site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं प्लाजाबाट बन्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी 

काठमाडौं । उपत्यकाको फोहोरमैला व्यवस्थापन र ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । काठमाडौंको फोहोरमैला नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आइरहेको छ । काठमाडौं महानगरको संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । 

साइटमा प्रवेश गर्ने सवारीसाधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए । उनले भने, “स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो ।” 

Argakhachi Cement Island Ad

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएको छ ।  

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराबाट साइटको निगरानी गर्न थालिएको छ । पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, “यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।”

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्