काठमाडौं । फ्रान्स यू–२१ टोलीका मुख्य प्रशिक्षक थिएरी हेन्रीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । ४७ वर्षीय हेन्रीले सन् २०२३ मा दुई वर्षको सम्झौतासहित फ्रान्सेली युवा टिमको प्रशिक्षण जिम्मेवारी पाएका थिए ।
उनको प्रशिक्षणमा फ्रान्सले घरेलु भूमिमा आयोजित पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलसम्मको यात्रा तय गरेको थियो । ओलम्पिकको फाइनलमा फ्रान्स स्पेनसँग ५–३ ले पराजित भएको थियो ।
आर्सनल तथा बार्सिलोनाका पूर्वस्ट्राइकर हेन्री र फ्रान्सबीचको सम्झौता आउँदो वर्षसम्मको थियो । सम्झौताअनुसार, आउँदो वर्ष स्लोभाकियामा हुने यू–२१ युरोपियन च्याम्पियनसिपसम्म हेन्रीले जिम्मेवारी पाएका थिए । तर, उनले एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका हुन् ।
“ओलम्पिकमा देशका निम्ति रजतपदक जित्नु मेरा लागि सदैव सबैभन्दा ठूलो गौरवका रूपमा रहनेछ,” हेन्रीले भने, “म संघ, खेलाडी, स्टाफ र मलाई यो जादुमय अनुभव लिन अनुमति दिने समर्थकप्रति आभारी छु ।”