site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीभित्र गुट–उपगुटको शिकार बनेकी रामकुमारी झाँक्री 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा युवा नेतृ रामकुमारी झाँक्री पराजित भइन् ।  पार्टीमा महिला उपाध्यक्षतर्फ उमेदवार बनेकी झाँक्री पराजित भएपछि उक्त विषयले यतिबेला निकै चर्चा पाएको छ । 

नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुमा त्यो विरासत बोकेर आएकी झाँक्रीले चुनाव हार्दा राजनीतिक वृत्तमा बहस भइरहेको छ ।  झाँक्रीले चुनाव हार्दा जयन्ती राई उपाध्यक्ष बनेकी छिन् । उनी पहिले पनि उपाध्यक्ष नै थिइन् । 

विद्रोहमा साथ 

Dabur Nepal
NIC Asia

नेकपा (एमाले)मा रडाको मच्चिँदा माधव नेपालको साथमा रहेका दोस्रो तहका नेताले विद्रोह गर्ने बेलामा उनको साथ छाडे ।  पार्टी विभाजनका लागि दस्तावेज तयार गरेर अन्तिम अवस्थामा पुगेका नेताहरु विभाजनको निर्णयबाट पछि हटेका थिए । 

तर, ०७८ भदौ २ गते निर्वाचन आयोगमा पुग्दा नेपाललाई साथ दिनेमा झाँक्री थिइन् । उनले नेपालको हात समातेर डोर्‍याएको फोटो भाइरल नै बन्न पुगेको थियो ।

तर, पार्टीको पदाधिकारी छान्दा उनले उपयुक्त जिम्मेवारी पाइनन् ।  पार्टीमा सचिव बनेकी थिइन् । एकीकृत समाजवादीमा सचिव सचिवालय बैठकमा समेत बस्न पाउँदैनन् ।  सबै निर्णय गर्ने अधिकार प्राप्त बैठकमा उपमहासचिवसम्म बस्दै आएका छन् ।

उनले सहरी विकास मन्त्री बन्ने अवसर त पाइन् तर, मन्त्रीबाट बाहिरने क्रममा उनले आँसु नै झार्नुपर्ने अवस्था आयो पार्टीभित्रकै गुट उपगुटको शिकारमा त त्यसबेलै परेकी थिइन् ।

पार्टी नेतृत्वले मन्त्री छाड्न दबाब दिएको थियो । उनले पद छोड्न नचाहेको आलोचनासमेत उनले खेप्नुपरेको थियो । त्यसपछि उनी पार्टीभित्र निष्क्रिय जस्तै भएकी थिइन् । ०७९ को संसदीय निर्वाचनमा पराजित भइन् । 

उनले पार्टी नबन्ने सार्वजनिक अभिव्यक्ति दिइन् । पार्टी नेतृत्वको सार्वजनिक रुपमा आलोचना पनि गरिन् । झाँक्रीले पार्टी छाड्न लागेको हल्ला समेत चलेको थियो । उनी एमाले फर्कने चर्चा सेलाएन ।  तर, असार १६–२० मा भएको पार्टीको महाधिवेशनमा भने उनी सक्रिय भएकी थिइन् । 

पार्टीमा निर्वाचन हुनुपर्ने बहस छेडिएको थियो । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धाको सम्भावना बनेको थियो ।  यी दुई पदमा सर्वसम्मत बनाउने कुरामा भूमिका खेलिन् । विद्रोहको औचित्य पुष्टि नहुँदै पार्टीमा चुनाव गर्न नहुने मतमा समर्थन जनाउँदै सर्वसम्मतको प्रयासमा लागेकी थिइन् । 

महाधिवेशनबाट नेपाल अध्यक्ष र महासचिवमा भुसाल सर्वसम्मत भए । 

सम्मानित नेतामा झलनाथ खनालले पनि निरन्तरता पाए । तर, केही टुंगो नै नलगाइ पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत भयो भनी खनालले घोषणा गरेकोमा आपत्ति प्रकट गरेकी थिइन् । 
“अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौँ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?,” उनले फेसबुकमा लेखेकी थिइन् । 

एकीकृत समाजवादीको महाधिवेशन हलले तीन नेतालाई सर्वसम्मत गर्दै ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीलाई झन्डै एक महिना लागेको थियो ।  महाधिवेशनको डेढ महिनापछि पदाधिकारी चयनका लागि केन्द्रीय समिति बैठक राखियो । सर्वसहमतिको प्रयास असफल भएपछि मंगलबार १७ पदाधिकारी र पोलिट्ब्यूरो सदस्यमा निर्वाचन भयो । 

राजेन्द्र पाण्डेलाई वरिष्ठ बनाउन माधवको त्यो पहल  

एकीकृत समाजवादीमा महाधिवेशनबाट तीन पदमा सर्वसम्मत भएपछि २१ मध्ये १८ पद चुन्न बाँकी थियो ।  मंगलबार १८ पदका लागि नै उमेदवारी दर्ता भएको थियो । तर, १७ पदमा मात्रै निर्वाचन भयो । केन्द्रीय सदस्यहरुले पदाधिकारी १७ र पोलिट्ब्यूरो सदस्यमा मतदान गरे । 

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भए । उक्त पदमा घनेन्द्र बस्नेतले पनि उमेदवारी दिएका थिए । उनको उमेदवारी फिर्ता लिएपछि उनी निविरोध निर्वाचित भएका हुन् । 

उनलाई निर्विरोध बनाउन अध्यक्ष नेपालले निकै कसरत गरेका थिए । यसअघि उपाध्यक्ष रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई नेपालले उमेदवार बन्न रोके । त्यस्तै बस्नेतको उमेदवारी फिर्ता गर्नका लागि पनि नेपालको पहलकदमी थियो । 

“संसद्मा पनि हुनुभएको र उहाँले चुनाव हार्ने परिस्थिति बने क्षति पुग्ने भएकाले जसरी पनि सर्वसम्मत बनाउन अध्यक्षले नै अरु नेताहरुलाई विभिन्न आश्वासन दिएर फकाउनुभयो । तर, बाँकी नेताका हकमा भने उहाँले पहल गर्नुभएन,” चुनावमा पराजित भएका नेता भन्छन् ।

निर्वाचनमा गुट र उपगुट बढ्तै देखिएको उनको टिप्पणी थियो । महिला उपाध्यक्षमा चुनाव लडेकी झाँकी्रको नाम सुरुवातामा अध्यक्ष नेपालकै गुटमा थियो । जयन्ती राईको उमेदवारी अर्को समूह अर्थात् घनश्याम भुसालको पक्षमा थियो ।  
फेरि उपगुटले बाँडेको लिस्टमा झाँक्रीको नाम काटिएको थियो । अरु केही नेताहरूको पनि त्यस्तै भएको थियो ।  सत्ता पक्ष अर्थात् पार्टी नेतृत्वकै पक्षमा रहे पनि झाँक्री पराजित बन्न पुगिन् ।  राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी थिइन् । झाँक्री पराजित हुनुमा सत्तापक्षको विद्रोहको रुपमा लिन्छन्, पदाधिकारीमा पराजित भएका एक नेता । 

“उहाँ (झाँक्री) पहिले सत्ता पक्षको लिस्टमा हुनुहुन्थ्यो । पछि उहाँको नाम हटेको थियो । चुनावमा सत्ताले आदेश दियो । गुट र उपगुट नै उहाँ पराजित हुने कारण बन्यो,” ती नेता भन्छन्, “ जयन्ती राईले जित्नु सत्ता पक्षमा आएको विद्रोह हो ।”

माधव नेपालको ‘एस म्यान’ नबन्दा चुनाव हारियो 

एकीकृत समाजावादीमा जीवनराम श्रेष्ठ,  डा. विजय पौडेल, प्रकाश ज्वालालगायतका नेता महाधिवेशन भन्दा आगाडिदेखि नै नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भन्ने अभियानमा थिए ।  पार्टीका सम्मानित नेता खनाललाई रिझाएर भुुसाललाई अध्यक्षमा सहयोग गर्ने सहमति समेत बनेको थियो । 

तर, त्यो सहमतिमा झलनाथ  खनाल उभिन सकेनन् । अन्ततः सर्वसहमतिमा अध्यक्ष र महासचिव चुनिए । तर, केन्द्रीय सदस्य छानेर पदाधिकारीमा निर्वाचन गराउँदा नेतृत्वले बदला लिएको नेताहरुको भनाइ छ । 

“माधव नेपालको एस म्यान बन्न सकिएन । पार्टीमा नयाँ पुस्ताको बहस चलायौं । जुन माधव नेपाललाई सह्य भएन । त्यसको बदला लिने सुरमा थिए । अहिले चुनाव हारियो,” घनश्यामका पक्षमा उभिएका ती नेताले भने । 

उपमहासचिवमा पराजित भएका जीवनराम श्रेष्ठले नैतिकताका आधारमा पार्टी कार्यालयको जिम्मेवारीबाट राजीनामा पनि दिएका छन् ।  उनले कोटामा छानिएका केन्द्रीय सदस्यले विवेक भन्दा पनि निर्देशन पालना गर्दा आफू पराजित भएको सुनाए । 

“केन्द्रीय सदस्य समेत चुनेर ल्याएर चुनाव गराइयो । महाधिवेशन हलबाट चुनाव गर्दा फरक हुन्थ्यो । पकेटबाट केन्द्रीय सदस्य ल्याएर गराइएको चुनावको नतिजा हुने यस्तै नै हो,” उनी भन्छन् । 
उनले चुनावी नतिजा भने स्वीकार गर्ने पनि बताए । 

निर्वाचित पदाधिकारी को– कुन पक्षका ? 

उपाध्यक्षमा दुवै पक्षमा तीन–तीन जना निर्वाचित भएका छन् । नेपाल पक्षबाट गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, निर्वाचित भएका छन् ।  जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी भुसाल पक्षका हुन् । तर, निर्वाचनमा ज्वाला र जोशीको नाम दुवैतिरको लिस्टमा भेटिएको थियो । 

यसअघिका उपमहासचिव डा. विजय पौडेल भुसाल पक्षबाट उमेदवार बनेका थिए । उनी पराजित भए । 

त्यस्तै, उपमहासचिवमा निर्वाचित राजेन्द्रकुमार राई, मेटमणी चौधरी, रामकुमार राई नेपाल पक्षका हुन् । भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित भइन् । 

उता सचिव पदमा पनि भुसाल निकट चन्द्रबहादुर शाही र वलदेव चौधरी निर्वाचित भएका छन् । गणेश विक दुवै पक्षको लिस्टमा थिए । सोमप्रसाद पाण्डे, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर नेपाल पक्षका हुन् । 

केही नेताहरुको नाम दुवै लिस्टमा थियो । पोलिट्ब्यूरो सदस्यमा पनि केही मात्रामा गुट– उपगुटको प्रयोग भएको छ ।  सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टिममा थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro