site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी सरकार ढाल्न होइन, पार्टी क्रियाशील बनाउन लाग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । बुधबार बिहान सम्पादकहरूसँगको कुराकानीमा उनले माओवादीको ध्यान पार्टी क्रियाशील बनाउन रहेको बताए ।

“सरकार ढलोस्, सरकार ढाल्नुपर्छ भन्नेतिर हाम्रो कुनै सक्रियता र क्रियाशीलता छैन  । हुनु पनि हुँदैन,” प्रचण्डले भने, “जनतामा जाने अवसरका रुपमा सदुपयोग गर्नुपर्छ भन्ने छ ।” 

तर, सरकार संकटमा भएको ठम्याइ उनको छ । “संकट छैन भन्ने होइन । पहिलो र दोस्रो पार्टी मिलेर जसरी सरकार बन्यो, संकट त्यहीँ छ । संकटको चुरो त्यही नै हो ।”

एमाले संविधान खारेज गर्न चाहन्छ 
उनले संविधान संशोधन सरकारको उद्देश्य नभएको दाबी गरे । संविधान संशोधन गर्ने भनेर सहमति हुँदा आफूलाई नसोधिएको उनको चित्त दुखाइ छ । 
 
“संविधान संशोधनको कुरा थियो भने त्यतिबेलाको प्रधानमन्त्री (म) सँग भन्नु हुँदैनथ्यो ? हामी संविधान संशोधनको कोसिस गर्दैछौँ । तपाईंको पनि सहमति चाहियो भनेर भन्न हुदैनथ्यो ?,” उनको प्रश्न छ । 

सुशानको पक्षमा पहल थालेपछि सत्ता नभइ अफ्ठयारोमा पर्ने महसुस गरेर दुई दल मिलेको आरोप प्रचण्डको छ । 

“सरकारको मूल उद्देश्य संविधान संशोधन होइन । यो बहाना हो, मुख्य कुरा सरकार नै हो,” उनले थपे । 

प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको दल एमालेमाथि गम्भीर आरोप लगाए । एमालेको चासो संविधान संशोधनमा भन्दा पनि संविधान खारेजीमा भएको उनको जिकिर छ ।
 
“उहाँहरूको चासो संविधान संशोधन हो भन्ने लाग्दैन । उहाँहरूको चासो र चाहना संविधान खारेजी हो । एकैपटक खारेजी हो भन्न मिल्ने भएन भनेर संशोधनका लागि प्रयोग गर्न खोजिएको मात्रै हो,” उनको दाबी छ । 

प्रचण्डले संविधान निर्माणताका संविधान बनाउन नचाहने सरकारको नेतृत्वमा रहेको टिप्पणी गरे । एमालेलाई संविधान ‘घाँडो’ भएको आरोप समेत लगाए ।

“एमाले नेतृत्वको साथीहरूलाई नै बढी यो संविधान घाँडो लाग्छ । संविधान चाहिँदैन भन्ने साथीहरू नै पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ,” उनले भने, “उहाँहरूले यो संविधान उद्देश्यभन्दा बाहिर भएको ठान्नुहुन्छ ।” 

एमालेलाई समावेशी, संघीयता, गणतन्त्र मन नपरेको र संविधानको सुरुदेखि अन्त्यसम्म माओवादीको छाया देख्ने गरेको टिप्पणी प्रचण्डको छ । 

संविधान संशोधनभन्दा पनि कार्यान्वयन अहिलेको प्राथमिकता रहेको उनको भनाइ छ । 

“पहिले संविधान ठीक ढंगले कार्यान्वय गर्नुपर्यो । ठीक ढंगले कार्यान्वयन गरेर जनतालाई महसुस गराउनु मुख्य कुरा हो,” उनले भने । 

प्रहरी समायोजन ऐन, संघीय निजामती ऐन नबन्दा संविधान कार्यान्वयनमा समस्या भएको उनले औंल्याए ।  

पूर्वराजाको भुटान भ्रमण...
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणलाई आन्तरिक राजनीतिको अभिव्यतिकै रूपमा टिप्पाणी गरे । 
ज्ञानेन्द्रले भुटानमा पाएको सम्मानबारे उनले भने, “यो पनि नेपालको आन्तरिक राजनीतिक संकटकै अभिव्यक्ति हो । कहाँ पुगेर कसरी अभिव्यक्त हुन्छ भन्ने कुरा त फोरकास्ट गर्न सकिँदैन,” उनले भने ।

प्रचण्डले राजा फर्कने कुरा भने सम्भव नभएको बताए । “कहीँ कतै राजा आउने मलाई चाहिँ लाग्दैन । त्यो सम्भव छैन । गणतन्त्रमा गइसकेका जनता फेरि राजतन्त्रमा फर्कंदैनन्,” उनी भन्छन्, “वर्तमान राजा र उनको परिवारका कारणले पनि त्यो सम्भव छैन ।” 

संविधान विस्तृत शान्ति सम्झौताको अंग भएको बिर्सिए देश फेरि एकचोटी नराम्रोसँग राजनीतिक भुमरीमा पर्ने खतरा रहेको चेतावनी समेत दिए । शान्ति सम्झौताका हस्ताक्षरकर्तासँग सल्लाह नगरी संविधान संशोधनको सम्झौता उचित नभएको प्रचण्ड बताउँछन् ।

“शान्ति सम्झौताको मर्म र भावनाविपरीत जानु हो । मेरो विचारमा त्यो राजनीतिक बेइमानी हुन्छ । एउटा हस्तारकर्ता जीवित छ,” प्रचण्डले भने, “नसोधी, कुरा नगरीकन सम्झौता मिल्ने कुरा हो भन्ने लाग्दैन ।” 

एमालेसँग समीकरणमा चुक्यौँ 
माओवादीले सत्ता उलटफेरको चक्करमा एमालेसँगको समीकरण गर्दा त्रुटि भएको निष्कर्ष निकालेको छ । 

पार्टीमा भएका पछिल्ला बैठकका निचोड सुनाउँदै प्रचण्डले भने, “समीकरणका सन्भर्दमा पछिल्लो चरणमा गरिएको एमालेसँगको समीकरणमा चुक्यौँ । वस्तुगत ढंगले मूल्यांकन गर्न सकिएन भन्नेमा छौँ । नियत राम्रो थियो, परिणाम सोचेजस्तो नआएपछि त्रुटि भयो ।” 

कांग्रेससँग हस्ताक्षर गरिसकेपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले ‘स्वर्ग र नर्क’ एकैचोटि जाने कसरी भन्न सकेको भन्ने प्रश्न प्रचण्डले राख्दै आएका छन् । 

एमाले कांग्रेसबीच समझदारी हुने बेला कहाँ छलफल भइरहेको छ भन्ने सूचना भए पनि कांग्रेससँग सरकार नबनाउने विश्वास ओलीले दिएको प्रचण्डले सुनाए । 

“कुरा भइरहेको छ भन्ने सूचना थियो कांग्रेसलाई मैले जति कसले भोगेको छ र म जान्न भन्नुुहुन्थ्यो,” प्रचण्डले सुनाए ।
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro