site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
इतिहासअघिको इतिहासले ढाँट्दैन
SkywellSkywell

(मानवशास्त्री तथा लेखक डा. सुरेश ढकालले नेपाली भाषामा पहिलो पुस्तक बजारमा ल्याएका छन्, ‘इतिहासअघिको इतिहास’ । समयसमयमा फुटकर लेखरचना पाठकसामु पस्कँदै आएका उनी त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्छन् । अंग्रेजीमा उनका यसअघि तीन पुस्तक प्रकाशित छन् । राजनीतिक मानवशास्त्रमा विद्यावारिधि उपाधि हासिल डा. ढकालसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।)

अहिले आएर ‘इतिहासअघिको इतिहास’ किन आवश्यक ठानियो र किताबका रूपमा ल्याउनुपर्‍यो ?
यो नाम मात्रै होइन, इतिहासअघिको इतिहास नै हो – जसलाई अंग्रेजीमा प्री–हिस्ट्री भनिन्छ । हामीकहाँ यसलाई प्रागइतिहास भनिन्छ । यसमा मान्छेकै विगतका बारेमा उल्लेख गरिएको छ । अझै यसलाई लेख्य परम्पराभन्दा अगाडिको इतिहास भन्दा पनि हुन्छ ।

इतिहासमा मान्छेको विगत दस्तावेजीकरण गरिन्छ । तर, लेख्य इतिहासभन्दा अगाडिको विगत पनि इतिहास नै हो नि । त्यसैले यसलाई इतिहासअघिको इतिहास भनिएको हो ।

Dabur Nepal
NIC Asia

जहाँसम्म किताब किन भन्ने कुरो छ, सबैभन्दा पहिले त हामी को हौँ, हामी कुन बाटो हिँडेर, कुन सन्दर्भ पार गरेर यहाँसम्म आयौँ र कुनखाले ऐतिहासिक प्रक्रियाको उत्पादन हौँ भन्ने थाहा पाउनै यो किताब लेखिएको हो । मानिसलाई जति आफ्नो विगत र यहाँसम्मको यात्राका बारेमा थाहा हुन्छ, उसले आफूलाई अझै राम्ररी बुझ्न सक्छ । त्यसपछि उसले भविष्यका बारेमा पनि आकलन गर्न सक्छ भन्ने मेरो विश्वास हो ।

म मानवशास्त्रको विद्यार्थी हुँ । र, यो मानवशास्त्रको विषयवस्तु भएको कारण मैले जानेबुझेका केही कुरा अन्य मानिसलाई पनि उपयोगी हुनसक्छ भनेर यो किताब लेखेको हुँ ।

यस किसिमको किताब लेख्ने सोच कसरी आयो ?
हेर्नुस्, मानवशास्त्रमा संस्कृति पनि जोडिन्छ । मानवशास्त्रको विषयमा संस्कृति पनि पढाइन्छ । त्यसैले संस्कृतिको विकास, उद्भव, त्यसको परिवर्तन कसरी हुँदै आयो, हामीले संसारमा देखेका संस्कृतिहरूको आदिस्वरूप कस्तो थियो, कस्ताखाले परिघटनाले मानव संस्कृति र सभ्यताको निर्माण हुँदै आयो भन्ने विषयमा आममानिसलाई पनि रुचि हुनुपर्छ भन्ने मलाई लाग्यो । त्यसपछि नै मैले यो किताब लेख्ने सोचाइ बनाएँ र किताबको तयारी गरेँ ।

इतिहासअघिको इतिहास खोज्नु त कठिन काम होला नि ! कसरी गर्नुभयो ?
सजिलो पक्कै होइन । यो काम कठिन काम नै हो । तर के भने, मानवशास्त्रीय पुरातत्त्वका आधारमै यो किताब आएको हो । इतिहास भनेको लेख्य दस्तावेज हो । तर, त्यसभन्दाअघि लेख्य दस्तावेज नभएको अवस्थामा हामीले अध्ययन कसरी गर्ने भन्ने आउँछ । मानिसहरूले बनाएका र उपयोग गरेका वस्तु, शिल्पकृति तथा भौतिक पदार्थ जुन पृथ्वीको गर्तमा रहे, तिनलाई पुरातत्त्वविद्हरूले पुरातात्त्विक सन्दर्भबाट उत्खनन गरे । त्यसको व्याख्या गरे । हामीले त्यसकै आधारमा इतिहासभन्दा अगाडिको इतिहास पढ्ने हो ।

वास्तवमा यो कठिन र जटिल काम हो । यो मैले आफैँले प्राथमिक उत्खनन र सूचनाका आधारमा लेखेको होइन । यो त अरूले उत्खनन गरेर लेखेका आधारमा मैले तयार गरेको किताब हो । तथापि, यो काम जति कठिन हुन्छ, त्यति नै रोमाञ्चकारी पनि हुन्छ ।

उदाहरणका लागि आगोलाई लिऊँ । आगो प्रकृतिमा छ, तर आगो कसरी बल्यो, आगोलाई कसरी उपयोग गर्ने भन्ने विषयमा मानिसलाई थाहा थिएन । आगोको त्रास पनि उस्तै थियो होला । त्यस्तो अवस्थालाई छिचोल्दै मानिसले आगोलाई आफ्नो वशमा पार्न जाने । वशमा पारेपछि आगोको प्रयोग गरेर खाना पकाउन जाने । राति उज्यालोमा हिँड्न सक्ने भए । आफ्नो गुफालाई आगो बालेर न्यानो बनाउन सक्ने भए । जंगली जनावरलाई आगो देखाएर डराउन सक्ने भए ।

यसरी आगोबाट डराइरहेका मानवले प्रकृतिमाथि काबु गर्न सके । आजभन्दा २० लाख वर्षअघि मानिसले यस्तो काम गरे भनेको सुन्दा र पढ्दा हरेकलाई रोचक लाग्छ ।

वास्तवमा प्रागइतिहासका प्रत्येक कुरा त्यतिकै रोमाञ्चक छन् । तथापि, यसको लेखन जति कठिन हुन्छ, त्यतिकै रुचिपूर्ण र रोमाञ्चक पनि हुन्छ भन्ने मलाई लाग्छ ।

अहिले हामी दाल, भात, तरकारी खान्छौँ । हाम्रो दैनिक खान्की यही हो । भात हाम्रो पहिचान भएको छ । तर, नेपालको जति लामो इतिहास छ, चामलको इतिहास त्यति लामो छैन । अझै गहुँ र आलुको इतिहास झनै नयाँ छ । हामीले आलु खान थालेको हजार वर्ष पनि भएको छैन ।

हामीलाई अहिले जे कुरा स्वाभाविक लाग्छ, पहिले त्यही ‘ओहो !’ भन्ने अवस्थाको थियो । मानिसले खेती गर्न जाने, १०–१२ हजार वर्षअघि । हाम्रोमा त्यो पाँच–छ हजार वर्षअघि आइपुग्यो । सोच्नुस्, अब यायावरी जीवन निर्वाह गर्ने, खोजी गर्दै सिकार गरेर खाने त्यस बेलाको जीवन कस्तो थियो होला ? पछि तिनले खेती गर्न जानेपछि कसरी अघि बढे होलान् ? सोच्दै पनि रोमाञ्चपूर्ण लाग्छ नि !

त्यो समयमा मानिस सिकारयुगमा थिए । आआफ्नो झुन्डमा बस्थे । मानिसले क्रमशः सिकार परम्परा उन्नत बनाउँदै लगे । पछि ठूलो समूहमा बस्न थाले । यसरी ती फरकफरक पर्यावरण र परिवेशमा बस्ने हुँदै बसाइँ सर्दै गए । पछिपछि शारीरिक र मानसिक रूपमा विकसित हुँदै त्यहीअनुरूप बस्दै गए । यस्ता विषय जानकारीमूलक हुनुका साथै रोमाञ्चक पनि लाग्छन् ।

तर, त्यसका प्रमाणहरू भनेका पुरातात्त्विक वस्तु, तिनले प्रयोग गरेका ढुंगे हतियारहरू नै हुन् – जसको पुरातात्त्विक दृष्टिकोणबाट उत्खनन गरिँदै आएको छ । त्यस्तै प्रमाणहरूबाट यस्ता वृत्तान्त तयार हुन्छन् । यस्तो खोजीको काम मानवशास्त्री, पुरातत्त्वविद् र विभिन्न वैज्ञानिकहरूले गर्दै आएका छन् ।

नेपाल र नेपालीको इतिहास कहिलेदेखि देखिन्छ ?
मानवको इतिहास धेरैअगाडिदेखिको छ । त्यही इतिहासको एउटा अंग नेपाल पनि हो । कुनै बेला एउटा हाँगो फैलिएर बसाइँसराइ गर्दै यो भूगोलसम्म आइपुग्यो र त्यसलाई हामीले आदिपुर्खा भन्यौँ । तर, त्यसका लागि हामीले प्रमाणका आधारमा कुरा गर्नुपर्छ । मिथक वा पुराणका आधारमा कुरा गरेर हुँदैन ।

सबै जाति, जनजाति र आदिवासीहरूको आआफ्नै सृष्टिकथा हुन्छन् । पुराण होलान् वा मुन्धुम, त्यो नै हाम्रो मानव इतिहास यहाँसम्म आइपुग्यो भनेर बताउन पर्याप्त छैन । फेरि, मानवशास्त्रीहरू सामान्यतया सृष्टिको कथामा विश्वास गर्दैनन् । जस्तो, कुखुराको सुली, खरानीजस्ता तत्त्वबाट मानवको सृष्टि भएको हो भन्ने जुन भनाइ छ, त्यसमा विश्वास गरिँदैन । मानवको विकास त एककोशे जीवबाट विभिन्न स्वरूप हुँदै अहिलेको अवस्थामा आइपुगेको हो भन्ने नै हो । अर्थात्, हामी विकासको सिद्धान्तमा नै विश्वास गर्छौं भन्ने हो र त्यसको ठोस प्रमाण भनेको पुरातात्त्विक वस्तुहरू नै हुन् ।

यसअर्थमा हामीले प्राप्त पुरातात्त्विक प्रमाणहरूलाई नै आधार मान्छौँ । एक–डेढ लाख वर्षभन्दा पुरानो बलिया प्रमाणहरू धेरै छैन । त्यस बेला अहिलेको नेपाल पनि थिएन होला । तर, एक–डेढ लाख वर्षदेखि मानिसहरूको गतिविधि थियो भन्ने प्रमाण छ । यो उपलब्ध तथ्यांकको आधारमै भनिएको हो ।

अब पछिपछि पनि उत्खनन हुँदै गयो, प्रमाण उपलब्ध हुँदै गयो भने सायद हामी एक–डेढ लाख वर्षभन्दा अगाडिको समयसम्म जान सक्छौँ होला ।

तिनताक नेपालमा मानिसको बस्ती कुन क्षेत्रमा भएको देखिन्छ ?
नेपालको चुरे क्षेत्र र केही हिमाली क्षेत्रमा मानिसको बसोबास भएको अनुमान गर्न सक्ने स्थिति छ । ती क्षेत्रमा प्राप्त पुरातात्त्विक वस्तुहरूले त्यति अनुमान गर्न सहज गराउँछ ।

नेपालको इतिहास लेखिँदा इतिहासअघिको इतिहास लेखिनुपर्छ भन्ने सोचिएन होला ?
सोचियो होला, किन नसोचिनु ! तर, त्यहाँसम्म सूचनाको पहुँचको कुरा पनि त  आउँछ । नेपालको इतिहास लगभग दुई हजार वर्ष पुरानो देखिन्छ । खासगरी चाँगुनारायणमा मानदेवको जुन शिलालेख छ, त्यो नै यस क्षेत्रको लेख्य प्रमाण हो । हामी जति पनि नेपालको इतिहासको कुरा गर्छौँ, त्यहीँदेखिको हो । त्यसअघि महेशपाल थियो वा गोपाल थियो भन्ने छ, त्यो केही वंशावलीका आधारमा भनिएका कुरा हुन् । यद्यपि, वंशावली मात्र पर्याप्त हुँदैन ।

त्यसभन्दा अगाडि जान उस बेलामा पुरातात्त्विक अध्ययनहरू हुन सकेनन् वा भएनन् । फेरि, अघिल्ला विषयलाई कसरी जोड्ने भन्ने कुरा पनि भएन होला । त्यसैले जेजस्तो लेख्य प्रमाण भेटियो, त्यसै आधारमा मात्रै इतिहास लेखियो ।

यद्यपि, हामी इतिहासअघिको इतिहास अध्ययन गर्नेहरू के भन्छौँ भने इतिहासअघिको इतिहासले ढाँट्दैन, त्यो सही हुन्छ । तर, इतिहासले चाहिँ ढाँट्छ ।

एउटा कुरा के छ भने इतिहास भनेको वर्चस्वशाली समूहले नै लेखाउने हो । किनभने, लेखाउने आवश्यकता पनि तिनलाई नै हुन्थ्यो – पुर्खाको गुणगान गाउन । त्यस बेला लेख्ने मानिस पनि सीमित हुन्थे । त्यस्तो अवस्थामा लेखिएको इतिहास पूर्ण छ भन्न सकिन्न । फेरि, कतिपय अवस्थामा अरू (विदेशी)ले गरेको व्याख्याका आधारमा पनि इतिहास लेख्ने काम नभएको होइन । अब तिनले कति बुझे र कति लेखे भन्ने कुरा पनि त आउँछ नि !

इतिहासअघिको इतिहासको प्रमाण भनेका पुरातात्त्विक अवशेषहरू नै हुन् । ढुंगे हतियार नै हुन् – जसको खोजी र अध्ययन गर्ने काम निरन्तर भइरहन्छ । प्रागैतिहासिक प्रमाणहरूलाई अध्ययन गरिरहन सकिन्छ । त्यसबाट निरन्तर नयाँनयाँ कुरा आइरहन सक्छ । त्यसैले पनि इतिहासले ढाँटछ, इतिहासअघिको इतिहासले ढाँटदैन भनिएको हो ।

यो किताब लेख्न कति समय लगाउनुभयो ?
यो किताब लेख्न केही समय त विश्वविद्यालयबाट बिदामै पनि बसेँ । मलाई लाग्यो, मान्छेका कथाहरू सुनाउनुपर्छ आममानिसलाई । त्यसपछि मैले केही लेखहरू शृंकखलाबद्ध रूपमा लेख्दै गएँ – जुन पाठकले रुचाए पनि । यो मेरो ३० वर्षको रुचि, अनुभव र पठनको परिणाम हो भन्छु । यो किताबलाई मैले सकेसम्म सरल बनाउने कोसिस गरेको छु । मैले आमपाठकका लागि नै यो किताब लेखेको हुँ भन्दा हुन्छ ।

पुस्तकमा पाठकले मूल विषय केके पाउँछन् ?
यसभित्र केन्द्रीय विषयवस्तु तीनवटा छन् । एउटा त सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त नै भयो । किनभने, संस्कृति भन्ने कुरा क्रमशः विकास हुने कुरा हो । त्यो अपरिवर्तनीय हुँदैन । त्यो क्रमशः विकास भएर आउने विषय हो भन्ने यसले बताउँछ । अनि, मानवशास्त्रीहरूले संस्कृतिलाई कसरी व्याख्या गरेका छन् भन्ने देखाउँछ ।

त्यसअतिरिक्त पुरातत्त्व के हो, यसको विधि के हो भन्ने पनि यसमा देखाउन खोजिएको छ । मानवको संस्कृति, सभ्यताको उद्विकासमा कस्तो खालको प्रभाव पार्‍यो होला, अहिलेको हाम्रो संस्कृति र अघिल्लो १० हजार वर्षको संस्कृतिमा जुन खालको फेरबदल आयो – त्यसका मूल कारक र परिघटना के थियो भन्ने पनि यसमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

आजकल पठन संस्कृति कमजोर हुँदै गएको छ भनिन्छ नि !
हामीले अनुमान गरेअनुसार नभएको पक्कै होला । अघिल्लो पुस्ताभन्दा अहिलेको पुस्ता पठनमा कमजोर छ, कम पढेको र बुझेको छ भन्ने पनि होइन । तर, आउँदै गरेको पुस्ताका लागि रुचिपूर्ण हुने गरी हामीले कति लेख्यौँ र कति छाप्यौँ भन्नेतिर पनि सोच्नुपर्छ होला । मेरो विचारमा पाठक लेखकहरूले नै निर्माण गर्ने हो । त्यसतर्फ ध्यान दिइनुपर्छ । पाठकलाई मनोवैज्ञानिक रूपमा तयार गर्ने काममा हामी लेखक, प्रकाशक सबै लाग्नुपर्छ जस्तो मलाई लाग्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu