
काठमाडौं । दृष्टि न्युज अनलाइनका प्रकाशक र सम्पादकलाई अदालतको अवहेलना मुद्दामा जनही २५ हजार धरौटीको आदेश भएको छ । विशेष अदालतका सबै न्यायाधीश सम्मिलित इजलासले बिहीबार दृष्टि न्युज अनलाइनका प्रकाशक शम्भुलाल श्रेष्ठ र सम्पादक मानप्रसाद लिम्बूलाई जनही २५ हजार धरौटी राख्न आदेश दिएको छ ।
बिहीबार बयान सकेर विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, तथा सदस्य न्यायाधीशहरू तेज नारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले यस्तो आदेश जारी गरेको हो ।
विशेष अदालतमा सेटिङमा फैसला भइरहेको तथा विचौलियालाई पेनड्राइभ आदेश/फैसला बाड्ने गरिएको भन्दै लेखिएको समाचारमा अदालतले सुमोटो अवहलेना मुद्दा अघि बढाएको थियो ।
गत असार ८ गते दृष्टि न्युजले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा तीन महिनामै सफाइ’ शीर्षकको समाचारमा अवहेलना मुद्दा चलेको हो ।
विशेष अदालतका कर्मचारी नवराज सापकोटासहितले अवहेलना निवेदन तयार पारेका थिए । सबै न्यायाधीश रहेको इजलासले १० असारमा गरेको प्रारम्भिक सुनुवाइमा प्रकाशक, सम्पादक र समाचारका संवाददातालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।
आदेशअनुसार १२ गते नै प्रकाशक र सम्पादक हाजिर भएका थिए । सम्पादकले नै जिम्मेवारी लिएपछि संवाददाता उपस्थित हुनु नपर्ने पनि आदेश भएको छ । यसअघि समाचारका विषयमा परेको मुद्दामा अधिकांश समाचार हटाउने आदेश हुने गरेकामा विशेष अदालतले भने अर्को आदेश जारी नभएसम्म समाचार नहटाउन र कुनै पनि स्वरूप परिवर्तन नगर्न पनि आदेश दिएको छ ।
प्रकाशक श्रेष्ठले इजलासमा उल्लेख गरेका साक्षीलाई बकपत्रका लागि असार १५ गते उपस्थित हुन आदेश भएको छ । बिहीबार सुनुवाइमा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा विजयप्रसाद मिश्र एमिकस क्युरीको रूपमा बहस गरेका थिए ।
गम्भीर विषयमा निर्णयका लागि अदालतको एमिकस क्युरी (अदालतको सहयोगी) लिने गर्छ । बिहीबार नै अदालतले बार अध्यक्षलाइ तीनजना एमिकस क्युरी पठाउन आग्रह गरेको छ ।