खोटाङ । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।
पच्चीस वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिए ।
“चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ”, उनले भने, “पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ । यही क्रम नरोकिने हो भने पूरै गाउँ पहिरोमा बग्ने खतरा बढ्दै गएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
हिउँद, बर्खा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट सुरु भएको पहिरो क्रमशः गाउँतिर सरेपछि २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय बासिन्दा विस्थापित भएका थिए । रासस