site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलबाट २९ तोला सुनसहित दुईजना प्रहरी नियन्त्रणमा

लुम्बिनी । रूपन्देही प्रहरीले राजस्व छली गरेर ल्याइएको साढे २९ तोला सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार, सोमबार राति १० बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख रुपैयाँ बराबरको सुन बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बसका सहचालक कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मियालाई सुनसहित पक्राउ गरिएको हो ।

Argakhachi Cement Island Ad

बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित पूर्व–पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको खनालले जानकारी दिP ।

सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनारसमेतलाई पक्राउ गरेको छ । थप अनुसन्धानको लागि उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए । रासस
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्