काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)बारे कुनै प्रस्ताव नआएको बताएका छन् । आज प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा सांसदको प्रश्नमा ओलीले एसपीपीबारे चर्चा नभएको बताएका हुन् ।
उनले अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले नेपाल भ्रमणमा आउँदा एसपीपीको विषयमा छलफल नभएको बताएका हुन् ।
उनी भ्रमणमा आउँदा नेपालको विपद् प्रतिकार्य र मानवीय सहायताको कार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा दुईवटा हेलिकोप्टर नेपाललाई दिने बताएको ओलीले जानकारी दिए ।
उनले त्यसका लागि अमेरिकी संसद्बाट बजेट पारित हुनुपर्ने बताएको ओलीको भनाइ छ । ओलीले उनले पराराष्ट्रमन्त्रीसँग पनि सोही कुरा बताएको जनाए ।
ओलीले राष्ट्रिय हितको पक्षमा शंका नगर्न आग्रह पनि गरे । उनले राष्ट्रिय हितमा सौदाबाजी नगरिने स्पष्ट पारे ।
अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको सहभागितालाई लिएर वादविवाद हुँदै आएको छ ।