
काठमाडौं । नेपालका वामपन्थी राजनीतिज्ञ प्रदीप नेपाल ०१० साल पुस २८ गते भोजपुरमा जन्मिएका थिए । उनी नेपाली राजनीतिमात्र होइन, साहित्यमा पनि उत्तिकै दख्खल राख्थे ।
उनी सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दथे । उनका स्वप्निल सहर, देउमाईको किनारमा मुक्त आकाशको खोजी, मुक्ति, पूर्वतिर, पार्टीकी आमालगायत कृति प्रसिद्ध छन् ।
नेकपा एमालेको नौमहिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका नेपालले नै पहिलोपटक रेडियो नेपालबाट संस्कृत भाषामा समाचार प्रसारण गर्ने व्यवस्था गरेका थिए ।
०२६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका नेपाल तत्कालीन नेकपा मालेको संस्थापक सदस्य थिए । ०३५ देखि २०४९ साल सम्म उनले विभिन्न जिल्ला इन्चार्ज भएर काम गरेका थिए ।
०४९ मा नेकपा एमालेको केन्द्रीय बनेका उनी ०५० मा राष्ट्रिय सभा सदस्य र ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
०५४ सालमा एमाले स्थायी कमिटी सदस्य बनेका प्रदीप नेपाल ०५५ सालमा जलस्रोत र स्वास्थ्यमन्त्री बनेका थिए ।
नेपाल ०५६ सालमा काठमाडौं–१ बाट प्रतिनिधि सभाका सांसद चुनिएका थिए । ०६३ सालमा उनी शिक्षामन्त्री बनेका थिए ।
०६५ मा एमालेको महासचिव र ०७० मा उपाध्यक्षमा उमेदवारी दिए पनि दुवैपटक उनी पराजित भए । ०६५ को आठौँ महाधिवेशनमा उनी केपी शर्मा ओलीको प्यानलबाट महासचिव उमेदवार थिए । त्यसबेला नेपाललाई ईश्वर पोखरेलले पराजित गरेका थिए ।
०७०को नवौँ राष्ट्रिय महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्ष उमेदवार बनेका उनी त्यसपटक पनि पराजित भएका थिए ।
०७० मा वामदेव गौतम गृहमन्त्री हुँदा नेपाल गृह मन्त्रालयको सल्लाहकार बनेका थिए । ०७५ यता भने उनले सक्रिय राजनीति छाडेका थिए ।
उनको ७२ वर्षको उमेरमा उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको छ ।