site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको पहिलो बहस, को देखियो सशक्त ?
SkywellSkywell

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि मंगलबार डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ (राष्ट्रपति पदको बहस) भयो ।

करिब ९० मिनेटसम्म चलेको एबीसी न्यूज प्रेसिडेन्सियल डिबेटमा कमला र ट्रम्पले एकअर्काको नीतिको कडा आलोचना गरेका थिए ।

यसअघि यसैवर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति ट्रम्पबीच पनि राष्ट्रपति पदको बहस भएको थियो । बहसमा बाइडेन कमजोर देखिएपछि डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको उमेदवारमा ह्यारिसलाई अघि बढाएका थिए । बाइडेनले राष्ट्रपतिको उमेदवारबाट आफ्नो नाम फिर्ता लिएर ह्यारिसलाई सहज बनाइदिएका थिए ।

Dabur Nepal
NIC Asia

स्थानीय समयअनुसार मंगलबार राति भएको बहसमा दुई उमेदवार ह्यारिस र ट्रम्पबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, अध्यागमन, अर्थतन्त्र, क्यापिटल हिल दंगा र गर्भपतन जस्ता विषयमा चर्को बहस भएको थियो । बहसमा चीन, रुस, इजरायल र इरान बारम्बार दोहोरिएका थिए ।

बहसको अन्त्यमा, कमलाले भनिन्, “अमेरिकाको भविष्यलाई लिएर ट्रम्प र मेरो विचार पूर्णरूपमा फरक छ । मेरो ध्यान भविष्यमा छ । ट्रम्प विगतमै अड्केका छन् ।”

यदि आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचन ह्यारिसले जिते तेस्रो विश्वयुद्ध सम्भव हुने दाबी ट्रम्पको थियो । “कमला ह्यारिसको नीतिको कुनै अर्थ छैन किनभने उनले विगत चार वर्षमा केही हासिल गर्न सकेकी छैनन् । हाम्रो देश विनाशको बाटोमा छ । सारा विश्व हामीमाथि हाँसेको छ । यदि ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध सम्भव छ,” ट्रम्पले भने ।

बहसका क्रममा ह्यारिस र ट्रम्पले एकअर्कामाथि व्यक्तिगत आक्षेप पनि लगाएका थिए । ह्यारिसले ट्रम्पमाथि चलिरहेको मुद्दा र २०२० को चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेकोमा ट्रम्पमाथि विभिन्न आरोप लगाएकी थिइन् ।

बहसको क्रममा मोडरेटरहरू (मध्यस्थकर्ता)ले ट्रम्पलाई ह्यारिसको जातीय पहिचान, विवादास्पद टिप्पणीको बारेमा प्रश्न गरेका थिए । तर ट्रम्पले प्रश्नलाई बेवास्ता गरे । “उनीहरू के हुन् मलाई मतलब छैन,” ट्रम्पले भने । ट्रम्पले चित्तबुझ्दो जवाफ नदिएपछि ह्यारिसले भनिन्, “यो दुःखद घटना हो । त्यस्तो व्यक्ति राष्ट्रपति बन्न खोज्दै छ जसले सधैँ अमेरिकालाई जातीय आधारमा विभाजित गर्न खोजेको छ ।”

बहसमा को मजबुत देखियो ?
बीबीसी उत्तर अमेरिका संवाददाता एन्थोनी जुर्चरको विश्लेषण :
ह्यारिसले ९० मिनेटको बहसमा ट्रम्पलाई बारम्बार हैरान पारेकी थिइन् । ह्यारिसले ट्रम्पको र्‍यालीमा हुने भीडको संख्या र क्यापिटल हिलमा भएको आक्रमणलाई लिएर र्‍याखर्‍याख पारेकी थिइन् ।

बहसका क्रममा ह्यारिसले ती अधिकारीहरूको पनि नाम लिइन् जो पहिले ट्रम्पसँग थिए र अहिले उनको कडा आलोचना गर्छन् । ट्रम्पलाई ती अधिकारीहरूको बचाउ गर्न ह्यारिसले आग्रह गरेकी थिइन् ।

मतदातासँग प्रत्यक्ष जोडिने मुद्दामा स्पष्ट धारणा राखेको आधारमा हार वा जित मापन गर्ने हो भने मंगलबारको बहसमा ह्यारिस सफल भएको देखिन्छ । ह्यारिस मुद्दालाई आफ्नो पक्षमा हुनेगरी मोड्नमा पनि सफल भइन् ।

बहस अघि बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई धेरै पटक रक्षात्मक अवस्थामा पुर्‍याइन् । ह्यारिसले धेरै तरिकाले व्यंग्य गरिन्, जसको जवाफ दिन ट्रम्प बाध्य भए ।

ह्यारिसले ट्रम्पलाई कमजोर भनेकी छन् । विदेशी नेताहरू ट्रम्पमाथि हाँस्न थालेको पनि उनले बताइन् । ट्रम्पको र्‍यालीका सहभागीहरू थकानका कारण छिट्टै हिड्ने गरेको भनाइ ह्यारिसको थियो ।

धेरैले सोचेका थिए कि ह्यारिस महंगी, आप्रवासन र अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने जस्ता मुद्दाहरूमा कमजोर हुनेछिन् । धेरैजसो मुद्दामा ट्रम्पले आफ्नो प्रहारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेनन् । आगामी दिनमा यो गल्तीलाई लिएर पछुताउन सक्छन् ।

‘ओपिनियन पोल’ (सर्वेक्षण)ले बाइडेन प्रशासनले महंगी र अर्थव्यवस्थालाई जसरी ह्यान्डल गरेको छ त्यसमा धेरै अमेरिकीहरू असन्तुष्ट छन् भन्ने देखाउँछन् । तर, ह्यारिसले यस मुद्दालाई ट्रम्पको प्रस्तावित ट्यारिफतर्फ मोडिदिइन् । ह्यारिसले प्रस्तावित ट्यारिफलाई ‘ट्रम्प बिक्री कर’ बताइन् ।

बहसका क्रममा ह्यारिसको हाउभाउ पनि प्रभावकारी देखियो । राष्ट्रपति पदको बहसको क्रममा जब ट्रम्प जवाफ दिइरहेका हुन्थे तब ह्यारिस उनलाई सिधा हेरी टाउको हल्लाउँदै मुस्कुराएर असहमति प्रकट गरेको देखिन्थ्यो ।  

जब ट्रम्पले ह्यारिसलाई ‘माक्र्सवादी’ भनेर सम्बोधन गरे तब उनले हात आफ्नो चिउँडोमा राखी नबुझेको संकेत गरिन् । तर, अर्थव्यवस्था तथा गर्भपतन जस्ता मुद्दाहरूमा भने सिधा क्यामेरामा हेर्दै ह्यारिसले मतदाताहरूसँग कुरा गरिरहे जस्तो गरेकी थिइन् ।

बहसको पूरै समय ट्रम्प भने ह्यारिससँग आँखा जुधाएर कुरा गर्न खोजिरहेका थिएनन् । ह्यारिसको प्रश्नमा ट्रम्प ह्यारिसतर्फ औंला देखाएर कुरा गरेका थिए । गर्भपतनको मुद्दामा भएको बहसका क्रममा ट्रम्प निकै रिसाए ।

बहसका महत्त्वपूर्ण बुँदाहरू
आप्रवासीको मुद्दा

रिपब्लिकन उमेदवार ट्रम्पले आप्रवासीमाथि केही यस्ता आरोप लगाए जसलाई मध्यस्थकर्ताले नै गलत घोषणा गरे । आप्रवासीहरूले ‘घरपालुवा जनावर खान्छन्’ जस्ता आरोप ट्रम्पले लगाएका थिए । “उनीहरू कुकुर खान्छन् । मानिसका घरपालुवा जनावर खान्छन्,” ट्रम्पले भने । उत्तिखेरै बहसका मोडरेटर डेभिड मुइरले स्प्रिङफिल्डका सिटी म्यानेजरलाई उद्वृत गर्दै यस्तो कुनै प्रमाण नभएको बताए ।

ट्रम्प यत्तिमै रोकिएनन् । उनले अगाडि भने, “मैले टीभीमा मानिसहरूले आफ्नो कुकुरो चोरेर खाइदिए भन्दै गरेको सुनेको छु ।” यसबारे ट्रम्पले एकदमै बढाइचढाइ बोल्ने गरको ह्यारिसले बताइन् ।

उक्त विषयको आधिकारिकता पुष्टि गर्ने क्रममा स्प्रिङफिल्डका अधिकारीले बीबीसीलाई यस्तो भएको हो भन्ने कुनै विश्वसनीय रिपोर्ट नभएको बताए ।

रूस–युक्रेन युद्ध
बहसका क्रममा रुस–युक्रेन युद्धका विषयमा पनि छलफल भएको थियो । ट्रम्पलाई सोधिएको थियो “के तपाईं युक्रेनले युद्ध जितोस् भन्ने चाहनुहुन्छ ?”

यसबारे ट्रम्पले भने, “म युद्ध बन्द होस् भन्ने चाहन्छु ।”

रुस–युक्रेन युद्धले अमेरिकामा पारेको प्रभावबारे पनि ट्रम्पले आफ्नो धारणा राखे । रुस–युक्रेन युद्धमा युरोपले अमेरिकाको तुलनामा निकै कम मूल्य चुकाउनु परेको दाबी उनको थियो ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई राम्ररी चिनेको बताए । ट्रम्पले जो बाइडेनलाई कही नदेखिने अमेरिकी राष्ट्रपति भएको जनाए ।

ह्यारिसले यसको प्रतिवाद गरिन् । उनले भनिन्, “तपाईं बाइडेनविरुद्ध लडिरहनु भएको छैन, मेरोविरुद्ध लडिरहुन् भएको छ ।”

रुस–युक्रेन युद्धको प्रश्नमा ह्यारिसले युक्रेनका राष्ट्रपतिसँग आफ्नो मजबुत सम्बन्ध रहेको दाबी गरिन् । “हाम्रा नेटो सहयोगीहरू धेरै कृतज्ञ छन् कि तपाईं अब राष्ट्रपति हुनुहुन्न । अन्यथा पुटिन किभमा बसेका हुन्थे र युरोपका बाँकी हिस्सामा उनको नजर हुन्थ्यो,” उनले ट्रम्पलाई भनिन्, “पुटिन तानाशाह हुन् ।”

बहसमा क्रममा ट्रम्पले ह्यारिस अहिलेसम्मकै सबैभन्दा खराब उपराष्ट्रपति भएको बताए । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युक्रेन र रुसबीच वार्ता गरेर युद्ध रोक्न ह्यारिस असफल भएको दाबी ट्रम्पले गरे ।

इजरायल–हमास युद्ध
बहसमा ह्यारिसले इजरायल–गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्‍याइन् । “इजरायललाई आफ्नो सुरक्षा गर्ने अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ,” ह्यारिसले भनिन्, “यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ ।”

बहसमा ह्यारिसले इजरायल र हमासबीच युद्धविराम र दुई राष्ट्र समाधानको बारेमा पनि कुरा गरिन् । “यदि म राष्ट्रपति भएको हुन्थे भने यो संघर्ष सुरु नै हुन्थेन,” ट्रम्पले ह्यारिसलाई जवाफ दिए, “ह्यारिस इजरायललाई घृणा गर्छिन् । यदि ह्यारिस राष्ट्रपति भइन् भने इजरायल दुई वर्षमा अस्तित्वमा रहनेछैन ।”

आफू राष्ट्रपति भए इजरायल–हमास समस्या छिट्टै समाधान गर्ने दाबी ट्रम्पले गरे । उनले आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने पनि बताए ।

ह्यारिसले बारम्बार इजरायलको सुरक्षा चासोलाई समर्थन गर्ने दाबी गरिन् । उनले ट्रम्पले गरेको दाबीलाई अस्वीकार गरिन् । ट्रम्पले सत्यताबाट ध्यान भड्काउन खोजेको आरोप उनले लगाइन् । “सबैलाई थाहा छ कि उनी तानाशाह मन पराउँछन् र उनी पहिलो दिनदेखि नै तानाशाह बन्न चाहन्छन्,” ह्यारिसले भनिन् ।

आर्थिक नीतिहरू
बहसको सुरुमै ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् । ट्रम्पले ह्यारिसलाई सोधेका थिए, “के तपाईंलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ ?”

जवाफमा ह्यारिसले आफू अवसर प्रदान गर्ने अर्थव्यवस्था बनाउने योजनामा रहेको बताइन् । “ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाइरहेका छन्,” ह्यारिसले भनिन् ।

ह्यारिसले अगाडि भनिन्, “ट्रम्पले जे भनेका छन् त्यसको आलोचना १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले गरेका छन् । ट्रम्पको योजना लागु भयो भने अर्को वर्ष मन्दी आउने भनाई उनीहरूको छ ।”

ट्रम्पले महामन्दी पछिको सबैभन्दा खराब अवस्थामा देशलाई छोडेको भनाई ह्यारिसको थियो, जति बेला अमेरिकामा ठूलो संख्यामा बेरोजगारी थिए । “हामीले डोनाल्ड ट्रम्पले सिर्जना गरेको अव्यवस्थालाई सफा गर्नुपर्‍यो,” ह्यारिसले भनिन् ।

ह्यारिसले ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक भनिन् । यदि ट्रम्प आए भने प्रोजेक्ट २०२५ कार्यान्वयन गर्ने उनले बताइन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu