site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धुजाधुजा हुँदैनन् समयका पदचापहरू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गडगडाएर तीव्र हुँकारले कुर्लिंदै, उर्लिंदै वेगले फाल हाल्दै उछिन्दै यौटा भेल समयको नेटो काट्न उद्दत । गडगडाएर कहाँ हुनु, हडबडाएर झन् कहाँ काम बन्नु ! धैर्यले बटुल्दै साहसका उरुङखात साहसी जाँगरहरू, धर्म र कर्मले अलिकति ममताले ओतप्रोत हुँदै लक्ष्यमा उन्मुख जीवन–घाम ।

कदापि पनि धुजाधुजा, चकनाचुर हुँदैनन् समयका पदचापहरू । तिनमाथि कसैले जतिसुकै कठोर प्रहार प्रयोग गरे पनि । बेग्लै अस्तित्व र उपस्थिति स्थापित भइसकेको हुन्छ । तोडेर ऐननियमलाई, मिचेर परम्परागत मान्यतालाई त्यहाँ नवसाम्राज्य खडा गर्न कहाँ सकिन्छ र ?

सुकिलो श्वेत क्यानभासमा फोहोरी हिलोले छ्यापेर निरन्तरताको क्रमभंग गर्न समय पर्खिनुपर्छ । छिनभरमै कालो रातको पर्दा खोलेर उज्यालो दिन कहाँ आउँछ र ! त्यही उज्यालो दिन पनि ढलेर निस्लोट रातको अँधेरीमा इन्तु न चिन्तु भई मस्त निदाउन पुग्छ । निदाएको आँखालाई बिउँझाउनु हुँदैन । बिउँझिएको ज्यानलाई सुताउने कोसिस पनि गर्नु उचित होइन । स्वतः सपना देख्न सकिने हुनुपर्छ । स्वयम्मा जीवनबोधको चेतना जागृत हुनुपर्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘तातै खाऊँ, जल्दै मरूँ’ भनेर कहाँ हुनु ? हतपतको काम लतपत हुनसक्छ । हतारमै अलमल हुन्छ । कतै जाने हतारमा कैयौँ सरसामानहरूको जतनजगेडामा ध्यान भंग भइरहेको हुन्छ ।

जुन सामान छुट्ला भन्यो आखिर त्यही सामान कतै हराइरहेको हुन्छ । अनि, खोज्नुको हैरानीमा अन्य तमाम कामहरू अस्तव्यस्त हुन पुग्छन् ।

Royal Enfield Island Ad

कोही कसैलाई कहिले पनि समयले पर्खिंदैन । समय पछाडि फर्किंदैन । तर, समयले साथ दिँदा असम्भव भन्ने केही हुँदैन । समयलाई चिनिएन र बुझिएन भने समयले टाप ठोक्छ ।

समयले लगाम पक्रिसकेपछि बेतोडले गति तीव्र भएर जान्छ । त्यसपछि समयलाई भेट्न गाह्रो हुन्छ । समयलाई समातेर समयसँगै एकसाथ हिँड्दा कतै, कुनै पर्खाइ बाँकी नरहन सक्छ ।

यसरी समयलाई बुझेर समयकै साथ हातेमालो गरेर हिँड्दा समयले अवश्य साथ दिन्छ । समयले साथ दिनु भनेको सफलतानजिकै पुग्नु हो । समयका पदचापहरू पछ्याउँदै जाँदा साँच्चै शिखरमा आनन्द भेटिन्छ, भेटिनुपर्छ ।

त्यसैले धुजाधुजा, चकनाचुर हुँदैनन् समयका पदचापहरू कहिल्यै । बरु, सधैँ ताजापनको तन्दुरुस्त अवस्थामा सचेत पार्दै, सजग राख्दै सबैलाई समयसँगै हिँड्न प्रेरित गर्छ, गरिरहन्छ ।

अन्यथा, समयको पछाडि परेपछि कहाँ पुग्नु पुग्ने ठाउँमा, कहिले सक्नु गर्नुपर्ने कामधाम ? बाँकी रहेपछि कामहरू तिनले चटारोमा पार्छन् बेलाकुबेला ।

अन्ततः समयमै नसक्नुका कति कामहरूले ज्यान खान्छन् । समयलाई चिनेर काम फत्ते नगर्नुका कमजोरीले सताएर, दिमाख तताएर तनावमा पनि पुर्‍याउँछन् । समयलाई चिनेर समयमै काम नसक्नुका फाइदा कम बेफाइदा धेरै हुन्छन् ।

कठिनाइको मोडमा पुगेर कहिलेको हारगुहार निरर्थक साबित हुन पुग्छ । कहिले त्यसले सफलताको चुली पनि टेक्न सक्छ । हारियो भनेर सदाका लागि हारेकै ठान्नु हुँदैन । सफलता टेकियो भनेर फेरि अहम्ले मात लाग्नु हुँदैन ।

एकल निर्णयले हावा खाइसकेको अवस्था छ अहिले । सामूहिक हितका कामहरूले प्राथमिता पाउनुपर्छ भन्ने मान्यता स्थापित भइरहेको छ । यद्यपि, परन्तु, किन्तु, तथापिजस्ता अनावश्यक शब्दहरूकै बगे्रल्तीमा बलमिचाइँ भइरहेको जस्तै राजनीतिमा पनि कम बलमिचाइँ र आफन्तवादको नाता कायम छैन ।

अर्को कुरा, शिष्ट र सभ्य भाषाको मिठासमा अचाक्ली गालीगलौजको घटिया शैलीले नेपाली भाषाकै गरिमालाई घाटा पुर्‍याइरहेको देखिन्छ । जुन कुरा नहुनुपर्ने थियो त्यही हुनु दुर्भाग्य पनि हो । हाम्रो समाजमा यस्तै दुर्भावनाहरूको बढोत्तरी जो भइरहेको छ, त्यो राम्रो होइन । त्यसले कसैलाई पनि फाइदा गर्दैन ।

यसैबीच, राष्ट्रिय सोचविचारको फलिफाप हुनुपर्ने हो । यही कालबेलामा स्वार्थी मनस्थितिहरूको कहालीलाग्दो ठेलमठेल हुन थाल्छ । त्यसपछि कहाँ ‘सर्वहिताय’ को चरित्र चरितार्थ हुन सक्नु ? कहाँ ‘तमसोमा ज्योतिर्गमय’ ले अँध्यारो पाटोलाई उजिल्याउन सक्नु ? त्यहाँ त व्यक्तिस्वार्थले दिनदहाडै कुम्लोकुटुरो भरिभराउ पार्न थाल्छ ।

सकिँदैन रहेछ सोचाइको यात्रामा जिन्दगीका मधुर, स्वप्निल अनि सुखद आयामहरू भित्र्याउन । बरु, रहरहरू केलाउँदै, निफन्दै, छान्दै छङछङ कञ्चन काया–कलेवर जीवनवयको, कतिकति अप्ठ्यारा जँघारहरू छन् तर्नुपर्ने, पुग्नुपर्ने, भेट्नुपर्ने थातथलोका अनाम गोरटाहरू ।

जहाँबाटै ढाकेर धम्मरधुस बसेका ढुंगाहरू पन्छाएर अलिकति मिलाउने गरिएन । पाइलालाई सजिलो र सहज बाटोको सुविधा टाढाकै कुरा भयो । जहाँ कहिल्यै झारपात उखेलिएनन् । झोरझाडी फाँडिएनन् । हिँड्नेहरू कहाँ पुगिसके, नेटो काटेर धेरै टाढा ।

बस्नेहरू, बिसाउने र सुस्केरा फेर्नेहरू अझै उठ्न सकेका छैनन् । जीवनले गोधूलिको समय निम्त्याइसक्यो, तर बिहान बनेर नौलो उत्साहको उल्लासमा हाँस्दै बोल्ने दिन सुदूरअतीततिरै विलीन हुँदै गइरहे, गइरहे ।

च्यातेर धुजाधुजा, धुलोपिठो पार्न सकिँदैन रहेछ समय, सम्झौता र साथसंगतहरूलाई । जहाँ जीवनकै प्रतिच्छाया बनेर अमिट छाप लागिसकेको हुन्छ । यौटा बेग्लै चिनारीको लयमा परिचयको सोपान निर्माण भइसकेको हुन्छ ।

पछ्याइरहने रहेछ छाया बनेर कहिले । सपना भएर कुनै रात । घाँटी नै निमोठ्न आइहाल्ने, जाइलागिहाल्ने रहेछ यो ज्यानमारापन । गतिछाडाले छाडेपछि बाँकी के रहन्छ र ! अनि, मिठो सपनाकै हत्या गरेर अनायास ऐंठन गराउन अग्रसर रहने रहेछ ।

मुस्कानभरि खुसी बोकेर कहिले मायाको आभास गराउने, कहिले रातबिरात सत्तोसरापका सन्देहसँगै मनै तड्पाउने गरी निर्मम झापडले हान्ने । यो मान्छेको जात जति गरे’नि कहिल्यै पुगीसरी नठान्ने असन्तोषी, अपजसी, बैगुनी नै हुँदो रहेछ । ‘गुनको बदला गुन’ हुँदैन यहाँ । ‘नमरी बाँचे अर्को जुनीमा तिरौँला’ भन्ने मानसिकता पनि छैन यहाँ ।

दोष देखाएर साबुनपानीले जति नै पखाले पनि प्रकृतिको रङ पखालिँदैन । जाँदैन उडेर भुंग भई रङ खुइलिँदैन कहिल्यै प्रकृतिको । शाश्वत सत्य त्यसमै छ प्रकृति र जीवनका सनातनी सम्बन्धका सुन्दर सम्झौताका दस्ताबेजहरू ।

आपसी मित्रवत् प्रगाढ सम्बन्धको सिलसिलाले निर्माण गरिदिएको यो संसार ! प्रकृतिको उपस्थितिमा जीवन चलायमान हुन्छ । प्रकृतिको सौन्दर्यमा जीवनले आनन्दको अनेक भावना उत्पन्न गर्छ ।

हिँडेर उकाली र ओराली यस्तै गति हो भने गन्तव्य झन्झन् टाढिँदै जान्छ । पुगेर पुग्न निकै मुस्किल हुन्छ । पार पाउन हम्मेहम्मे नै हुन्छ । कठिनको यो जीवन–यात्रामा भनेजस्तो हुन पनि महाभारतै पर्ने रहेछ ।

परन्तु, दुःख छ भनेर दुःखी मनमा आँसुकै खोलाबाढी बगाएर बस्नु पनि भएन । सुख छ, पुगीसरी सबैथोक छ भनेर अर्कालाई तथानाम बकेर हाँसिरहनु पनि उचित होइन ।

आँसु र हाँसोको संगममा जीवन–नियतिको यात्रा छ । धेरै खुसीमा उचालिनु र दुःखमा पछारिनु पनि गलत छ । समान सद्भाव र सामूहिक भलो नै सबैको समुन्नति हो ।

पखालेर सारा मैलाहरू पानीले तर पखालिन्न रहेछ तनका मैलाधैला दागहरू हर्पिक वा सर्फपानीले जतिसुकै धोए पनि, घोटे पनि ।

प्रकृतिको सौन्दर्यलाई कसैले सिँगार्नु पर्दैन, कहिल्यै धोई पखाल्नु पर्दैन । सिनित्त सफा मनमोहक छटा–छविमा प्रस्तुत ।

अतः मृत्युपर्यन्त समयका डोबहरू रहिरहन्छन् । टुक्रिएर, उछिट्टिएर, भागेर, हराएर वा धुजाधुजा, चकनाचुर भएर कहीँ कतै कहिल्यै जाँदैनन् समयका पदचापहरू । बरु, तिनले इतिहास निर्माण गरिरहेका हुन्छन् ।

प्रेरणा जन्माउँदै प्रभावहरू हुर्काउँदै सप्रेम मानवीय हार्दिकपन लेपन गरिरहेका हुन्छन्, जुन आजको, अहिलेको, तत्कालको आवश्यकता हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro