site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्धक्क मिन, सुस्त कथावाचन

बहुपति विवाहित एक गर्भवती महिला (पेमा)ले व्यापार गर्न ल्हासा पुगेर घर नफर्किएका श्रीमान् (टासी)को खोजी गर्दा भोग्नुपरेको कष्टकर यात्रा नै चलचित्र ‘साम्बाला’को कथा सार हो ।

व्यापारका लागि टासी ल्हासा पुग्छन्, यता पेमा गर्भवती हुन्छिन् । टासी घरमा नभएका बेला पेमा गर्भवती भएपछि गाउँलेले उनको कुरा काट्न थाल्छन् । त्यसपछि सुरु हुन्छ पेमालाई टासीको प्रतीक्षा ।

ल्हासा पुगेका सबै गाउँले फर्किन्छन् । तर, टासी फर्किंदैनन् । त्यसपछि पेमा आफैँ निस्किन्छिन् टासीको खोजीमा । त्यसपछि के हुन्छ, यही नै चलचित्रको मुख्य पक्ष हो ।

Dabur Nepal
NIC Asia

मिनबहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’को प्रारम्भ हिमाली भेगमा बस्ने शेर्पा समुदायको संस्कृतिबाट सुरु हुन्छ । बहुपति प्रथामा दुई वा सोभन्दा धेरै व्यक्तिसँग विवाह हुँदा युवतीले कसरी घर बसाउँछिन् देखाउँदै निर्देशक मिनले सिनेमा अगाडि बढाउँछन् ।

पेमा (थिन्ले ल्हामो)ले तीन पुरुषसँग एकसाथ बिहे गरेकी छन् । टासी (तेन्जिन दल्ह), कर्मा (सोनाम तोप्देन) र दावा (कर्म वाङ्याल गुरुङ) पेमाका श्रीमान् हुन् । तीन श्रीमान्सँग पेमा कसरी बस्छिन्, यही नै चलचित्रको कौतूहल पक्ष हो ।

चलचित्र निकै धिमा गतिमा अगाडि बढ्छ । नेपाली ‘कमर्सियल’ सिनेमा र बलिउड फर्मुलाका भारतीय चलचित्र हेरिरहेका दर्शकलाई ‘साम्बाला’को पेस निकै स्लो लाग्छ ।

मिनलाई हिमालको फेदीमा चिसोसँग संघर्ष गरेर जीवन व्यतीत गरिरहेका मानिसको दैनिकी देखाउनु छ । देखाउँछन् । न उनलाई कथा भन्न हतार छ न बजारको डर । आफ्नै धुनमा कथा भनिरहन्छन् ।

बजारमा फास्टकट तीन गीत, तीन फाइट, आकर्षक जिउडालका हिरोहिरोइन र बलिष्ठ शरीरको एन्टागोनिस्ट भएका चलचित्र चल्छन् भन्ने छ । (भलै, यो समीक्षा र बहसको विषय हो ।) 

नेपाली चलचित्र रेडियो नाटकजस्ता बोलिरहन्छन् । अर्थात्, लेखकले संवादको ओइरो लगाउँछन् । यसबाट ‘साम्बाला’ मुक्त छ । लामालामा सट छन् । तर, त्यही नै यसको विशेषता हो । कथ्यशैली आफ्नै हुनुपर्छ भन्ने मान्यताको उनले विकास गर्न खोजेका छन् ।

संवाद थोरै हुँदाहुँदै केही संवाद छन्, जो दृश्यले देखाइरहँदा पनि पात्रले बोल्छन् । सिनेमाको सुरुमा यो समस्या देखिन्छ । अधिकांश नेपाली चलचित्रमा निर्देशकभन्दा पात्र हावी हुन्छन् । ‘साम्बाला’मा निर्देशक हाबी हुन्छन् । जसका कारण पात्र निरीह छन् । जुन पात्रलाई जहाँ जतिबेला चाहियो निर्देशक त्यहीँ पुर्‍याउँछन् । पेमालाई हिमाल लैजानु पर्‍यो, लगे । रगत देखाउनु पर्‍यो देखाइदिए । रगत देखाइदिएपछिको निरन्तरतालाई उनले देखाउन आवश्यक ठानेका छैनन् । 

विवाह, दैनिक जनजीवन, मृत्युपछिको संस्कार उनी ढुक्कले देखाउँछन् । उच्च हिमाली क्षेत्रको कथा र परिवेश छ । चिसो ठाउँको चिसै कथा भन्छन् निर्देशक ।

चलचित्र नेपालको तल्लो बेल्टमा बसेका अक्सर बहुसंख्यक नागरिकले नदेखेको परिवेश र कथामा बनेको छ । नेपाली दर्शकको टेस्ट के हो भन्ने डर निर्देशकमा छैन । उनको चलचित्रले दर्शकले मेकरको होइन, मेकरले दर्शकको टेस्ट बदल्ने हो भन्ने सिद्धान्तबाट ‘गाइडेड’ भएको देखाउँछ ।

सिनेमामा उनले एउटा गजबको विम्ब प्रयोग गरेका छन्, सुरुदेखि अन्त्यसम्म – चलचित्रका पात्रको अगाडि पहाड वा हिमाल । चलचित्र सुरु भएदेखि अन्त्यसम्म प्रायः मुख्य पात्रको अगाडि अग्लो हिमाल होस् वा अजंगको पहाड उनले देखाएका छन् ।

हिमाली उच्च बस्तीका मानिसको संस्कृति र मन हिमालजस्तै जति निष्कलंक र स्वच्छ लाग्छ, त्यति नै जनजीवन अग्लो पहाडजस्तै कठिन पनि छ भन्ने विम्बका रूपमा हरेक दृश्यमा पात्रसँगै आउने पहाड र हिमाललाई बुझ्न सकिन्छ । यसले सिनेमालाई सुन्दर मात्र बनाएको छैन, अर्थपूर्ण र दार्शनिक पनि बनाएको छ । यो विम्ब प्रयोग गर्दा एकातिर सुन्दर पठार, पहाड र हिमालका दृश्य छुटेका छैनन्, अर्कातिर पात्रले भोगिरहेको पीडा, यात्रा र क्रियाकलाप छ ।

चलचित्रका मुख्य पात्रहरू चिसो काट्न (छल्न) आगो बालेर तापिरहन्छन् । यो सहज जिन्दगी खोज्ने र कष्टकर दैनिकीदेखि पार पाउन गरिने मानवीय स्वभावको विम्ब हो । चलचित्रको अर्को पात्र हो, नाम्खा – जुन निकै छटपटे छ । बेलाबेलामा भागिरहन्छ । पेमा ठूलो पीडाबीच सधैँ शान्त छे । तर, नाम्खा बिनाकारण उन्मुक्ति चाहन्छ । यसलाई टासीको चरित्रसँग जोडेर हर्न सकिन्छ । तर निर्देशकले एकै प्रकृतिका दुई चरित्रको फरकफरक जीवन र परिणाम देखाएका छन् ।  

समाजसँगै सिनेमाले तत् समाजको अर्थतन्त्रको कुरा गरेको छ । धर्मप्रतिको आस्था र विश्वास तथा अनुशासनको कुरा देखाएको छ ।

सिनेमाकी मुख्य पात्र पेमा यति धेरै आत्मविश्वासी र दृढ छिन्, तर उनले आफू सही बाटोमा रहेको प्रस्ट पार्नुपर्छ भन्ने निर्देशक आवश्यक ठान्दैनन् । त्यहीँकी स्थानीय पेमाले नदेखेको र पहिचान समेत गर्न नसकेको ठाउँमा एक्कासि काठमाडौंबाट गएका राम सर कसरी सहजै पुग्न सके ? यसमा निर्देशकले सिनेम्याटिक लिवर्टी लिन खोजेका छन् । बिदा माग्ने अनकन्टार भूगोलमा एक्लै पुग्ने उनी किन आफ्नो कारणले पीडा भोग्न बाध्य पेमाबारे बोल्दैन ? यो निर्देशक र लेखकलाई गर्न सकिने प्रश्न हो ।  

सिनेमाको कथा रियल होस् वा नहोस्, तर ‘साम्बाला’मा सत्यको नजिक रहेको कथा भनिएको प्रस्टै देखिन्छ । त्यसैले केही स्वैरकल्पनालाई अझ कम गरेको भए हुन्थ्यो भन्ने लाग्छ ।

अभिनयमा कलाकारले राम्रो काम गरेका छन् । ननएक्टरलाई लिएर काम गर्नु मिनको विशेषता नै हो । उनले ननएक्टरबाटै चाहिएजति काम लिएका छन् । व्यावसायिक एक्टर कर्मा शाक्य (राम सर) भने खुल्न सकेका छैनन् ।

सिनेमेटोग्राफी ‘साम्बाला’को सबैभन्दा राम्रो पक्ष हो । सिनेमा दृश्य भाषा हो । दृश्यमार्फत कथा भन्नुपर्छ भन्ने चेतलाई भरपुर प्रयोग गरेका छन् । हरेक दृश्यले कथा भन्नुपर्छ भन्ने मान्यतालाई उनले समात्ने प्रयास गरेका छन् ।

हिमालका सुन्दर दृश्य नसकिऊन्झैँ लागिरहन्छ । अग्ला पहाड र सुन्दर पठारलाई पात्रको पृष्ठभूमिमा राखेर मिन दृश्यमा खेलेका छन् । ‘साम्बाला’को सबैभन्दा लोभलाग्दो पक्ष नै सुन्दर दृश्य हुन् । आँखा नबिझाउने हिमाली दृश्य देखाउन निर्देशक क्यामेरा स्थिर राख्न खोज्छन् । तर, ती दृश्यले नै मन खिच्छ ।

साउन्ड र ब्याकग्राउन्ड स्कोरले सिनेमामा प्राण भर्ने काम गरेको छ । नेपाली चलचित्रमा सधैँ कर्कस र कानै खाने ब्याकग्राउन्ड स्कोर हुन्छ । यो समस्याबाट ‘साम्बाला’ धेरै टाढा छ । नेपाली सिनेमाको ब्याकग्राउन्ड स्कोरबाट दिक्क दर्शक यो सुन्नका लागि मात्र हलमा जाँदा पनि केही फरक नपर्ला ।

निर्देशकले कलर र लाइटमा मजाले काम गरेका छन् । दृश्यानुसारको कलर र लाइटले सिनेमालाई उचालेको छ ।

‘साम्बाला’ बलिउड फर्मुलाका सिनेमा हेर्ने, सलमान र शाहरुख खानका सिनेमा मात्र सिनेमा हुन् भन्ने, अनमोल केसी र पल शाहका सिनेमा हेर्न हत्ते गर्ने दर्शकका लागि बनेको चलचित्र होइन ।

यो चलचित्र दृश्यभाषा हो भन्नेहरूका लागि हो । स्लो पेसका चलचित्र हेर्न नसक्नेका लागि पनि यो चलचित्र होइन । ‘साम्बाला’ हरेक सिनेमा ‘इन्डिभिजुअल’ हुन्छ भनेर ढुक्कले स्वीकार गर्ने दर्शकका लागि हो ।

० ० ०

निर्देशक/निर्माता : मिनबहादुर भाम
लेखक : मिनबहादुर भाम/अभिनाशविक्रम शाह 
कलाकार : थिन्ले ल्हामो, तेन्जिन दल्ह, सोनाम तोप्देन, कर्म वाङ्याल गुरुङ, कर्मा शाक्य आदि 
जानरा : ड्रामा, एड्भेन्चर
भाषा : डोल्पो (नेपाली सबटाइटल) ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro