site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरिएका विवादास्पद व्यक्तिले आफैँले नाम फिर्ता लिएपछि संसदीय सुनुवाइ समिति पनि अग्निपरीक्षाबाट जोगिएको थियो । यसपटक सरकारले फेरि विवादास्पद नामहरू सिफारिस गरेर समितिका सदस्यहरूलाई धर्मसङ्कटमा पारिदिएको छ ।

सामान्यतः कर्मकाण्डी हुँदैआएको संसदीय सुनुवाइ बेलाबखत भने रोचक र रोमाञ्चक हुनपुग्छ । फलस्वरूप प्रायः सरकारको रबरछाप बन्ने गरेका समितिका सदस्यहरूले नेताहरूको इसारामा सिफारिस अनुमोदन नगरेको पनि उदाहरण छ । समितिका सदस्यहरूले विवेक प्रयोग गरेर स्वतन्त्र निर्णय बिरलै गरेका छन् । 

यसपटक विभिन्न देशको राजदूतका लागि प्रस्तावित १७ मध्ये चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । राजदूत सिफारिस समावेशी नभएको विषय समितिका सदस्यहरूले पनि बैठकमा उठाएका छन् । यो सैद्धान्तिक विषय भएकाले यसले समितिलाई अप्ठेरोमा भने पार्दैन ।  

केही व्यक्तिविरुद्ध भने संविधान र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत राजदूत सिफारिस गरिएको भन्दै किटानी उजुरी नै समितिमा दिइएको बताइएको छ । तीमध्ये एक जनालाई संविधानले नै राजदूतमा नियुक्त गर्न रोकेको, अर्का एक जनालाई राजदूतसम्बन्धी नियमअनुसार नमिल्ने भन्दै प्रश्न उठाइएको छ । 

संविधान र नियमले रोकेको विषयमा पनि समितिका सदस्यहरूले धेरै विचार गरिरहनु पर्ने देखिँदैन । कारण, प्रचलित कानुनले नै रोकेको कामकारबाही कार्यपालिका वा विधायिकाबाट भइहाले पनि न्यायपालिकाले सच्याउँछ । समितिका सदस्यहरू बाँकी दुईजनाका विषयमा सङ्कटमा पर्नेछन् जस्काविरूद्ध नैतिकताको प्रश्न उठाइएको छ ।


संविधानले संसदीय सुनुवाइ समिति सरकारको ‘रबरछाप’ हुने कल्पना गरेको छैन । यस्तै संसदीय समितिहरूमा सदस्यहरूमाथि दलको ‘ह्विप’ पनि लाग्दैन । यसैले संसदीय समितिमा अपेक्षाकृत दलगत राजनीतिभन्दा माथि उठेर विमर्श हुने र निष्कर्ष निस्कने सम्भावना हुन्छ ।


संसदीय अभ्यास लामो भएका परिपक्व लोकतन्त्रहरूमा संसदीय समितिहरू बढी सक्रिय र प्रभावकारी हुनेगर्छन् । सरकार र दलको नेतृत्वप्रति आलोचनात्मक दृष्टि राख्ने सदस्यहरू बढी प्रभावकारी पनि हुनेगरेको देखिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई पक्कै पनि यसको जानकारी नै होला ।


अब नेपालको संसदीय अभ्यास पनि परिपक्व हुने चरणमा पुगेको छ । गलत व्यक्ति अनुमोदित भएमा सरकारको सिफारिस अनुमोदन गरेको भनेर समितिका सदस्यहरू उम्किन पाउनेछैनन् । समितिका सदस्यहरूले आफू आफ्ना मतदाताको समेत निगरानीमा रहेको हेक्का राखून् ।


वास्तवमा राजदूत सिफारिसमा भएको त्रुटिका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरू र मूलतः मुख्यसचिव पनि जिम्मेवार देखिन्छन् । राजनीतिक नेतृत्वलाई कानुनी तथा प्राविधिक पक्ष सम्झाउने दायित्व कर्मचारीहरूकै हो । प्रशासकीय नेतृत्वले दायित्व पूरा गरेको भए संसदीय समिति पनि धर्मसङ्कटमा पर्ने थिएन ।


आशा गरौँ, सुनुवाइ समितिका सदस्यहरूले सरकारको निर्णय अनुमोदन गर्नुपूर्व सबै उजुरीको विवेकपूर्ण विवेचना पक्कै गर्नेछन् । नियमविपरीत प्रस्ताव गरिएका व्यक्तिहरूले नै आफ्नो मनोनयन फिर्ता लिए भने समितिका सदस्यहरू धर्मसङ्कटबाट जोगिनेछन् । कसैले नाम फिर्ता नलिए पनि दबाबमा अनुपयुक्त नाम अनुमोदन नगर्ने आँट संसदीय सुनुवाइ समितिका सदस्यहरूले गर्नुपर्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro