
काठमाडौं । किलियन एमबाप्पेप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसविरुद्ध २–० को जित निकालेको छ । सोमबार घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलउान दुवै गोल एमबाप्पेले गरे ।
रियालले पहिलो हाफमा बेटिसको रक्षापंक्ति तोड्न संघर्ष गरेको थियो । दुवै गोल रियालले दोस्रो हाफमा गरेको हो ।
६७औँ मिनेटमा एमबाप्पेले रियाललाई अग्रतामा राखेका थिए । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट रियाल मड्रिड आएका एमबाप्पेको यो पहिलो ला लिगा गोल समेत हो । त्यसको आठ मिनेटपछि प्राप्त पेनाल्टीलाई एमबाप्पेले नै सदुपयोग गरेपछि रियालले २–० को जित पक्का गर्यो ।
जितसँगै चार खेलबाट आठ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियाल शीर्ष स्थानको बार्सिलोनाभन्दा चार अंकले पछाडि छ । तीन खेलबाट दुई अंकको बेटिस १७औँ स्थानमा छ ।