विश्वेश्वरप्रसाद कोइराला (बीपी)ले नेपाली कांग्रेसलाई विचार, चिन्तन र प्रयोगद्वारा नेतृत्व प्रदान गरेका थिए । नेपाली कांग्रेसका नेताहरू आज पनि सार्वजनिक मञ्चहरूमा बीपीका विचार, चिन्तन र उनले गरेका विभिन्न प्रयोगको प्रसंशा गरेर थाक्दैनन् । तर जनमानसमा अनभूति हुनेगरी तिनले बीपीको विचार अपनाएको पाइँदैन । बीपीका बारेमा पढ्दा थाहा हुन्छ - बीपी निकै सरल र सहज हुनुहुन्थ्यो । बीपीको जिन्दगी खुला किताबजस्तै थियो । उहाँले जीवन देश र जनताका लागि समर्पित गर्नुभएको थियो ।
बीपीलाई भोगेको पुस्ता नेतृत्वमा हुँदा पनि कांग्रेस बीपीले सोचेजस्तो हुन नसक्नु दुःखको बिषय हो । बीपी राजनीति जनताको हितका लागि गर्ने हो भन्ने मान्यता राख्नुहुन्थ्यो । केही अपवादबाहेक कांग्रेसको अहिलेको नेतृत्वमा 'राजनीति जोगी हुन गरिँदैन' भन्नेहरूको बाहुल्य छ । तिनका जीवनशैली, विचार र व्यवहारले यसको पुष्टि गर्छ ।
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मुख्य आदर्श मानेको छ । कांग्रेसको विधानलगायतका दस्तावेजमा पनि यही लेखिएको छ । प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसले विभिन्न कालखण्डमा महत्त्वपूर्ण योगदान गरेकोमा दुईमत छैन । नेपालमा पटकपटक भएका प्रजातान्त्रिक आन्दोनलहरूमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ । तर के कांग्रेसले प्रजातन्त्रप्राप्ति पछि बीपीको समाजवादी सिद्धान्तलाई कार्यान्वयन गरेको छ त ? कांग्रेस नेतृत्व कहाँनेर चुक्यो ? किन चुक्यो ? अब बीपीको सिद्धान्तलाई कार्यान्वयन गर्दै कांग्रेसलाई अगाडि बढाउन के अप्ठेरो छ भनेर समीक्षा गर्दै नेतृत्वले जवाफ खोज्नुपर्छ ।
वर्षको एक दुई दिन बीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मूल जड हो । कांग्रेसले अब पनि व्यवहारमै बीपीको सिद्धान्त अङ्गीकार गर्न सकेन भने खिइँदै जानेछ ।
एकदिन कुनै कार्यकर्ताले बीपीलाई सोधेछन् - ‘सान्दाजु प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ बीपीले भनेछन् - ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिलामुकिलाहरू हाबी हुनेछन्, तिनले आदर्श बिर्सनेछन्, त्यस्ताकाविरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरूले संघर्ष गर्नुपर्छ ।” बीपी कति दूरदर्शी थिए भन्ने यही उत्तरले पुष्टि गर्छ ।
नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो । बीपीका आर्दश र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिला पार्टीमा हाबी हुँदै गए । पार्टीभित्र डनवाद, धनवाद, नातावाद, कृपावाद, चाकडीवादको प्रभुत्व भएको अनुभूति कांग्रेसका इमानदार कार्यकर्ताले गरेका छन् । तर इमानदार कार्यकर्ताले अझै तिनीहरूविरुद्ध संघर्षगरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो अवश्य हुनेछ र त्यतिबेला कसैले पनि त्यसलाई रोक्न सक्नेछैन । भलै, यसको परिणाम कांग्रेसका लागि निकै दुःखद् हुन सक्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बीपी व्यक्तिमात्र नभएर विचार र सिद्धान्त हो भन्ने मनन गरी बीपीलाई व्यवहारमा नै अनुसरण गर्नु आवश्यक छ ।
बीपीको नेतृत्वमा विसं २०१५ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ स्थान जितेको थियो । सत्तामा पुग्नासाथ बीपीको सरकारले आफ्नो सिद्धान्तलाई लागु गर्न सुरु गरेको थियो । भूमिमाथिको सामन्ती एकाधिकार उन्मूलन, सहकारी आन्दोलनको थालनी, विभिन्न उद्योगको एकीकरण, उपयुक्त कर व्यवस्था त्यतीबेलाको सरकारले सुरु गरेको मुख्य काम थिए । सरकारले बिर्ता र जमिन्दारी प्रथा उन्मूलन अभियान, भूमिहीनलाई भूमि वितरण, मोहियानी अधिकार संरक्षण, राजारजौटा प्रथाको समाप्ति, देशव्यापी रूपमा शैक्षिक प्रगति अभियान, प्रशासनमा आधुनिकीकरणजस्ता परिवर्तनकारी र जनहितकारी अभियान थालनी गरेको थियो । विडम्बना, बीपी कोईरालाले डेढ वर्षभन्दा बढी शासन गर्न पाएनन् । राजा महेन्द्रद्वारा अपदस्थ गरिए । तैपनि बीपी जीवनभर सिद्धान्तमा अडिग रहे ।
कांग्रेस २०४६ सालपछि पटकपटक सत्तामा पुग्यो । पटकपटक बीपीको सपनालाई पूरा गर्ने अवसर पाएको थियो । तर व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ, अपरिपक्व नेतृत्व आदि कारणले कांग्रेस आफ्नो मूल बाटोमा हिँड्न सकेन । आफ्ना आर्दश र सिद्धान्तको कार्यान्वयन गरेर समाजको रूपान्तरण गर्नभन्दा व्यक्तिगत आर्थिक रूपान्तरणमा कांग्रेसका नेताहरू लागे । कांगेस बीपीले सोचेझै अघि बढ्न सकेन ।
अब कांग्रेसले भुलेको प्रजातान्त्रिक समाजवादप्रतिको त्यही निष्ठालाई कार्यान्वयनतर्फ लैजान आवश्यक छ । अहिले पनि कांग्रेस सत्तामा छ । देशको मुख्य कम्युनिस्ट पार्टीसँगको गठबन्धनमा कांग्रेसले बीपीको मार्ग अपनाउन सक्ला या नसक्ला त्यो बहसको विषय हो । यो गठबन्धन आवश्यक थियो कि थिएन भन्ने पनि छुट्टै विषय हो । तर कांग्रेसले आफ्नो मूल सिद्धान्त कार्यान्वयन गर्नेतर्फ अब कदम अगाडि बढाउन अपरिहार्य भइसक्यो ।
आफू पनि केही नयाँ दिन नसक्ने अनि साढे सात दशकअघि बीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्यूहमा फसेको हो । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र बीपीकै आदर्श, नीति र सिद्धान्तको सफल कार्यान्वयन हो । यसमा अब पनि नाफाघाटा, भाइभतिजा, छोराछोरी, बुहारी, पतिपत्नीका व्यक्तिगत स्वार्थमा अलमलिने छुट नेतृत्वलाई छैन । अब इमानदार कार्यकर्ताले पनि बीपीले भनेजस्तै पार्टीभित्रको स्वार्थी, अलोकतान्त्रिक चरित्लाई जरैबाट उखेल्न निर्णायक अग्रसरता लिन आवश्यक छ ।