site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा मन्त्रालयको संख्या र भागबन्डा नटुंगिँदा एमाले सरकारमा सामेल हुनै अलमल

पोखरा । केन्द्रमा सत्ता समीकरण फेरिएर नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार चलिरहँदा गण्डकीमा भने अझै पनि एमाले सरकारमा सामेल हुन सकेको छैन । दुवै दलको अडानका कारण एमाले सरकारमा जान ढिलाइ भएको हो ।

पछिल्लो समय केही राजनीतिक सहमति भने भएको छ । सकेसम्म यही हप्ताभित्रै एमाले सरकारमा जाने तयारीमा छ । तर, अझै पनि मन्त्रालयको संख्याबारे सहमति जुट्न सकेको छैन । कुन मन्त्रालय कसले लिने भन्ने विषयमा पनि दुई दलबीच मतभिन्नता छ ।

पार्टीको प्रदेश कमिटी, संसदीय दलले सहमति जुटाउन नसकेपछि गण्डकीमा मन्त्रालयको संख्या कति बनाउने भन्ने निर्णय अब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले टुंगो लगाउनेछन् ।

Dabur Nepal
NIC Asia

गण्डकीमा अहिले सात मन्त्रालय छन् । तीमध्ये पाँचवटा मन्त्रालयको जिम्मेवारी सम्बन्धित मन्त्रीले पाएका छन् । दुइवटा मन्त्रालय मुख्यमन्त्रीले अहिले पनि आफू मातहत राखेका छन् ।

गण्डकी सरकारको दोस्रो कार्यकाल सम्हालेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट घटाएर सातमा झारेका थिए । त्यतिबेला माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) को समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीले मन्त्रालयको संख्या घटाउनुलाई राजनीतिक मुद्दा बनाएका थिए ।

केन्द्रमा एमाले र कांग्रेस मिलेपछि गण्डकीमा एमालेले सरकारमा सामेल हुन मन्त्रालयको संख्या बढाउन नहुने सर्त राख्यो । एमालेले केन्द्रको समीकरणको मर्म भन्दै हालका दुई मन्त्री मनाङे र नेसपाका फणिन्द्र देवकोटालाई हटाउनुपर्ने अर्को सर्त राख्यो ।

तर, एमालेको समर्थनबिना नै बहुमत पुर्‍याएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेको सर्तलाई सिधै इन्कार गरिदिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार चलाउन ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसका २७, राप्रपाका दुई, नेसपाका फणिन्द्र देवकोटा र स्वतन्त्र मनाङेको समर्थनमा टुपुक्क बहुमत पुर्‍याएका पाण्डेलाई एमालेले राखेको सर्त मन्जुर भएन ।

संविधानको धारा १६८ (३) अनुसार सरकार चलाउनुभन्दा अगाडि एमाले–माओवादीको 'अवैध गठबन्धन'का कारण पाण्डेले ५३ दिनका लागि सत्ता गुमाउनुपरेको थियो । दुई–दुईपटक सर्वोच्च अदालतको चक्कर काटिसकेपछि पाएको बहुमत उनलाई एमालेलाई सरकारमा सामेल गराउनुभन्दा प्रिय थियो । अर्कातर्फ एमाले माओवादीको गठबन्धनले सत्तादेखि सर्वोच्च पुर्‍याएको पीडा पनि उनले भुलेका छैनन् ।

सभामुखलाई पनि गणना गरेर प्रदेश प्रमुखले नियुक्त गरेको विषय र सभामुखले आफ्नो मताधिकार सुरक्षित रहेको हुँदा ३० सांसदको समर्थनलाई नै विश्वासको मतको बहुमत भनेर गरेको घोषणाविरुद्ध पाण्डेले सरकार छाडेर सर्वोच्च पुग्नुपरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि जेठ १६ गते मुख्यमन्त्री भएका पाण्डेलाई राप्रपा, नेसपा र मनाङले साथ दिएका थिए ।

त्यसकारण उनीहरूलाई हटाउनुपर्ने एमालेको मागलाई बेवास्ता गर्दै कुनै पनि हालतमा नहटाउने भनेर उनले शीर्ष नेतालाई सहमत गराइसकेका थिए । कांग्रेस सभापति देउवाले पनि गण्डकीको विषयमा दुई मन्त्रीलाई नहटाउने भनेर प्रधानमन्त्री ओलीलाई सहमत गराएपछि एमाले आफ्नो मागबाट ब्याक हुन पुगेको छ ।

तर, अझै पनि मन्त्रालयको संख्या कति बनाउने भन्ने बारेमा टुंगो छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार एमालेले सातबाट मन्त्रालय संख्या नौ पुर्‍याउने प्रस्ताव राखेको छ ।

कांग्रेस भने मन्त्रालयको संख्या १० पुर्‍याउन चाहन्छ । दुवै दलका नेताहरूले पार्टीका शीर्ष नेताहरूलाई आ–आफ्ना मागहरू सुनाएर सहजीकरण गर्न आग्रह गरेका छन् ।

खगराज अधिकारी दोस्रोपटक मुख्यमन्त्री हुने बेलामा आवश्यक बहुमत पुर्‍याउन राप्रपाको पनि सहयोग लिने र आवश्यक परे सरकारमा पनि लैजाने तयारीका साथ मन्त्रालयको संख्या नौ पुर्‍याउने निर्णय गरेका थिए । तर, राप्रपा नआउने स्पष्ट संकेत देखिएपछि तत्कालीन सरकारले मन्त्रालयको संख्या बढाउने कुरा सत्य नरहेको भन्दै खण्डन गर्‍यो ।

जबकि, तत्कालीन प्रवक्ता हरिबहादुर चुमानले नै मन्त्रालयको संख्या नौ बनाउने भनेर बोलिसकेका थिए ।

एमालेले अहिले पनि संख्या बढाएमा नौवटा मन्त्रालय होस् भन्ने चाहन्छ । तर, कांग्रेसको प्रस्ताव १० वटा मन्त्रालय बनाउने भन्ने छ ।

संविधान अनुसार गण्डकीमा १२ वटासम्म मन्त्रालय बनाउन पाइन्छ । कांग्रेसले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा स्टाफ कलेजले गरेको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालय १० बटा बनाउनुपर्ने तर्क राखेको छ । त्यतिबेला स्टाफ कलेजले आवश्यकता, मन्त्रालयको कार्यक्षेत्र, कार्य जिम्मेवारीका आधारमा गण्डकीमा १० वटा मन्त्रालय बनाउँदा उपयुक्त हुने सुझाव दिएको थियो । सोही आधारमा दुवै दलले आ–आफ्ना अडान राख्दै आएका छन् ।

मुख्यमन्त्री पाण्डेले शनिबारमात्रै १० वटा मन्त्रालय चाहिने भनेर सभापति देउवालाई सुनाएर आएका छन् । पाण्डे फर्किनासाथ एमालेका खगराज अधिकारी पनि प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौं पुगेका छन् ।

यसको टुंगो भने अब शीर्ष नेताहरूले नै लगाउने छन् । दुवै दलले अडान नछाडेपछि शीर्ष नेताहरूलाई नै गण्डकीको जिम्मा दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सम्भवतः यही हप्ताभित्र खाका बन्ने र एमाले सरकारमा सामेल हुने छ ।

अर्कातर्फ एमाले सरकारमा सामेल हुँदैगर्दा अहिलेका मन्त्रीहरूको जिम्मेवारी पनि फेरिने निश्चितजस्तै छ । सत्ता समीकरणको खेलमा एक सिट ओगट्ने दीपक मनाङेको भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई कार्यविभाजन गर्ने र कार्यजिम्मेवारीसहित मन्त्रालय नै फुटाएर एमाले कांग्रेसले भागबन्डा गर्ने छन् ।

गण्डकीमा एमाले सरकारमा सामेल नहुँदै असन्तुष्टसमेत बनेको छ । केन्द्रमा असार १७ गते समीकरण बनेयता गण्डकी सरकारले गरेका सबै नियुक्तिहरू पुनरवलोकन गरिनुपर्ने माग एमालेले सुरुदेखि नै राख्दै आइरहेको छ ।

केन्द्रमा समीकरण बनेको केही दिनपछि नै मुख्यमन्त्री पाण्डेले योजना आयोगको सदस्य नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा गरेको सम्झौता अनुसार योजना आयोगको एउटा सदस्य राप्रपा र अर्को सदस्य नेसपालाई दिएका थिए ।

यो नियुक्ति उल्टाएर भए पनि आफ्नो कोटाबाट सदस्य राख्ने चाहना एमालेको छ । तर, कांग्रेसले धोका दिन नमिल्ने भन्दै नियुक्ति गरिएको तर्क गरेको छ ।

अहिले पुनः प्रेस रजिस्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढ्दा एमाले झनै सशंकित बन्न पुगेको हो । यसबाहेक सरकारले स्थानीय तहमा न्यायिक सहजकर्ता, विभिन्न मन्त्रालयमा करारका कर्मचारी नियुक्ति प्रक्रिया धमाधम अगाडि बढाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro