site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा नयाँ पेन्सन योजना, तलबको आधा रकम पाइने 

काठमाडौं । भारत सरकारले आफ्ना कर्मचारीका निम्ति नयाँ पेन्सन योजना लागु गर्ने भएको छ । भारत सरकारले एकीकृत पेन्सन योजना सुरु गर्न लागेको हो । भारतका सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले शनिबार यसको घोषणा गरेका छन् ।

भारतका कर्मचारीले लामो समयदेखि पेन्सन योजना सुधार हुनुपर्ने माग गरिरहेका थिए । सन् २०२३ अप्रिलमा भारत सरकारले पेन्सन योजना सुधारका निम्ति अध्ययन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनपछि नयाँ पेन्सन योजना लागु गर्ने घोषणा गरिएको हो ।

के छ एकीकृत पेन्सन योजनामा ?

एकीकृत पेन्सन योजनाअनुसार, २५ वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीले अवकाशपछि आफ्नो अन्तिम तलबको आधा रकम मासिक पेन्सनका रूपमा पाउनेछन् । कुनै कर्मचारीको सेवा अवधिका दौरान मृत्यु भएमा उनको श्रीमान्/श्रीमतीले तलबको ६० प्रतिशत पेन्सनका रुपमा पाउनेछन् ।

१० वर्षे सेवा अवधि पूरा गरेका कुनै कर्मचारीले अवकाश लिएमा उसले न्यूनतम १० हजार भारतीय रुपैयाँ पेन्सनका रूपमा पाउनेछ । यसबाहेक कर्मचारीले पाउने पेन्सनमा महँगी भत्ता पनि जोडिनेछ ।

अवकाशको समयमा कर्मचारीले पाउने एकमुस्ट बोनससँगै अन्तिम ६ महिनाको तलब र महँगी भत्ताको कुल रकमको १० प्रतिशत पैसा छुट्टै पाउनेछन् । यो कर्मचारीले पाउने नियमित पेन्सन नभई छुट्टै रकम हो ।

भारत सरकारले यसअघि कर्मचारीको पेन्सनका निम्ति १० प्रतिशत रकम योगदान गर्ने गरेको थियो । अब एकीकृत पेन्सन योजनामा १८.५ प्रतिशत रकम योगदान गर्नेछ । यो पेन्सन योजनापछि भारत सरकारलाई ६ हजार २५० करोड भारतीय रुपैयाँ अतिरिक्त भार पर्नेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, यो पेन्सन योजना सन् २०२५ अप्रिलदेखि लागु हनेछ । यस अवधिमा यो पेन्सन योजनाका निम्ति आवश्यक कानुन तयार गरिनेछ । भारतमा यसअघि राष्ट्रिय पेन्सन योजना लागु थियो । अब कर्मचारीले राष्ट्रिय र एकीकृत पेन्सन योजनामध्ये एउटा रोज्नुपर्नेछ ।

एकीकृत पेन्सन योजनमा सामेल हुन सेवा अवधि कम्तीमा १० वर्ष पुगेको हुनुपर्नेछ । नयाँ पेन्सन योजनाबाट तत्काल २३ लाख कर्मचारी लाभान्वित हुनेछन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro