बौद्धदर्शन सांसारिक दृष्टिमा निराशावादी देखिन्छ | संसारलाई दु:ख मानेपछि मानसिकरूपमा संसारप्रति कुनै पनि दायित्व शेष रहँदैन | बुद्धले "सर्वं दुखम्" अनुभूति गर्दा "मानसिक दु:ख" भन्ने शब्द जोड्नुभएको छैन भने न त प्रसिद्ध बौद्ध दार्शनिकहरू नागार्जुन, क्षांतरक्षित, पद्मसम्भव, विज्ञान भिक्षुआदिले नै यो भन्नुभएको छ | दु:खलाई 'मानसिक मात्र' भन्ने व्याख्या पश्चिमाहरूले भित्र्याएका हुन् | बुद्धले सम्पूर्ण संसारलाई दु:खमय भनेपछि मन पनि संसारकै अंश बन्छ | बुद्धका विचारहरूको व्याख्या गर्ने र बुझ्ने क्रममा मतभेद भएर स्थवीरवाद, महायान र बज्रयानको जन्म भएको थियो | चीन, जापान, थाइल्यान्ड, भियतनामआदि देशमा त्यहाँ विकसित ससाना बौद्ध सम्प्रदायहरूको खासै चर्चा हुँदैन |
कर्मयोगले भौतिक संसार र आत्मिक उन्नति दुवैको वकालत गर्छ | मान्छेको शरीरलाई हरिमंदिर मानेर यसलाई स्वस्थ राख्न र हरेक सांसारिक दायित्वलाई कर्तव्य ठानेर मनोयोगपूर्वक सम्पादन गर्न अभिप्रेरित गर्छ | एउटा कर्मयोगीको लागि गाई दुहुनु र आँखा बन्द गरेर चिन्तन (ध्यान) गर्नुकाबीचमा केही फरक हुँदैन | मनोयोग पूर्वक घाँस काट्नु पनि ध्यान नै हो | ध्यान नदिईकन घाँस काट्न सकिन्न | घाँसमा ध्यान नदिएबित्तिकै हँसियाले हात काट्छ | मनोयोग पूर्वक तर कर्तव्यको चेतनाले कर्मयोगीले कर्म गर्छ | कर्मयोगी दु:खतिर ध्यान दिँदैन न उसले परिणामतिर नै ध्यान दिन्छ | जताततै दु:ख दर्शन र अनुभूतिले परिणाम अर्थात् दु:खको अनुभव नै हुन्छ | बुद्ध दर्शनको अभ्यासले व्यक्तिलाई कर्मयोगी बनाउँदैन |
कल्पना गरौँ सबै जना 'नेपाल बुद्ध जन्मेको देश हो, सबै नेपालीले संसार दु:खमय भएको अनुभव गर्न आँखा चिम्लेर ध्यान गर्नुपर्छ" भन्दै हिमाल, तराई पहाड सबैतिर ध्यानमा बसे भने के होला ? धेरैलाई यो प्रश्न अतिवादी लाग्ला तर सबै बुद्ध हुँदैनन् भन्ने कुरा स्वीकार गर्नुपर्छ | आँखा चिम्लेर ध्यान गर्ने सबै बुद्धत्वको खोजीमै हुन्छन् भन्ने पनि निश्चित हुँदैन | बुद्धको बखतमा महाविहारहरू 'काम गर्न जाँगर नभएर भिक्षुक बनेका अल्च्छी'हरूले भरिएको कुरा बुद्ध स्वयंले खबरदारी गरेका छन् | हलो जोत्दै गरेका किसानले आँखा चिम्लिएर ध्यान गर्न थाले भने विहारका अनेकौं भन्ते, लामा तथा 'बोधिसत्व'हरूको दु:ख बढ्ने छ | बुद्धले देखाएको दु:ख साधना कर्मयोगीका लागि उपयोगी छैन | तर कर्मयोगका लागि मानसिक विकारबाट मुक्ति पाउन प्रयोग गरिने 'चित्तशुद्धि'को अभ्यास भने उपयोगी नै हुन्छ |
बौद्ध चिन्तनमा भौतिक संसारप्रति मोह छैन | दु:खको घरलाई किन कसैले माया गर्नु ! संसारप्रति माया नहुनुको अर्थ हो कुनै पनि व्यक्तिले संसारका कुनै पनि कामलाई निर्माणका लागि उपयुक्त पाउँदैन | संसार बन्धनकारकमात्र हो भने यसप्रति मान्छेको कुनै पनि कर्तव्य शेष रहन्न | कसैले आफूलाई बौद्ध भन्छ तर संसारका कामहरू सम्पादन गरिरहेको छ भने त्यो उसको प्राकृतिक बाध्यता हो | मन कहीं छ, काम अर्को हुँदैछ | समाजमा बौद्ध दु:खवादको विकास हुँदै जाँदा वैदिक सम्प्रदायहरू पनि दु:ख र निराशावादबाट प्रभावित भएकोहुनुपर्छ | सायद, वैदिक कर्मयोगको क्षयीकरणमा बौद्धहरूको निराशावादको ठूलो भूमिका छ | गीताको प्रबचन हुँदासम्म बौद्धहरूको निराशावाद र दु:खवाद थिएन | गीताले कर्म, ज्ञान र भक्तियोगका माध्यमबाट जीवनलाई स्थापित गरेको छ |
कृष्णका ठाउँमा बुद्ध उपदेशका लागि उभिएका हुन्थे भने सम्भवत: बुद्धले - हे अर्जुन ! मेरो र तिम्रो संवादसहित यो युद्धभूमि र युद्धभूमिमा उपस्थित सम्पूर्ण योद्धाहरू पूर्वजन्मको संस्कारका कारण यस्तो क्रूरयुद्ध गर्न उभिएका छन् | युद्ध र युद्धको अन्त्य सबै दुखमय भएकोले तिमीले सम्पूर्ण रथ र हतियार जिम्मा लगाएर सङ्घको शरणमा जानुपर्छ | दु:खरूप युद्धले पुन दुःख उत्पादन गर्ने हुँदा आत्मदीप बनेर युद्ध त्याग्नुपर्छ |" अनि, भाग्न लागेका अर्जुनलाई दुर्योधनका सेनाले समातेर त्यहीँ मारिदिन्थे होला | भौतिक उन्नतिका लागि बुद्धको निराशावाद र दु:ख दर्शन सहयोगी हुन सक्दैन | आँखा चिम्लेर दु:ख निवारणको कल्पनामा दुब्दैमा दुःख हट्दैन र गोजीमा करोड रुपैयाँको चिन्नत गर्दैमा रुपैयाँ फल्दैन | बुद्धले यही कुरा बुझेर माध्यम मार्ग अपनाएका थिए तर चेलाहरूले त्यही माध्यम मार्गलाई सङ्घ र धम्ममा विकसित गर्दै बुद्ध अर्थात् सबैथोक छोडेर गुरूको कुरा मान्नुपर्ने अवस्थामा पुर्याए |
आज नेपाली तथा भारतीय कम्युनिस्टहरूमा बुद्ध दर्शनप्रति प्रेम जागेको देखिन्छ | हिन्दू परिवारमा जन्मेका तथा जिन्दगीभर धर्म र धार्मिकतालाई सत्तोसराप गर्नेहरूमा अचानक बौद्ध चिन्तनप्रति प्रेम जागेको छ | केही यस्ता नवबौद्धहरूले त झन् बुद्ध "भौतिकवादी" भएकोसमेत लेख्न थालेका छन् | अचम्मको कुरा त के भने बौद्ध दर्शनका ज्ञाता भनिएका बौद्ध विद्वान्हरू समेत तिनै राजनीतिक शक्तिको समर्थनमा उत्रिएको भेटिन्छ | संसारमा सबैथरिका दर्शन छन्, तिनको उपस्थितिले संसार अझै सक्रिय बन्छ | तर भौतिक संसारलाई विकसित गर्ने र भविष्यको पुस्तालाई सुखदायी संसार दिने हो भने द्वैतादैत, मीमांसा, वैशेषिक तन्त्र दर्शनको बाटो कर्मयोग हो |
सत्य कुरा के हो भने साम्यवादी चिन्तन र बौद्ध दर्शनबीचमा समानता खोज्नु नै अचम्म हो | कर्म, संस्कार र पुनर्जन्ममा विश्वास नगर्ने कम्युनिस्टहरूले बौद्ध चिन्तन गर्ने ? दोस्रो कुरा, बौद्ध दर्शनले संसारप्रति करुणा राख्दैन | बौद्धहरूको करुणा जीवहरूलाई दु:खमय संसारबाट मुक्तिमा केन्द्रित देखिन्छ | भौतिक जीवनलाई महत्त्व दिने मार्क्सवाद र बौद्धिक, मानसिक र आध्यात्मिक संसारलाई "दुःख" भन्ने बौद्धको मिलन असम्भव हो |
बौद्धहरूको सहारा लिएर कम्युनिस्टहरूले संसारको दु:खबाट मुक्ति चाहेको हो कि स्वघोषित बौद्धहरूले तथाकथित प्रगतिशीलहरूको आडमा संसारलाई नै निर्वाण स्वीकार गर्न तयार भएको हो ? वास्तविक जीवनमा बौद्धको निराशावाद र मार्क्सको चरम भौतिक यथार्थवादबीचमा मिलन विन्दु भने भेटिँदैन |