site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ वर्षीय अनिलले गरेको दुई अर्बको अवैध कारोबार 

काठमाडौं । करिब दुईअर्ब रुपैयाँ बराबरको सट्टाबाजी, मुद्रासम्बन्धी, सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पक्राउ परेका अनिल ढुंगाना जेल चलान भएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का २४ वर्षीय अनिललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको वैशाख २९ गते पक्राउ गरेको थियो ।

भक्तपुरबाट पक्राउ परेका अनिलमाथि थप अनुसन्धान गर्न अपराध अनुसन्धान कार्यालयले भक्तपुर प्रहरीलाई पठायो ।

भक्तपुर प्रहरीले पक्राउ गरेको करिब दुई महिनापछि अनिलमाथिको अनुसन्धान सकी साउन २९ मा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय भक्तपुर बुझायो ।

त्यही अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत भक्तपुरमा दायर गरिएको मुद्दामा अदालतले अनिललाई गएको साता पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । हाल उनी सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका छन् ।

नेपाल राष्ट्र बैंकले अनिलले सञ्चालन गरेका कुमारी बैंकको खाताबाट सात करोड शंकास्पद कारोबार गरेको देखाएको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको खाताबाट समेत ६–६ करोडको कारोबार गरिएको देखिएपछि अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाएको थियो ।

तिनै तथ्यका आधारमा उनलाई पक्राउ गरिएको थियो । 

अनिलले आफ्नोबाहेक आफन्तको नामबाट ५६ वटा बैंक खाता खोलेर अवैध अनलाइन जुवा (सट्टेबाजी) खेलाउने गरेको तथ्य खुलेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा अनिलले मात्रै एक अर्ब ४१ करोड २५ लाख २९ हजार रुपैयाँको अवैध कारोबार गरेको पाइएको छ ।

अनिलले ५५ बैंक खातालाई ११ वटा कनेक्ट आईपीएसमा जोडेर कारोबार गरेको खुलेको हो । त्यस्तै, १५ वटा वालेटमार्फत कारोबार गरेको खुलेको छ । त्यस्तै, डाइरेक्ट बैंक खातामार्फत समेत कारोबार गरेको पुष्ठि भएको छ ।

यसरी बनाएका थिए, सट्टेबाजी खेल्ने समूहको निर्माण

म्यानेजमेन्ट अध्ययनरत अनिललाई आईटीसम्बन्धी समेत ज्ञान थियो ।  उनले अनलाइन जुवाका लागि छुट्टै ‘जुवा ३६५’ नामको फेसबुक पेज बनाएका थिए ।  पेजमा आबद्ध हुनेहरूलाई प्रलोभनमा पारी बेटिङमा सहभागी गराउँथे । अनिल नेपालमा मात्रै नभएर भारत पुगेरसमेत अवैध सट्टेबाजी खेलाउने गरेको प्रहरीको दाबी छ ।

अनिल ढुंगाना नाम फेरेर भारतबाट उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड बनाएको फेला परेको थियो ।

त्यस्तै, भारतीय एचडीएफसी बैंकमा खातासमेत खोलेको पाइएको थियो । त्यसबाहेक विभिन्न व्यक्तिको नामको चेकबुक ११ थान अनेक कम्पनीको ६ थान मोबाइल समेत प्रहरीले बरामद गरेको थियो ।

आफैँले १२ लाख रुपैयाँ हारेपछि कारोबारी

अनिल आफैँ पनि सट्टेबाजी खेल्ने धन्दामा लागेका थिए । विश्वकपदेखि युरोकप फुटबल, आईपीएल क्रिकेट भइरहँदा उनी ‘वनएक्स बेट’मार्फत सट्टेबाजी खेल्थे । त्यही क्रममा उनले १२ लाख रुपैयाँ हारे । सोही रकम उठाउन आफूले ‘वन एक्स बेटिङ’को मोबाइल क्यास एजेन्टको रुपमा काम गरेको बयान प्रहरीदेखि अदालतमा समेत दिएका छन् ।

त्यसरी एजेन्ट हुँदा ‘वन एक्स बेटिङ’मा सहभागी खेलाडीको पाँच प्रतिशत र पैसा निकाल्दा दुई प्रतिशत कमाइ हुने देखिएपछि सट्टबाजी धन्दामा लागेको बयान अनिलले दिएका छन् ।

आमा बुबासमेत फरार प्रतिवादी

प्रहरीले अनिलसहित १२ जनालाई प्रतिवादी बनाएको थियो ।  तर, अनिलबाहेक अन्यलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।  प्रहरीले अनिलबाहेक उनकै बहिनी २१ वर्षीया अस्मिता ढुंगाना, आमा ५४ वर्षीया सीता ढुंगाना, बुबा विष्णु ढुंगानालाई समेत प्रतिवादी बनाएको थियो ।

अनिलले आमा–बुबादेखि बहिनीको खाता खोलेर अवैध कारोबारमा प्रयोग गरेका थिए ।

त्यस्तै काभ्रेकै अच्युत नेपाल, राजीब ठकुरी, काभ्रेकै मानबहादुर तामाङ, काठमाडौं गोंगबुका आरती गुरुङ, नुवाकोटका विवेक रिमाल मोरङका २९ वर्षीय राजन पोखरेल, सोहीका अर्वित महतो र झापाका धिरेन सापकोटा प्रतिवादी छन् ।

उनीहरुमध्ये उपत्यका प्रहरी कार्यालयले अनिलका बहिनीलाई भने प्रहरीले दोस्रो दिन नै छाडेको खुलेको छ । उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेकी अस्मितालाई कोटेश्वर प्रहरी प्रभागको थुनामा राखेको थियो ।

तर, दोस्रो दिन उनलाई छाडिएको थियो । भक्तपुर प्रहरीले भने उनलाई समेत प्रतिवादी बनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro