site stats
बाह्रखरी :: Baahrakhari
देश
सवारीसाधनको ठक्करबाट रतुवा मर्‍यो
फाइल तस्बिर ।

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४, लेवाटारमा सवारीसाधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ । सबडिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार, मंगलबार (जेठ ६) बिहान सडक पार गर्ने क्रममा पहिचान नखुलेको सवारीले ठक्कर दिँदा पोथी रतुवा मरेको हो ।

रतुवाको मुख र गर्धनमा चोट लागेको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरीचौकी कुरिनटार र स्थानीयको रोहबरमा रतुवालाई खाडलमा पुरी व्यवस्थापन गरिएको रेन्जर सुवेदीले जानकारी दिए ।

स्थानीय सञ्जय खनालका अनुसार, लेवाटार क्षेत्र वरपरका जंगलबाट वन्यजन्तु सडक पार गरी पानी पिउन त्रिशूली नदीतर्फ जाने गर्छन् ।

गएको आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा घाइते भएका थिए । उनका अनुसार, केही महिनाको अन्तरालमा लेवाटार आसपासमा तीन मृग सवारीको ठक्करबाट मरेका छन् । दुईवटा घाइते भएका छन् । सडक वन्यजन्तुमैत्री नहुँदा यस्तो घटना हुने गरेको छ ।

सडक स्तरोन्नतिसँगै कल्भर्टमा माटो थुपारिएपछि वन्यजन्तुलाई बाटो पार गर्न जोखिम भएको खनालले बताए । खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई वन्यजन्तु आवतजावतका निम्ति सहज बनाउन आग्रह गर्दा सुनुवाइ नभएको उल्लेख गरे । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २३:१६
प्रतिक्रिया दिनुहोस्