site stats
बाह्रखरी :: Baahrakhari
देश
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ । प्रत्यारोपण गरेका बिरामी सोमबार १९औँ दिनमा घर फर्किएका छन् । 

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए । 

यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौं मेडिकल कलेजले झिकेका अंगमध्ये एउटा मिर्गौला र कलेजो एकजनालाई र अर्को मिर्गौला अन्य एकजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।

Argakhachi Cement Island Ad

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले अर्की ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको उनले बताए ।

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक डा. श्रेष्ठको नेतृत्वमा डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनको सहयोग लिएर कलेजो प्रत्यारोपण गरिएको हो । 

मिर्गौला प्रत्यारोपणमा डा. दीपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ,  नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मी सहभागी थिए । 

मस्तिष्क मृत्यु  भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । 

एकजना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज, एक सानो आन्द्रा गरी आठजनामा अंग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।
 
मस्तिष्क मृत्युपश्चात्को अंगदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको छ । यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट प्रत्यारोपण हुनसक्ने निर्देशक डा. श्रेष्ठले बताए । उसले देश अंग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने उनको भनाइ छ । 

केन्द्रले ०७३ मङ्सिर २२ मा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । 

नेपाली टोलीबाट ०७५ कात्तिक १२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । 

केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । 

केन्द्रमा १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्