site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ महिला च्याम्पियनसिप : नेपालको प्रतिद्वन्द्वी भारत, बंगलादेशले भुटानसँग खेल्ने

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ६–० को जित निकालेसँगै साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसि र सविता रानामगरले समान एक गोल थपे ।

आजको खेलमा समूह ‘बी’ को विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो । एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो । समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बन्यो । यो समूहमा नेपाल र भुटान अन्तिम चारमा पुग्दा श्रीलंका तेस्रो स्थानमा रहँदै र माल्दिभ्स पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए । प्रतियोगितामा माल्दिभ्स गोल नगर्ने एकमात्र टिम बन्यो ।

यता, समूह ‘ए’ बाट साविक विजेता बंगलादेशले शीर्ष स्थानमा हात पार्‍यो । समूहको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश समूह विजेता बनेको हो । भारत समूह उपविजेता बन्यो । यसै समूहको पाकिस्तान भने एक अंक जोड्दै बाहिरिएको छ । पाकिस्तानले समूह चरणको खेलमा साविक विजेता बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो ।

नेपालले अब सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम भारतसँग खेल्नेछ । भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको छ । नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो । यसअघि गत संस्करणमा पनि नेपालले सेमिफाइनमा भारत नै प्रतिद्वन्द्वी पाएको थियो । दशरथ रंगशालामै भएको उक्त खेलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यसबेला नेपाललाई जित दिलाउन रश्मीले निर्णायक गोल गरेकी थिइन् । यी दुई टिमबीचको दोस्रो सेमिफाइनल आइतबार साँझ ६ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलको रुपमा रहेको यो खेल सोही दिन दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशले सहभागिता जनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro