
काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अमेरिकामा जुन १४ देखि सुरु भएको प्रतियोगिताले शुक्रबार बिहान भएका समूह चरणका अन्तिम चार खेलपछि अन्तिम–१६ मा प्रवेश गर्ने १६ टोली पाएको हो ।
शुक्रबार भएको चार खेलमा अल हिलालले पाचुकाविरुद्ध २–०, रियाल मड्रिडले आरबी साल्जबर्गविरुद्ध ३–० को, वाइदाद एसीले अलविरुद्ध अल एइनले २–१ र म्यानचेस्टर सिटीले युभेन्ट्सविरुद्ध ५–२ को जित निकाले ।
प्रतियोगितामा सहभागी कुल ३२ टिममध्ये १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा बाँकी १६ टिम यात्रामा भने पूर्णविराम लागेको छ । सहभागी ३२ टोलीलाई प्रत्येक समूहमा चार टोली रहने गरी आठ समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगिताको समूह ‘ए’बाट ब्राजिलियन क्लब पाल्मेरस र मेजर सकर लिगको टोली इन्टर मियामीले अन्तिम–१६ को यात्रा तय गरेका छन् ।
प्रतियोगिताको समीकरणअनुसार, अब समूह विजेता पाल्मेरसले समूह ‘बी’को उपविजेता बोटाफोगाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’बाट विजेता बन्दै अन्तिम–१६ को यात्रा तय गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले समूह ‘ए’को उपविजेता इन्टर मियामीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
समूह ‘सी’ बाट पोर्चुगिच क्लब बेन्फिका र जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले प्रि–क्वार्टरफाइनल यात्रा तय गरेका छन् । समीकरणअनुसार, अब बेन्फिकाले क्वार्टरफाइनल प्रवेश गर्न समूह ‘डी’को चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘डी’को विजेता फ्लेमिंगोले बायर्नसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘ई’बाट इटालियन क्लब इन्टर मिलान र मोन्टेरीले अन्तिम–१६ को यात्रा तय गरेका छन् ।
समूह ‘एफ’बाट जर्मन क्लब बोरुसिया डर्टमन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्सले प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । अब क्वार्टरफाइनल प्रवेश गर्न इन्टरले फ्लुमिनेन्स र मोन्टेरीले बोरुसिया डर्टमन्डविरुद्ध खेल्नुपर्ने समीकरण बनेको छ ।
प्रतियोगिताको समूह ‘जी’बाट युभेन्ट्स र म्यानचेस्टर सिटीले प्रिक्वार्टरफाइनल यात्रा तय गरिसकेका छन् । यो समूहबाट सिटीले समूह विजेता र युभेन्ट्सले उपविजेताको रूपमा अन्तिम–१६ मा स्थान बनाएका हुन् ।
‘एच’बाट रियाल मड्रिड र एसियाली टोली अल–हिलालले आरबी साल्जबर्ग र अल–हिलालले प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।
अब क्वार्टरफाइनल प्रवेशका निम्ति रियालले युभेन्ट्स र अल–हिलालले सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल शनिबारदेखि सुरु हुने तालिका छ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई ब्राजिलियन टोली पाल्मेरस र बोटाफोगाबीच प्रतिस्पर्धा हुनेछ ।