site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’मा हमासको नयाँ अडान
फाइल तस्बिर ।

गाजा क्षेत्र । हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ ।

इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो । 

गाजामा इजरायली आक्रमण जारी रहँदा र इरानसम्बद्ध नेताको हत्याले द्वन्द्वको डर उत्पन्न गरेपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले इजरायल र हमासलाई युद्धविराम र बन्धक मुक्ति सम्झौताको लागि वार्ता पुनः सुरु गर्न आह्वान गरेका हुन् ।  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लागिरहेका समय इजरायली वार्ता टोलीले अमेरिका, कतार र इजिप्टले बिहीबारको लागि दिइएको वार्ताको निमन्त्रणा स्वीकार गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसंघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ । 

बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले  ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् । 

हमासले गत मंगलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ । हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए ।

बस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ ।  

बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा ६ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमा इजरायली सेना गाजाको आवासीय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ । 

दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro