site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रो लिगमा रोनाल्डोको आगमन : बन्ला साउदीमा फुटबल संस्कार बसाउने आधार ?

रियाद । फुटबल भन्नासाथ यो पुस्ताले झट्टै याद गर्ने नाम हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुई खेलाडीमध्ये को सर्वश्रेष्ठ भन्नेमा हरेक मिनेट सामाजिक सञ्जालमा बहस र विवाद भइरहेको पाइन्छ ।

कतारमा सन् २०२२ मा फिफा विश्वकप सुरु हुनुअघिसम्म रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडी थिए । विश्वकप सुरु भएको केही दिनमै रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको सम्झौता तोडियो । प्रशिक्षक एरिक टेन हाग र क्लबविरुद्ध सार्वजनिक रूमा केही अभिव्यक्ति दिएपछि युनाइटेडले पोर्चुगिज स्टारसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो ।

सन् २००३ देखि ००९ सम्म युनाइटेडमा करियरकै सुन्दर युग बिताएका रोनाल्डोले दोस्रो सहकार्य उस्तै बनाउन सकेनन् ।

442713408_851038853627240_2275187211370292038_n-1728781117.png
युनाइटेडसँगको सम्झौता तोडिएपछि कतार विश्वकपभर उनी कता जान्छन् भन्ने चर्चा शिखरमा रह्यो । आकलन थियो, रोनाल्डोले युरोप छोड्ने छैनन् । तर, सबैलाई चकित बनाउँदै उनी २०२३ को जनवरीमा साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्ध भए ।

अल नासरमा रोनाल्डोको आगमन साउदीमा मात्र नभई विश्व फुटबलमा नै ठूलो तरंग थियो । दुई वर्षको सम्झौतासहित मध्यपूर्वी खाडी मुलुकको क्लबमा अनुबन्धित रोनाल्डो त्यहाँ २०२५ को जुनसम्म बस्नेछन् ।

उनको आगमनले विश्वबजारमा साउदी प्रो लिगको स्तर ह्वात्तै बढ्यो । विभिन्न रिपोर्टका अनुसार, रोनाल्डो आएपछि साउदी प्रो लिगको भ्युअरसिप सात गुणा बढेको छ ।

439935245_1423194394978764_987415521759015776_n-1728781052.png
रोनाल्डोको आगमन साउदीमा फुटबल संस्कारको आधार
साउदीमा निःसन्देश फुटबल सबैभन्दा चर्चित छ । तर, यहाँ अझैसम्म युरोपजसरी फुटबल संस्कारका रूपमा विकास भएको पाइँदैन ।

रोनाल्डोको आगमनले साउदीलाई विश्वमञ्चमा अलग पहिचान दिलाएको सबैलाई थाहै छ । विश्वभर रोनाल्डोलाई करोडौँ समर्थक र लाखौँ मिडियाले पछ्याउँछन् । यी सबैको ध्यान अहिले रोनाल्डो र साउदी लिगमा छ । साउदी लिगमा रोनाल्डोको आगमनपछि साडियो माने, टालिस्का, करिम बेन्जेमा, एन्गोलो कान्टेजस्ता थुप्रै सुपरस्टार आएका छन् । यसले साउदीमा फुटबल संस्कार बसाउने आधारका रूपमा काम गरिरहेको छ ।

अघिल्लो शनिबार (असोज १९) अल नासरले प्रो लिग २०२४–२४ अन्तर्गत अल ओरुबाहविरुद्ध खेल्दा रोनाल्डोको जर्सीसहित मैदान स–साना बालबालिकाको उपस्थिति राम्रै थियो ।

आफूलाई रोनाल्डो र अल नासरको समर्थक बताउने इब्राहिम उनको आगमनले विश्व फुटबलको ध्यान साउदीमा खिचेको बताउँछन् । “रोनाल्डोले आगमनपछि विश्वले साउदी लिग पनि बलियो छ भन्ने बुझ्दै गएको छ । रोनाल्डोको पथ पछ्याउँदै अरू थुप्रै खेलाडी आउँदा यसले यहाँको फुटबल माहोललाई झनै माथि उकासेको छ । लिगमा चर्चित खेलाडीको आगमन हुँदा यसले साउदीमा फुटबल कल्चर विकास गर्न निकै सहयोग गर्नेछ,” इब्राहिम भन्छन् ।

अब्दुल रहमानको मत भने केही आलोचनात्मक छ । उनलाई लाग्छ, साउदीले बुढा खेलाडीमा आवश्यकभन्दा धेरै लगानी गरिरहेको छ ।

“रोनाल्डोको आगमनले पक्कै पनि साउदी लिगको चर्चा धेरै छ, तर मलाई लाग्छ, साउदीले बुढा खेलाडीमा धेरै लगानी गरिरहेको छ । यसले अहिलेलाई राम्रो भएको जस्तो देखिए पनि दीर्घकालीन फुटबल योजनालाई फाइदा गर्दैन,” अब्दुल आफ्नो फरक मत यसरी जाहेर गर्छन् ।

432768858_2100046067027845_2805244779429990427_n-1728781081.png
धेरै रिपोर्टका अनुसार, अल नासरले रोनाल्डोलाई मात्र वार्षिक करिब २१३ मिलियन डलर तिर्ने गर्छ । यसाअनुसार रोनाल्डो हाल विश्वकै ‘हाइएस्ट पेड’ फुटबलर हुन् । रोनाल्डोपछि प्रो लिगमा अनुबन्धित टालिस्का, बेन्जेमा, माने र एन्गोलो कान्टेजस्ता खेलाडी पनि करियरको उत्तरार्द्धमा छन् । तर पनि यी सबैको पारिश्रमिक औसतभन्दा माथि नै देखिन्छ ।

साउदीले यी खेलाडीमाथि गरेको लगानीले साँच्चै फुटबलको संस्कार बसाउला ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro