिन्न वडामा जग्गा रहेको उनले खुलाएका छन् । पाँच सेट हिराको हार, ९५ तोला सुन, डेढ किलो चाँदी विवरणमा उल्लेख गरेका छन् । मन्त्री केसीसँग गण्डकी हाइड्रोपावरमा एक लाख ८० कित्ता सेयर, युनिफाइड हाइड्रोमा ५६ हजार २७० कित्ता, माछापुच्छ्रे बैंकमा पनि सेयर छ भने श्रीवृद्धि सहकारीमा चार हजार कित्ता सेयर छ ।

वनमन्त्रीसँग रिसोर्ट
अघिल्लो हप्तामात्र मन्त्री बनेका भेषबहादुर पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रदेशका वन तथा वातावरणमन्त्री रहेका पौडेलको लमजुङको बेँसीसहरमा गेटवे हिमालय रिसोर्ट छ । पौडेलसँग ८० तोला सुन, ६० तोला चाँदी र पाँच सेट हिरा रहेको छ ।

लमजुङको बेँसीसहरमा घर र घरले ओगटेको २५ सय वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को एक हजार वर्गमिटर जग्गा र घर छ भने श्रीमती फूलमाया पौडेलको नाममा काठमाडौंमा घर र ६५६ वर्गमिटर जग्गा छ । उनीहरूको ४२ रोपनी जग्गा बेँसीसहरमा छ । लाखौँ रुपैयाँ बैंक व्यालेस हुँदा पनि उनले ऋण देखाएका छन् ।

अर्थमन्त्रीको सरकारी बैंकमा ८५ लाख ऋण 
अर्थमन्त्री डा. टकराज गुरुङले राष्ट्रिय वाणिज्य बैंकबाट ८५ लाख रुपैयाँ ऋण लिएका छन् । आफ्नो पैतृक सम्पतिबाट लमजुङमा र काठमाडौंमा घर देखाएका छन् । 

उनकी श्रीमती प्रतिमा गुरुङको नाममा काठमाडौंको बल्खुमा ९ आना जग्गा र एउटा घर छ भने लमजुङको राइनासमा सात रोपनीभन्दा बढी जग्गा र घर छ । 

लमजुङको सुन्दरबजारमा ४२ आना जग्गा छ भने सोही ठाउँमा प्रतिमा गुरुङको नाममा १० आना जग्गा छ । आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको मन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग दुई वटा बैंकमा ३५ हजार रुपैयाँ मौज्दात छ । आफू र श्रीमतीसँग गरी जम्मा दुई वटा गाडी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

छोराबुहारीको कमाइबाट स्वास्थ्यमन्त्रीले बनाए चन्द्रागिरिमा घर
स्वास्थ्यमन्त्री कृष्ण पाठकको काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पाँच आनामा बनेको एकतले घर छ । विदेश गएका छोराबुहारीको आम्दानीबाट उक्त घर किनेको उल्लेख गरेका छन् ।

मन्त्री पाठकसँग सुन आठ तोला, चाँदी २० तोला रहेको छ । बागलुङ नगरपालिका–१२ मा ६ रोपनी १४ आनामा बनेको घरजग्गा छ । सोही ठाउँमा तीन कित्तामा उनउको जग्गा पनि छ ।

ऊर्जामन्त्रीको काठमाडौंमा घर
ऊर्जामन्त्री फणीन्द्र देवकोटासँग गोरखा र काठमाडौंमा घर छ । रुक्मणिकुमारी शर्माको नाममा कीर्तिपुरमा ६ आनामा बनेको साढे दुईतले घर पैतृक सम्पत्ति बकस पत्रबाट प्राप्त भएको जग्गामध्ये ९ आना बेचेर बनाइएको खुलाएका छन् ।

यस्तै, गोरखाको पालुङटारमा बण्डा नभएको दुईवटा घर छ । सोही ठाउँमा विभिन्न कित्तामा जग्गा छ । मन्त्री देवकोटासँग १२ तोला सुन छ भने चार लाख हाराहारी रकम बैंकमा छ । उनले जग्गा किन्नका लागि साढे तीन वर्ष पहिले आफूले ६७ लाख रुपैयाँ बैना दिएको खुलाएका छन् ।

पर्यटनमन्त्रीसँग पाँच रोपनी धानखेती
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धानखेती गर्ने पाँच रोपनी क्षेत्रफलको जग्गा रहेको खुलाएका छन् । पर्वतका बस्यालले मुक्तिनाथ विकास बैंंकबाट एक करोड रुपैयाँ ऋण लिएका छन् । 

पर्वतबाहेक रुपन्देहीको बुटवलमा उनको जग्गा छ । पर्वतको पैयुँमा पाँच र बुटवलमा गरी करिब २१ रोपनी जग्गा रहेको उनले खुलाएका छन् ।

दाइजोमा पाएको आठ तोला सुन उनीसँग छ । पैंयुमा दुई रोपनी १५ आना जग्गा र घर छ । एक लाख रुपैयाँ उनको बचत छ । उनको अन्नपूर्ण भेट सप्लायर्स पनि छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro