रामकृष्ण ढकाल
वर्षायामको एक दिन बड्डीलाई सन्चो भएन । घर सहरबजारबाट आठ घण्टाको पैदल दूरीमा थियो । गाडी कराएको आवाजसम्म पनि बस्तीमा आइपुग्थेन । वैज्ञानिक जमानाको कुनै यान्त्रिक आवाज भनेको कुनैकुनै दिन हावागाडी कराएको सुन्ने मात्र हो ।
बिहान चाँडै उठेर गोठका वस्तुभाउको धन्दा गरी जहान केटाकेटीलाई खाना बनाएर छोपछप पारी अर्थ्याउनु पर्ने र अह्राउनुपर्ने सबै गरिसकेर बड्डा जोईका लागि औषधि लिन भनेर सहरतिर लागे ।
उनी समयमै सहर पुगे । औषधि पसल खोजे । त्यहाँका मान्छेलाई बड्डीको बेथाबारे बेलीविस्तार लगाए ।
पसलको कारिन्दाले बड्डाले भनेअनुसारको लक्षणका लागि औषधिहरूको पत्ता र सिसी निकाली सेवन विधि बुझाई झोलामा राखेर दियो । बड्डा गाउँतर्फ रमाना भए ।
भरे घर पुग्नैपर्छ । नत्र गोठका र भोकका धन्दा सघाउने कोही छैनन् । केटाकेटी सानै छन् । बड्डी बिरामी । बड्डा सकेसम्म छिटो घर पुग्ने सोचमा पाइला चालिरहे ।
दिउँसो बड्डा सहरमा भएको बेला बाटो वरपरका डाँडापाखामा ठूलो वर्षा भएछ । खोलाहरू बेसरी बढेछन् । करिब तीन घण्टा हिँडेपछि आइपुग्ने लद्दुखोलो वारपारसम्म भएछ र किनारको रुख लडाएछ ।
न बास बस्ने ठाउँ छ न खोलो तर्न नै सकिन्छ । खोलोमा कुनै पुल छैन । भएको एउटा तुइन परार सालै बगिसक्यो ।
त्यही बेला लाहुरेजस्ता देखिने केही यात्रु आए । एकछिन सबै रोकिए ।
बड्डाले बड्डीको अवस्था, साना केटाकेटी, वस्तुभाउ सबै सम्झिए । खोलाले लडाएको रुखको आड लिएर खोलो तर्ने कोसिस गरे ।
तर दुर्भाग्य, उनी खोलोसँगै बगे ।
लाहुरे आफूले बोकेको रेडियोमा त्यतिखेरै नेताहरूको छलाङ, वैज्ञानिक युगको विकास, प्रविधिका कुरासहित बढाइचढाइयुक्त चर्को भाषण सुन्दै आँसु झारिरहेका थिए । ती उभिन नसकेर हिलोमै थुचुक्क बसे ।
(चितवन)