
विराटनगर । कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले असारमा नै बढी भुक्तानी हुने भएकाले 'असारे विकास' भनेर टीकाटिप्पणी गर्न अनुचित भएको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले निर्माण कम्पनी र ठेकेदारले असारमै बढी भुक्तानी लिने गरेको बताए ।
असारमा भुक्तानी धेरै हुने भएकाले सरकारको खर्च पनि असारमा धेरै हुने गरेको उनको भनाइ छ । असार अन्त्यसम्म कोसी सरकारको खर्च ८० प्रतिशत पुग्ने मन्त्री मगरले बताए ।
उनले कतिपय बहुवर्षीय योजना रुग्ण रहेको र तिनलाई चटक्कै छाड्न नसकिने बताए । पहिलेकै सरकारले ल्याएका यस्ता योजनामा पनि बजेट हाल्नुपर्ने बाध्यतामा सरकार रहेको उनको भनाइ छ । यस्तै, ससाना योजनासमेत माग भएर आउने भएकाले बजेट दिनैपर्ने अवस्थामा सरकार रहेको उनले बताए ।
"साना योजनामा पनि बजेट मागिन्छ, हाल्दा पनि किन सानोमा राखेको भन्दै प्रश्न गरिन्छ । आवश्यकताले जे निर्धारण गर्छ, त्यहीअनुसार बजेट हालिन्छ," उनले भने ।
योजना बैंकमा ५० हजार योजना समेटिएको भन्दै उनले त्यसमा समावेश नभएकालाई बजेट हाल्न नसक्ने बताए । धेरै योजना संकलन गरेर हालेकै कारण समस्या भएको उनले सुनाए । प्रदेशस्तरीय योजनामात्र त्यसमा नसमेटिएको मन्त्री मगरले बताए ।