हाम्रो सन्दर्भमा संविधान दिवस मनाउनु लोकतन्त्रको जग बलियो बनाउनु र प्रत्येक नागरिकको अधिकारको सम्मान गर्ने महत्त्वपूर्ण अवसरको उपयोग गर्नु पनि हो । संविधान दिवसले संवैधानिक शासन र यसमा निहित न्याय, समानता तथा स्वतन्त्रताका सिद्धान्तहरू चरितार्थ गर्न भएको संघर्षको सम्झना पनि दिलाउक्छ । यस दिनले संविधान जारी भएदेखिको प्रगतिको सम्झनामात्रै गर्दैन संविधानको मूल्य मान्यतालाई कायम राख्ने, राष्ट्रिय एकतालाई बढावा दिने र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने सामूहिक प्रतिबद्धतालाई पनि पुनर्जीवित गर्छ ।
यस दिनमा हामी, हाम्रो संवैधानिक यात्रालाई विहङ्गावलोकन गरेर भावी पुस्तालाई हाम्रो राष्ट्रलाई आकार दिने लोकतान्त्रिक आदर्शको कदर र संरक्षण गर्न प्रेरित गर्छौं । इतिहास र संस्कृतिमा धनी राष्ट्र नेपालले स्थायित्व र समृद्धिको यात्रामा आफूलाई निर्णायक र प्रभावकारीरूपमा खरो उतार्न सकेको छैन ।
धेरै राजनीतिक क्रान्तिहरू र लोकतन्त्र पुनर्स्थापनाका लागि लामो संघर्ष भए पनि अगाडिका बाटाहरू अझै चुनौतीहरूले नै भरिएको छन् । संविधान सभाले संविधान जारी गर्नु एउटा ऐतिहासिक उपलब्धि थियो अनि आशा र लोकतान्त्रिक आदर्शप्रतिको प्रतिबद्धताको प्रतीक पनि थियो । तर, ढिलो विकास र प्रणालीगत समस्याहरूको वास्तविकताले यी लाभहरूलाई ओझेलमा पारिरहेको छ ।
संविधान सभामार्फत संविधान लेखिएपछि एउटा राजनीतिक आन्दोलनको त पटाक्षेप भएको छ तर नेपालको विकास प्रक्रिया पीडादायीरूपमा सुस्त छ । संविधानले समान अधिकार र अवसरको प्रतिज्ञा गरेको भए पनि विधिको शासन सर्वव्यापी रूपमा कायम गर्न सकिएको छैन । अझै पनि धेरै नागरिक देशको कानुनी ढाँचा र यसको कार्यान्वयनको बीचमा एकदमै भिन्नताको अनुभव गर्न बाध्य छन् ।
सबैलाई समान अवसरको प्रत्याभूति गर्न सकिएको छैन । नातावाद, कृपावाद, भ्रष्टाचार र व्यापकरूपमा राजनीतिक छल कपटले संविधानको अपेक्षाअनुरूप अग्रगतिमा बढ्ने मामिलाहरूलाई थप जटिल बनाएको देखिन्छ । सर्वत्र, सत्ता, शक्ती र राजनीतिको प्रभुत्व हुँदा राज्यका संस्थाहरू उपर जनताको विश्वासलाई बलियो बनाउन सकिएको छैन । त्यसबाट राष्ट्रिय प्रगतिलाई प्रभावकारी बनाउन झनै चुनौती थपिएको छ ।
समस्याहरू त हरेक ठाउँमा हुन्छन् नै तर नेपालको सन्दर्भमा अहिले सबैभन्दा ठूलो समस्याको रूपमा युवा जनसङ्ख्याको पलायन देखिन्छ । अहिले देशले आफैँ जनशक्ति खोजी रहेको बेलामा नेपाली युवा विदेशमा शैक्षिक र व्यावसायिक अवसर खोजिरहेका छन् । यो 'ब्रेन ड्रेन'ले देशको भावी कार्यशक्तिलाई मात्रै नभई आर्थिक र सामाजिक विकासमा समेत बाधा पुग्ने जनसांख्यिकीय असन्तुलन सिर्जना हुने जोखिमप्रति सरकार र राजनितिक दलहरू अपेक्षकृत सचेत भएको देखिँदैन । यो देशको वर्तमान र भविष्य दुवैको चिन्ताको विषय हो । सम्भावनाको खोजीको नाममा देशका उज्याला दिमागहरू हरेक दिन विदेश पलायन हुँदा नेपालको विकासको दिगोपनमात्रै होइन, देशको नागरिक समाजको जीवन्ततामाथि पनि ठूलो प्रश्न खडा हुने देखिन्छ ।
स्वतन्त्रता सेनानीको रूपमा आफ्नो समृद्ध विरासत भए पनि नेपालका राजनीतिक नेताहरूले आधुनिक शासन र आर्थिक व्यवस्थापनका जटिलताहरूलाई चिरेर समृद्धिको राजमार्ग खन्ने कौशल देखाउन सकेका छैनन् । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरेका उनीहरूले समकालीन चुनौतीहरूलाई सम्बोधन गर्ने गरी नेतृत्वमा प्रभावकारी रूपान्तरण गर्ने क्षमता देखाउन चुकेका छन् । दशकौँदेखि सीमित व्यक्तिहरू आलोपालो सत्ता र शक्तिको केन्द्रमा बसी रहँदा जवाफदेहिता फितलो भएको छ भने त्यसले जनातामा निराशा निम्त्याएको छ ।
नयाँ संविधान आएपछि आशाको किरण पलाएको थियो । संविधानलाई समाजवाद उन्मुख भनिएको छ तर आर्थिक योजना र सामाजिक रूपान्तरणले समाजवादको बाटो कतै फेला पारेको देखिँदैन । त्यसैले अहिलेको अवस्था आशा र निराशाको धागोबाट बुनेको नाजुक 'टेपेस्ट्री'जस्तै देखिन्छ । संविधान राष्ट्रको आकांक्षाको प्रमाणका रूपमा खडा भए पनि भ्रष्टाचार, अकुशलता र युवाको पलायनले कार्यान्वयनको बाटो अवरुद्ध बनेको छ । समग्र देशको उज्जवल भविष्य निर्माण गर्न राजनीतिक नेताहरूले यी चुनौतीहरूलाई स्वीकारमात्रै होइन शासनमा विश्वास पुनर्स्थापित गर्न, विधिको शासन कायम गर्न र युवा पुस्ताले आफ्नो योगदानमा सक्षम महसुस गर्ने वातावरण सिर्जना गर्न निर्णायक कदम चाल्नु अनिवार्य छ ।
नेपालले आफ्नो विकासको यात्रा जारी राख्दा, आफ्नो समृद्ध ऐतिहासिक विरासत र प्रगतिशील सुधारको तात्कालिक आवश्यकताबीच कसरी प्रभावकारी कदम चाल्न सक्छ भनेर अहिले विश्वले नेपाललाई हेरिरहेको छ । यसउपर राजनीतिक नेतृत्व सजग एवं जिम्मेवार बन्नैपर्छ ।
अर्को कुरा, प्रभावकारी न्यायपालिका समृद्ध लोकतन्त्रको आधारशीला हो भन्ने व्यवहारमा चरितार्थ हुनुपर्छ । नेपालको संविधानमा न्यायपालिकालाई विधिको शासन कायम गर्न र न्यायमा सबैको पहुँच सुनिश्चित गरिएको भए पनि तर त्यसो हुनसकेको छैन । बिसौँ वर्षदेखि मुद्दाहरू अदालतमा विचराधीन छन् । यसले अन्यायमा परेकाहरूलाई झनै अन्याय भएको छ । कानुनी प्रणालीभित्र दण्डहीनता र भ्रष्टाचारका मुद्दाहरूलाई सम्बोधन गरेर न्यायपालिकाले जनताको विश्वास पुनर्स्थापित गरेपछि मात्र नागरिकहरूले आफ्नो अधिकारमा सुरक्षित महसुस गर्ने छन् । बलियो कानुनी ढाँचाले व्यक्तिगत स्वतन्त्रताको संरक्षणका साथै आर्थिक वृद्धिको मार्ग प्रशस्त गर्दै लगानीकर्ताको विश्वास पनि बढाउँछ ।
रोजगारी नै आर्थिक विकास र सामाजिक स्थायित्वको महत्त्वपूर्ण संवाहक हो । नेपालमा उच्च युवा बेरोजगारी दरका कारण रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नीतिहरूको तत्काल कार्यान्वयन आवश्यकता देखिन्छ । समाजवादउन्मुख भनेको राष्ट्रले रोजगारी अभिवृद्धि गर्न व्यावसायिक तालिम कार्यक्रम, साना तथा मझौला उद्यमहरूको लागि प्रोत्साहन र रोजगारदाताको सुरक्षालाई प्राथमिकता दिएर सरकारले आफ्नो कार्यशक्तिको क्षमतालाई उपयोग गर्नुपर्ने हो । अनिमात्र देशमा गरिबी घटाउन र जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान दिन सकिन्थ्यो । तर त्यसो हुनसकेको छैन ।
गैरआवासीय नेपालीहरूलाई नागरिकता एवै अन्य कानुनी मामिलामा पक्षपात गरेर देशले विकासको फड्को मार्न सक्दैन भन्नेमा राजनीतिक पार्टीका नेता कार्यकर्ता स्पष्ट हुनसक्नु पर्छ । एकातिर आफ्ना छोराछोरीलाई विदेश जान प्रोत्साहित गर्ने अनि अर्कोतर्फ उनीहरूको कानुनी, आर्थिक एवं राजनीतिक अधिकार प्रत्याभूत गर्ने गैरआवासीय नागरिकको अधिकार संकुचित गर्ने कुरा सुखद होइन ।
जुनसुकै बहानामा विदेशिएका भए पनि नेपाल आमाका सबै सन्तानलाई विनाभेदभाव नेपाल भित्र्याएर उनीहरूको सिप, पुँजी र दक्षतालाई देशको समग्र विकासमा लागाउनु अहिलेको आवश्यकता हो । त्यसो हुन सक्यो भने देश फर्कने जनशक्तिलाई नेपालको कृषी र र पर्यटन विकासमा लगाउन सकिन्थ्यो ।
कृषि र पर्यटन नै नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउने अपार सम्भावना भएका दुई क्षेत्र हुन् । कृषि, देशको पहिचान र जनसंख्याको जीविकोपार्जनको एक महत्त्वपूर्ण हिस्सा हो । आधुनिक कृषि अभ्यास, दिगो कृषि प्रविधि र राम्रो आपूर्ति शृंखला व्यवस्थापनमा लगानी गरेर नेपालले उत्पादकत्व बढाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न सक्छ । ऋण र तालिममा पहुँच भएका किसानलाई सहयोग गर्नाले उनीहरूलाई प्रतिस्पर्धी बजारमा फस्टाउन सक्षम बनाउँछ ।
त्यसैगरी, पर्यटनले आर्थिक वृद्धिका प्रशस्त अवसरहरू प्रदान गर्छ । मनमोहक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यका साथ नेपाल विश्वभरका यात्रुहरूका लागि प्रमुख गन्तव्य बनाउनुपर्छ । जलविद्युत् लगायतका पूर्वाधारमा लगानीका साथ सुरक्षा उपायहरू अभिवृद्धि गरेर मात्र दिगो पर्यटन विकास प्रवर्द्धन हुन सक्छ । त्यसबाट नेपाललाई प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै थप पर्यटकहरू आकर्षित गरेर अद्वितीय बनाउन सकिन्छ ।
हरेक वर्ष संविधान दिवसको अवसरमा वक्तव्य जारी गरेर, भाषण गरेर र परेड खेलेरमात्रै संविधानको मर्मअनुरूप देशले विकासको मार्ग पहिल्याउन सक्दैन । नेपाललाई स्थिर र समृद्ध लोकतान्त्रिक राष्ट्र बनाउन कमसेकम उल्लेखित आधारभूत क्षेत्रहरूलाई सम्बोधन गर्नैपर्छ । अनिमात्र नेपालले गरिबीको चक्रलाई तोड्न सक्छ । सबै नागरिक राष्ट्रको विकासमा सहभागी हुन र लाभान्वित हुन सक्छन् । त्यसो भयो भनेमात्र संविधान दिवस मनाउनु सार्थक हुन्छ ।
(गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य )