site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
SkywellSkywell
नलिन्चोक हेलिप्याडले देखाएको उड्डयन क्षेत्रको चित्र

हेलिप्याड भन्नाले हेलिकप्टर अवतरण र उडानका लागि बनाइएको विशिष्ट स्थान भन्ने बुझिन्छ  । यो एक प्रकारको सानो विमानस्थल हो जहाँ हेलिकप्टरहरू सजिलै अवतरण र उडान गर्न सक्छन् । हेलिप्याडहरू विशेष गरी ठूला विमानस्थल निर्माण गर्न सम्भव नभएको तर हेलिकप्टरको अवतरण आवश्यक भएका ठाउँमा बनाइन्छ  । 

हेलिप्याड केही विशेष स्थानमा पनि बनाइएको हुन्छ  । अस्पताल, होटल, कार्यालय भवन र दुर्गम स्थानहरूमा हेलिप्याड बनाइएको हुनसक्छ  । आपतकालीन उद्धार, स्वास्थ्य सेवा र विशेष यातायातको लागि हेलिप्याडको उपयोग गरिन्छ  । हेलिप्याडको संरचना सामान्यतया समतल र सुरक्षित हुन्छ  । 

यसमा हेलिकप्टरको अवतरण र उडानका लागि आवश्यक सबै सुविधाहरू जस्तै हेलिप्याड मार्किंग, प्रकाश व्यवस्था, र सुरक्षा उपायहरू हुन्छन्  । हेलिप्याडमा सुरक्षा उपायहरू महत्त्वपूर्ण मानिन्छन्  । यसमा सुरक्षा वार्ड, अग्नि नियन्त्रण उपकरण, र आपतकालीन सेवाहरूको व्यवस्था गरिन्छ  । 

Dabur Nepal
NIC Asia

हेलिप्याडको आकार सामान्यतया हेलिकप्टरको प्रकार र आवश्यकताका आधारमा निर्धारण गरिन्छ  । ठूला हेलिकप्टरका लागि ठूला हेलिप्याडहरू बनाइन्छन्  । हेलिप्याडमा अङ्ग्रेजीको एच H अक्षर लेखिएको हुन्छ जसले हेलिकप्टर अवतरण स्थल जनाउँछ  । 

साथै, अन्य निसानहरू र मार्गनिर्देशन संकेतहरू पनि समावेश गरिन्छ  । हेलिप्याडमा संचार उपकरण, नेभिगेशन प्रणाली र अन्य प्राविधिक सुविधाहरू पनि सम्भव भएसम्म जडान गरिन्छ  । यसले पाइलटलाई अवतरण र उडानका क्रममा सहायता पुग्छ  । 

हेलिप्याडको डिजाइन र सञ्चालनमा सुरक्षा, दक्षता, र प्रयोगकर्ताको सुविधालाई उच्च प्राथमिकता दिइन्छ ।

हेलिप्याडले नेपालजस्तो भौगोलिक अवस्थिति भएको स्थानमा सेवा दिइरहेको छ । दुर्गममा बिरामी तथा आपतकालीन सहायताको लागि हेलिकप्टर अत्यावश्यक साधन भएको पाइन्छ भने 'लक्जरी टुरिजम'मा हेलिकप्टरको सेवाले राज्यलाई आर्थिक योगदानसमेत भएको पाइन्छ  । 'फेक रेस्क्यु'का एकाध घटनाबाहेक नेपालमा हेलिकप्टरको सेवा सन्तोषजनक छ ।

सामान्य अवस्थामा हेलिप्याडका केही निम्न समस्याहरू हुन सक्छन् – 

आवश्यक पूर्वाधारको कमी 

हेलिप्याडमा पर्याप्त पूर्वाधारको कमी हुन सक्छ भने राम्रोसँग मर्मत सम्भार नगरिएका रनवे, पक्की क्षेत्रको कमी र अन्य सुविधाहरूको अभाव यसमा पर्छन् । 

सुरक्षा व्यवस्थापन

हेलिप्याडको सुरक्षा व्यवस्थापनमा कमी हुन सक्छ जसले अनधिकृत व्यक्तिहरूको प्रवेश र अन्य सुरक्षा समस्या निम्त्याउन सक्छ । 

प्राविधिक सहयोग: आपतकालीन अवस्थामा चाहिने प्राविधिक सहयोगको कमी हुनसक्छ । यसमा आपतकालीन स्वास्थ्य सेवाहरू, अग्नि नियन्त्रण र उद्धार टोलीहरूको सहयोग समावेश हुन्छ ।

पर्यावरणीय असर

हेलिप्याडले वरपरका वातावरणमा असर पार्न सक्छ जसमा ध्वनि प्रदूषण, धूलो र अन्य प्रदूषण समावेश छन् ।

मौसम

खराब मौसमका कारण उडान र अवतरणमा समस्या हुन सक्छ । विशेषगरी, वर्षायाममा भारी वर्षा, कुहिरो र अन्य प्राकृतिक कारणहरूले उडानलाई प्रभावित गर्न सक्छ । 

समुदायसँगको सम्बन्ध

हेलिप्याडले वरपरका समुदायसँग राम्रो सम्बन्ध राख्न नसकेमा समस्या उत्पन्न हुन सक्छ । यसमा स्थानीय बासिन्दाहरूको असन्तुष्टि र विरोध पर्छन् ।

उडान गर्ने पाइलटले सामान्यतया उडान गर्दिन भन्नु उडान सुरक्षाका दृष्टिकोणले सही नै हो । पाइलटले सामान्यतया निम्न अवस्थामा उडान तथा अवतरण नगर्ने निर्णय लिएको पाइन्छ  । 

थकान र तनावको अवस्था

पाइलटहरूको काममा धेरै लामो समयसम्म एकाग्र भएर ध्यान दिनुपर्ने हुन्छ । त्यसले उनीहरूलाई थकान र तनावमा पार्न सक्छ भने यसबाट उनीहरूको निर्णय क्षमतामा असर पर्न सक्छ । 

प्राविधिक समस्या

उडानको क्रममा प्राविधिक समस्या उत्पन्न हुन सक्छ । पाइलटहरूले ती समस्याहरूको समाधान गर्न तुरुन्तै निर्णय गर्नुपर्छ, जुन चुनौतीपूर्ण हुन सक्छ । 

मौसम
खराब मौसममा उडान गर्न पाइलटहरूको लागि कठिन हुन्छ । मौसमको अनिश्चितता र अचानक परिवर्तनले पाइलटहरूको कामलाई थप चुनौतीपूर्ण बनाउँछ । 

नवीनतम प्रविधिको ज्ञान

विमानमा नयाँ प्रविधिहरूको प्रयोग भइरहन्छ । पाइलटहरू ती प्रविधिको ज्ञान र उपयोग गर्न सक्षम हुनुपर्छ । यसमा प्रशिक्षण र समय लाग्न सक्छ ।

सुरक्षा जिम्मेवारी

पाइलटहरूको मुख्य जिम्मेवारी यात्रुहरूको सुरक्षा हो । यो जिम्मेवारीले मानसिक दबाब पैदा गर्न सक्छ । 

सञ्चार 

विमानस्थलको नियन्त्रण टावरसँग सही र प्रभावकारी सञ्चार आवश्यक हुन्छ । यसमा कुनै त्रुटि भएमा दुर्घटना हुन सक्छ ।

अनुभवको कमी

पाइलटहरूले अनुभवको कमीले पनि विभिन्न समस्या सामना गर्नुपर्छ । उनीहरूलाई आवश्यक निर्णय गर्न र कठिन परिस्थितिमा सही कदम चाल्न गाह्रो हुन सक्छ । यसैले नयाँ हेलिप्याडमा अनुभवको कमीका कारण पाइलट उडान अवतरण गर्न हिच्किचाउनु स्वाभाविकै हो  ।

पछिल्लो समय बनेर पनि संचालनमा करिब करिब नरहेको नलिन्चोक हेलिप्याड चर्चामा आउनुपर्ने विषय हो या  हैन? संचालनमा आउननु अगाडि निर्माणकर्ताले आवश्यक तयारी पूरा गरेको थियो कि थिएन त्यो नेपाल नागरिक उड्डयन प्राधिकरणकै इन्जिनियरको नेतृत्वमा बनेको समितिले अध्ययनको आधारमा निष्कर्ष निकाल्छ होला नै । तर नेपालको उड्डयन क्षेत्र अध्ययन गर्ने  अवसर पाएकाले पनि होला मेरो मनमा हेलिप्याड बारे केही प्रश्न उब्जेका छन्  ।

मनाङ एयरको  9N-ANJ  विमान १४ अक्टोबर २०२३ मा दुर्घटना हुँदा वरिष्ठ क्याप्टेन प्रकाश सेडाईको ज्यान गयो  । सो दुर्घटना भएको लुबुचे हेलिप्याड अत्यन्तै चुनौतीपूर्ण हेलिप्याडमा पर्छ  । तर सुरक्षा साबधानी न अपनाई हावाको सामान्य जानाकारीसमेत नपाई हेलिकप्टरहरूको नियमित उडान भइरहेको हुन्छ । यसैको परिणाम हो लुबुचेमा मनाङ एयर दुर्घटना । 

लुक्ला विमानस्थलभन्दा केही तल कुनै घरको छेउमा बारीको समथर पाटो छ "सुर्के" । लुक्लाको मौसम बिग्रिनेबित्तिकै हेलिकप्टरहरू लाम लागेर अवतरण गर्छन् । झट्ट  क्याप्टेनहरू झर्छन २ देखि ५ हजार निर्धारण गरेको पार्किङको पैसा तिर्छन् । रातभर विश्रामसमेत  गर्छन् । अनुकूल मौसम हुनेबित्तिकै भुर्र उँड्छन्, जान्छन्  । 

सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट १२-१५ किलोमिटरको दूरीमा ताक्सिन्दो गुम्बा छ । तेही गुम्बाको छेउमा ससानो समथर बारी छ । सुरक्षाका न्यूनतम आवश्यकताको समेत ख्याल नगरी त्यहाँ हेलिकप्टरले बेस नै राखेर सामान थुपारेर माथिल्लो सोलुखुम्बुका विभिन्न स्थानमा ढुवानी गरेको देखिन्छ ।

हवाई तथा उडानको सुरक्षा तेही गुम्बाकै भर 

सोलुकै बुप्सालगायात अन्य स्थानमा त्यही किसिमको अवस्था देखिन्छ  । उडान तथा हवाई सुरक्षाका आधारभूत नियमको समेत खिल्ली उडेको देख्न माथि उल्लेखित केही उदाहरण पर्याप्तै होलान  । 

ग्यालिनमा महिनौसम्म जमेको तेल सावधानीबिना भण्डार गरिएका दृश्य त्यस क्षेत्रको लागि सामान्य हुन् । फेरीचे, स्याङ्बोचे, कालापत्थर, बेस क्याम्प १, बेसक्याम्प २, बेसक्याम्प ३ वा अन्य माथिल्लो क्षेत्र नियामकको भन्दा आवश्यकताको नियम लागु हुने गर्छ । यो अतियोक्तिजस्तो लाग्न सक्छ तर सत्य हो  । त्यहाँ कसरी जानेभन्दा कति डलर आउँछ भन्नेमा हिसाब र ध्यान केन्द्रित हुन्छ । धन्न, ओँलामा गन्न सकिनेबाहेक धेरै दुर्घटना भोग्न परेको छैन । 

जुन महिनाको अन्त्य वा जुलाई महिनाको सुरुतिर नलिन्चोक हेलिप्याड बारे केही समाचार बाहिरिएका छन् । तिनमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान तथा हवाई सुरक्षामा गम्भीर खेलबाड गर्ने कामको विरोधमात्र भएको छैन सुरक्षा ग्यारेन्टीसमेत नगरे उडान रोक्का गर्ने संयुक्त  ज्ञापन पत्र प्राधिकरण महानिर्देशकलाई हेलिकप्टर पाइलटहरूले नै बुझाइसकेका छन् ।

नलिन्चोक हेलिप्याडबाट अहिले निकै कम उडान अवतरण भएको छ । नियमित जहाज उडानले गर्दा हेलिकप्टरलाई झन्झटको रूपमा लिने एयर ट्राफिक कन्ट्रोलरहरूले आफ्नो झन्झटबाट मुक्ति हुने आशा नलिन्चोक हेलिप्याड थियो भनिन्छ । साथै विमान कम्पनीहरूले चाहेको समयमा निर्वाध उड्नसक्ने वातावरणसमेत पाउने आशा राखिएको थियो सो हेलिप्याडबाट  । तर अहिले घटनाले नयाँ मोड लिएको देखिएको छ  । यसले उड्डयन समुदायमा विभिन्न बहस उत्पन्न गरिदिएको छ  । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक भने हेलिकप्टर सेवाजस्तो संवेदनशील क्षेत्र बन्दजस्तै हुँदासमेत कुनै कदम चालेको देखिएन । यसअघि काठमाडौं बाहिरका विमानस्थलमा  रात्रि बिसान गर्ने नियम ल्याउँदा विमान कम्पनीहरूको स्वाभाविक प्रतिक्रियामा समेत उनले उडान अनुमतिसमेत खारेज गर्ने चेतावनी दिएका थिए । तर, महानिर्देशक अहिले भने मौन छन् । यसको अर्थ के बुझिन्छ भने उनले जानीजानी हेलिकप्टर पाइलटहरूले भनेजस्तै उडान तथा हवाई सुरक्षा प्रतिकूल हुनेगरी योजना अगाडी बढाएका छन् । उनको मौनको अर्थ अरू के हुन सक्छ र ? 

पोखरा/ भैरहवालगायतका विमानस्थलको लगानीमा बारबार प्रश्न उठे पनि उनैको नेतृत्वमा आयोजना निर्माण गर्ने काम भयो । सरकारकै निर्णयबमोजिम काम भएक भएको भनेर उनले मिडियामार्फत दाबी गरिरहेका छन्  । नलिन्चोकका हकमा उनकै कार्यकालमा योजना बन्ने काम भयो । सुरु भएकै मितिबाट उडान गर्ने पाइलटले समेत उडान नै रोक्नुपर्ने स्थिति आउनु विमानस्थल आयोजनाको लागि सामान्य मान्न सकिन्छ ?

हुन त कसै कसैले उनको यो मौन मिलेमोतोमै देखिएको पनि भन्छन् । महानिर्देशक विमान कम्पनीले विरोध गरेरै थप पूर्वाधार निर्माणको लागि सरकारलाई बाध्य पारुन् भन्ने चाहन्छन् । सैद्दान्तिक स्वीकृति दिने अर्थ मन्त्रालयले त्यही विरोधलाई आधार मानेर उनको योजनाअनुसार थप पूर्वाधार निर्माणको लागि पैसा खन्याउने बाटो खोलोस्  । 'बिजीनेस प्लान'विहीन योजनालाई 'दुहुनो गाई' बनाउन पाइयोस् । 

दुई वा सोभन्दा बढी हेलिकप्टर हुने कम्पनीले एउटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (जुनस्थानबाट केही कम्पनीले उडान गरिराखेका छन् ) राख्ने प्रबन्ध गरी अन्य विमानलाई नलिन्चोक राख्नुले पनि 'दालमा कालो' भएको पुष्टि गर्छ  । एक त वर्षामा उडान कम नै हुने हुनाले हेलिकप्टर कम्पनीको व्यवसायमा खास असर परेको देखिँदैन  । अझै यसले प्राधिकरण व्यवस्थापनलाई लामो प्रक्रियामा नगई छोटै प्रक्रियाबाट आवश्यक पूर्वाधारका ठेक्का लगाउन मद्दत पुग्नसक्छ  । टेन्डर टुक्रा टुक्रा पारी ससाना योजना वितरण गर्न सकिन्छ । अत्यावश्यक सेवा बन्द गर्दासमेत राज्य मौन हुनु सामान्य कुरा त होइन नि ! 

अर्कोतर्फ यसले विमान कम्पनीको उडान सुरक्षाप्रति के साच्चै संवेदनशील भएका हुन् त ? भन्ने प्रश्न उठ्छ । नलिन्चोक हेलिप्याडसम्मको हेलिकप्टरको इतिहास हेर्दा उनीहरू अब उडान सुरक्षालाई प्रागमिकता दिने अवस्थामा पुगेका हुन् त भन्ने पनि प्रश्न उठ्छ । संवेदनशील उडानहरूमा उडान गर्दा अब सोहीअनुरूपको उडान सुरक्षाको ग्यारेन्टी गर्ने अठोटमा पुगेका हुन् त ? हो भने त यो उड्डयन क्षेत्रको लागि अत्यन्तै सकारात्मक पाइला हुनेछ  । नियामकभन्दा सेवा प्रदायक एक पाइला अगाडि हुनु एकदमै असल उड्डयन बातावरणको संकेत हो ।  

सुरक्षाकै कारणमात्र नलिन्चोक बन्द भयो भनौ भने माथि त्यसो नभएको त उल्लेखित विभिन्न उदाहरण सोलुखुम्बु वा देशका अन्य स्थानमा पुग्ने जो कसैले देख्न, अनुभव गर्नसक्छ । नेतृत्वको बदनियत हो भने राज्यको ढुकुटी किन सस्तो बनाइएको हो ? जनताको कर किन योजनाविहीन परियोजनामा खन्याउने कार्यले निरन्तरता पाइरहेको हो ? पोखरा,भैरहवा हुदै नलिन्चोकसम्म आइपुगेका यी प्रश्नको जवाफ न सरकार दिन्छ न प्राधिकरण । कारण के हो ? यति संवेदनशील विषयमा  राज्य मौन बस्नु समग्रमा राज्यविहीनताकै लक्षणबाहेक अरू के मान्ने ? 

(कोपेनहेगनमा एभियसन म्यानेजमेन्टमा स्नातकतहमा अध्ययनरत ) 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu