काठमाडौं । संसारको पुरानो लोकतन्त्रमध्ये एक मानिने संयुक्त राज्य अमेरिका यतिखेर आफ्नो ६०औँ राष्ट्रपतीय निर्वाचनको संघारमा छ । संसारकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतीय चुनावमा उमेदवारले अरबौँ डलर खर्च गर्छन् ।
उमेदवारले चुनावमा खर्च गर्ने अरबौँ डलर कसरी जम्मा गर्छन् ? विभिन्न अमेरिकी सञ्चार माध्यम र अमेरिकाको संघीय निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध विवरणका आधारमा हामीले यो 'एक्सप्लेनर' तयार पारेका छौँ ।
अमेरिकाको आन्तरिक आम्दानी कानूनअनुसार राष्ट्रपतिको निर्वाचनमा उमेदवारले ‘प्रेसिडेन्सियल इलेक्सन क्याम्पियन फन्ड’का नाममा चन्दा संकलन गर्न पाउँछन् ।
त्यसो भए कसरी संकलन हुन्छ त चन्दा ?
प्राइमरी चरण
अमेरिकाको संघीय निर्वाचन आयोगका अनुसार राष्ट्रतिको निर्वाचनमा उमेदवारले सबैभन्दा पहिले प्राइमरी चुनावमा सामेल हुनुपर्छ । यो चुनावका लागि उठाइने चन्दालाई ‘प्राइमरी म्याचिङ फन्ड’ भनिन्छ ।
प्राइमरी चुनावमा उमेदवारले कम्तीमा २० राज्यमा चन्दा संकलन गर्न पाउँछन् । यसरी चन्दा संकलन गर्दा एउटा राज्यबाट कम्तीमा पाँचहजार अमेरिकी डलर चन्दा उठाउनुपर्छ । प्राइमरी चरणको चुनावमा एउटा व्यक्तिले २५० अमेरिकी डलरभन्दा बढी चन्दा दिन पाउँदैन ।
प्राइमरी चुनावको चरणमा एउटा उमेदवारले अधिकतम एक करोड डलर खर्च गर्न पाउँछन् । ‘कस्ट अफ लिभिङ’ शीर्षकअन्तर्गत एक करोड डलरभन्दा बाहेक छुट्टै रकम पनि खर्च गर्न पाइन्छ । ‘कस्ट अफ लिभिङ’बाहेक प्रत्येक राज्यमा चुनावी प्रचारका लागि दुई लाख डलरभन्दा बढी खर्च गर्न पाइँदैन ।
तर, अमेरिकी राष्ट्रपतिको दौडमा सामेल भएकाहरूलाई यति चुनावी खर्चले मात्र पुग्दैन । यसरी उठाइने चन्दा उमेदवारको व्यक्तिगत र पार्टीको प्रचार कमिटीमा जान्छ । यसको सबै हिसाबकिताब निर्वाचन आयोगलाई बुझाउनुपर्छ । त्यसैले अमेरिकी चुनावमा उमेदवारहरू सरकारलाई विवरण बुझाउने भन्दा विवरण बुझाउन नपर्ने तरिका प्रयोग गर्छन् ।
यसरी चुनाव खर्च जुटाउन उमेदवार वा उसको दल निकट विभिन्न संघसंस्थाले 'प्याक' बनाउँछन् । प्याक अर्थात् पोलिटिकल एक्सन कमिटी (पीएसी), यस समितिले आफ्ना सदस्यबाट रकम उठाउँछ । यसरी उठाइएको चन्दा प्याकले आफ्नो उमेदवारका पक्षमा वा विपक्षी उमेदवारविरुद्ध खर्च गर्ने गर्छन् ।
व्यापारी, श्रमिक र वैचारिक समूहका व्यक्तिहरूले आफूअनुकूल हुने गरी यस्ता प्याक बनाउँछन् । यी संगठन र व्यक्तिले सिधै चुनावमा चन्दा दिन पाउँदैनन् । तर, आफूले उठाएको रकम कुनै उमेदवारको पक्ष वा विपक्षमा खर्च गर्न पाउँछन् । प्याकले पनि आफूले उठाएको रकम राष्ट्रपति उमेदवार वा उसको पार्टीलाई दिन पाउँदैन । त्यसैले यस्ता प्याकले आफूले रुचाएको उमेदवारको पक्षमा काम गर्न यस्तो रकम खर्च गर्छन् ।
सुपर प्याक्स
अमेरिकी निर्वाचनमा सबैभन्दा धेरै खर्च गर्ने समूह हो, ‘सुपर प्याक’ । सुपर प्याक, प्याककै ठूलो रूप हो । अमेरिकी सर्वाेच्च अदालतले सन् २०१० मा सुपर प्याकहरूलाई आफूले रुचाएको उमेदवारको पक्षमा असीमित रकम संकलन र खर्च गर्न सक्ने अधिकार दिएको छ ।
सुपर प्याक्सलाई कुनै पनि व्यक्ति, कम्पनी, संस्थाले असीमित पैसा दान गर्न सक्छन् । यस्ता सुपर प्याकले आफूले संकलन गरेको रकम र खर्चको पूर्ण विवरण पनि बुझाउनुपर्दैन ।
यी सुपर प्याक्सले कुनै पनि उमेदवारसँग मिलेर प्रत्यक्षरूपमा काम गर्न भने पाउँदैनन् । प्याकले जस्तै सुपर प्याकले पनि उमेदवार वा पार्टीलाई आफूले उठाएको रकम दिन पाउँदैनन् । त्यसैले यस्ता सुपर प्याक्सले राष्ट्रपतिको चुनावी अभियानमा खर्च गरेको रकम उमेदवारले खर्च गरेको मानिँदैन ।
चुनावी अभियानको खर्चसम्बन्धी विवरण राख्ने अमेरिकी संस्था 'ओपन सेक्रेट'का अनुसार सन् २०२४ को अगस्ट २० सम्म दुईहजार २५८ वटा सुपर प्याक्सले करिब दुई अर्ब १३ करोड अमेरिकी डलर संकलन गरेका छन् ।
कसरी खर्च गर्छन् सुपर प्याक्स ?
यी सुपर प्याक्सले आफूले संकलन गरेको रकमको ठूलो हिस्सा अलनाइन न्युज पोर्टल, टेलिभिजन, रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालमा आफ्नो पक्षका उमेदवारको विज्ञापनमा खर्च गर्छन् । यस्ता सञ्जालहरूमार्फत विपक्षी उमेदवारमाथि आक्रमण गर्न पनि सुरपर प्याक्सले खर्च गर्ने गर्छन् । यस्तै, मतदाता सर्वेक्षण एवं अनुसन्धानमा पनि यी प्याकले खर्च गर्ने गर्छन् ।
यसरी सुपर प्याक्समार्फत ठूला व्यापारी एवं दाताहरूले आफूले रुचाएको उमेदवारको पक्षमा प्रभावकारी चुनावी अभियान सञ्चालन गर्छन् ।
उमेदवार वा उमेदवार समितिको कोष संकलन (फन्ड रेजिङ)
कुनै पनि उमेदवार चुनावी अभियानका लागि समिति गठन गरेर ठूला तथा साना दाता र संस्थागत डोनेसनबाट पनि पैसा संकलन गर्न सक्छ । उमेदवारले पाँचहजार अमेरिकी डलरभन्दा बढी संकलन वा खर्च गरेपछि उमेदवार समिति दर्ता गर्नुपर्छ । उमेदवारको समितिले संकलन र खर्च गरेको रकमको विवरण नियमितरूपमा निर्वाचन आयोगलाई बुझाउनुपर्छ । त्यो विवरणको निर्वाचन आयोगले अडिट गर्छ ।
उमेदवारले आफ्नो समितिमार्फत संकलन गरेको रकम, संकलन गरेको स्रोत, खर्च गरेको र खर्च गरेको ठाउँलगायत विवरण निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिकरूपमा राखिन्छ । ओपन सेक्रेटको तथ्यांकअनुसार डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उमेदवार बनेकी कमला ह्यारिसको समितिले समाचार तयार पार्दासम्म ४९७ मिलियन अमेरिकी डलरभन्दा धेरै रकम संकलन गरिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैगरी, रिपब्लिकनबाट राष्ट्रपति उमेदवार बनेका डोनाल्ड ट्रम्पको समितिले २६४ मिलियन अमेरिकी डलरभन्दा धेरै रकम संकलन गरेको जनाइएको छ ।
यसरी संकलन र खर्च गरेको पूर्ण विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएकाले यो प्रक्रिया निकै जटिल छ । त्यसैले अमेरिकाको राष्ट्रपति उमेदवारहरू ‘प्याक’ र ‘सुपर प्याक’मा बढी भर पर्छन् । झट्ट हेर्दा प्याक र सुपर प्याकको उमेदवारसँग प्रत्यक्ष साइनो नदेखिए पनि यी प्याकहरू उमेदवार वा उसको दलले नै चलाउँछन् ।
आधाभन्दा बढी खर्च ‘मिडिया’मा
अमेरिकी संघीय निर्वाचन आयोगको तथ्यांकलाई आधार मान्दै ओपन सेक्रेटले उल्लेख गरेअनुसार २०२० को चुनावी अभियानमा संकलन भएको चन्दाको ५६.१ प्रतिशत रकम विज्ञापनमा खर्च भएको थियो ।
कसले कति दान गर्न सक्छ ?
सुपर प्याक्सबाहेकको हकमा संघीय निर्वाचन अभियान कानूनले चुनावी अभियानमा कसले कति रकम दान गर्न सक्छ र कति संकलन गर्न पाउँछ भन्ने सीमा तोकिएको छ । चन्दा दान गर्ने र संकलन गर्ने सीमा प्रत्येक दुई वर्षमा मुद्रास्फितिका आधारमा हेरफेर हुन्छ । सन् २०२३/०२४ को निर्वाचनका लागि एक व्यक्तिले राष्ट्रपति उमेदवार वा उसको समितिलाई एक वर्षमा अधिकतम तीनहजार ३०० अमेरिकी डलर चन्दा दिन पाउँछ । यस्तै, व्यक्तिले प्याकलाई बढीमा पाँच हजार र पार्टी कमिटीलाई ४१ हजार ३०० डलर चन्दा दिन पाउँछ ।
पारदर्शिता कसरी ?
चुनावमा खर्च गर्ने उमेदवार र समितिहरूले उठाउने अरबौँ डलरको लेखाजोखामा भने पूर्ण पारदर्शी देखिन्छ । संघीय निर्वाचन आयोगको वेबसाइटमा हजारौँ पेजमा एक रुपैयाँदेखि करोड डलरसम्मका सबै दाताको पूर्ण विवरण छ । यस्तै, उमेदवारले त्यो रकम कहाँ केमा खर्च गर्यो भन्ने विवरण पनि आयोगको वेबसाइटमा छ ।
तर, यसका बाबजुद सुपर प्याक्समार्फत हुने खर्च र चन्दा संकलन भने पारदर्शी देखिँदैन । किनभने यसरी सुपर प्याक्समा चन्दा दिने व्यक्ति वा संस्थाले आफ्नो परिचय गोप्य राख्न पाउने अधिकार छ ।
अमेरिकी संघीय आयकर ऐनअनुसार समाज कल्याणका उद्देश्यले स्थापित कर छुट भएका संस्थाहरूले आफूलाई चन्दा दान गर्ने व्यक्ति वा संस्थाको नाम नखुलाउन पाउँछ । यही कानूनको फाइदा उठाउँदै सुपर प्याक्सले आफूलाई दान दिने व्यक्ति वा संस्थाको परिचय गोप्य राख्छन् । यसरी गुमनाम स्रोतबाट आउने रकमले अमेरिकी राष्ट्रपतीय चुनावमा सबैभन्दा बढी प्रभाव पार्छ । गोप्यरूपमा चन्दा दिन पाउने यो व्यस्थामा चन्दा दिने रकमको सीमा पनि छैन ।
बचेको रकम कहाँ जान्छ ?
चुनावी अभियानका क्रममा संकलन भएको रकम बचेमा त्यो रकम कहाँ र कसरी खर्च गर्ने भनेर अमेरिकी निर्वाचन आयोगले व्यवस्था गरेको छ । यसरी बचेको उमेदवारले आफूले कुनै फाइदा नलिने हिसाबमा परोपकारी संस्थालाई दान गर्न सक्छन् । बचेको रकम पार्टीका विभिन्न कमिटीलाई पनि दिन मिल्छ ।
यस्तै, लिडरसिप प्याक खडा गरेर अर्काे उमेदवार वा आफ्नो राजनीतिक एजेन्डाको पक्षमा पनि यो रकम खर्च गर्न मिल्छ ।
विभिन्न सञ्चारमाध्यमको सहयोगमा