काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १.८८ प्रतिशतले घटेर बन्द भएको हो ।
६ कारोबार दिनपछि गएको साता बिहीबार बजार ७८.३१ अंकले बढेको थियो । आज एकैदिन बजार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बिहीबारको तुलनामा सेयर खरिद–बिक्री रकम भने बढेको छ । १० अर्ब ३३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । गएको बिहीबार आठ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आइतबार रिभर फल्स पावर, हिमाल हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक ३.६८ प्रतिशतले घटेको छ ।
२४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २१९ कम्पनीको सेयर मूल्य घटेको छ । प्राइम कमर्सियल बैंकको सेयर मूल्य स्थिर छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।