site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६–० को जित निकालेसँगै नेपाल समूह विजेताको रुपमा साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाललाई समूह विजेता बन्न आज ६–० को जित आवश्यक थियो । इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेसँगै नेपालले ६–० को जित निकालेको हो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल थपे । नेपालले खेलको पहिलो हाफमा चार गोल र दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको पहिलो मिनेटबाटै आक्रमण बुनेको नेपाललाई आठौँ मिनेटमा सविताले अग्रता दिलाइन् । सावित्राले राइट साइडबाट दुई श्रीलंकन रक्षकलाई बिट गर्दै निकालेको क्रसमा सविताले ‘फस्र्ट टच’ गोल गरिन् । सावित्रालाई मध्यभागबाट सरु लिम्बुले पास मिलाएकी थिइन् । १२औँ मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर बनाइन् । सावित्राले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा उत्कृष्ट गोल भएको थियो । त्यसको अर्को मिनेटमै नेपालले तेस्रो गोल गर्यो । नेपालकी रेखाले खेलको गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ३–० मा राखेकी हुन् । लेफ्ट साइडबाट अमिषा कार्कीले निकालेको क्रसलाई रेखाले भली प्रहार गर्दै जाली चुमाइन् ।

३६औँ मिनेटमा रेखाले नेपालको तर्फबाट चौथो गोल गरिन् । बक्सबाहिरबाट सावित्राले गरेको प्रहार ६ यार्ड बक्समा रहेकी रेखालाई ‘डिफ्लेक्ट’ हुँदै गोल भएको हो ।

दोस्रो हाफको सुरुआतमै अमिषाले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाइन् । सविताले निकालेको क्रसमा अमिषाले हेडर गोल गरेकी हुन् । यस्तै, इन्जुरी समयमा रश्मीले हेडर गोल गर्दै नेपालको ६–० को जित पक्का गरिन् । अनिता बस्नेतको कर्नरमा रश्मीले हेडर गोल गरेकी हुन् ।

प्रतियोगिताको समूह विजेता बन्न नेपाललाई आज ६ गोलअन्तरको जित आवश्यक थियो । आवश्यकताअनुसारको जित निकालेसँगै नेपालले गोलआधारमा भुटानलाई पछि पारेर समूह विजेता बनेको हो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । दोस्रो स्थानको भुटानले पनि सातै अंक जोडेको छ । तर, भुटान गोलआधारमा पछि परेको हो । श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थान रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । यो खेल आगामी आइतबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro