काठमाडौं । नेपाली सिनेमाको पर्यायवाची शब्द हतारको सिर्जना राखिदिए पनि सायद अत्युक्ति हुँदैन होला । कारण, नेपाली सिनेमामा हतारमा हुने काम धेरै छन् ।
जस्तै ?
हतारमा के काम हुन्छ नेपाली चलचित्रमा भन्ने प्रश्नको जवाफ दिनुभन्दा पनि केचाहिँ हुँदैन भन्नेको उत्तर दिन सायद मेकरलाई सहज होला । यो नेपाली चलचित्रकर्मीका लागि व्यंग्य होइन, यथार्थ हो । भलै, यसलाई मेकरले स्वीकार गर्न कठिन होला । त्यो मेकरको समस्या हो ।
उदाहरण ?
लामो हुन्छ, हतारमा के काम हुन्छ भन्नेको फेहरिस्त । सिनेमा निर्माणको घोषणासँगै प्रदर्शन मिति सार्वजनिक हुन्छ । सिनेमा प्रि–प्रोडक्सनको काम सुरु नहुँदै रिलिज डेट घोषणा गर्न हतार हुन्छ । चलचित्रको काम कसरी अगाडि बढ्छ, टुंगो छैन । छायांकन कहिले हुने हो, टुंगो लगाउन सकेको हुँदैन, तर रिलिज डेट फाइनल भइसकेको हुन्छ ।
अधिकांश मेकरसँग सिनेमा निर्माणको घोषणा गर्दा सिनेमाको कथा हुँदैन । फाइनल स्क्रिप्टको ड्राफ्ट त धेरैपछिको कुरा हो । चलचित्र निर्माणको घोषणा समारोहमा अधिकांश मेकर भन्छन्– सिनेमाको स्क्रिप्ट लेखनकार्य जारी छ । फाइनल हुन बाँकी छ ।
कतिले त वानलाइन स्टोरीका आधारमा सिनेमा घोषणा गर्छन् । हतारमा निर्माण घोषणा भइसकेको हुन्छ, तर स्टोरी डेभलप गर्दै जाँदा अपेक्षित रूपमा स्क्रिप्ट बलियो नबनेपछि त्यो प्रोजेक्ट अगाडि बढ्दैन । चलचित्र नै बन्दैन । यस्ता उदाहरण थुप्रै छन् ।
हतारमा हुने अर्को काम हो, कलाकारको छनोट र अनुबन्ध । चलचित्र छायांकनमा जाने तयारी अन्तिम चरणमा पुगिसकेको हुन्छ, तर कलाकारको टुंगो लागेको हुँदैन । छायांकनमा जानुभन्दा दुई दिनअगाडि कलाकार अनुबन्ध हुन्छन् । ती कलाकारले स्क्रिप्ट कहिले पढ्छन्, कति बुझ्छन्, क्यारेक्टर निर्माणका लागि कति समय पाउँछन्, क्यारेक्टरको रिसर्चका निम्ति कति समय उपलब्ध हुन्छ, वर्कसप कहिले हुन्छ ? अनि, कसरी निस्किन्छ उत्कृष्ट काम ?
यति मात्र होइन, छायांकनस्थलमै कलाकार अनुबन्ध गराएर सिनेमा खेलाउनु पनि नेपाली चलचित्र उद्योगमा नौलो होइन । कतिपय मेकरले यो अभ्यास गरिरहेका हुन्छन् ।
फेरि फर्कौं स्क्रिप्टतिर, चार महिनाअगाडि रिलिज भएको एउटा चलचित्र– जसले बक्सअफिसमा औसत व्यापार गर्यो । उक्त चलचित्रको स्क्रिप्ट छायांकनस्थलमै लेखिएको थियो । एक दिन स्क्रिप्ट लेखन र अर्को दिन छायांकन गरिएको थियो । यस्तो प्रयोग देखेर धेरैले सामाजिक सञ्जालमा चलचित्र र निर्माण टिमका सदस्यको नाम नलिईकन व्यंग्य गरेका थिए ।
हतारमा रिलिज डेट अनाउन्स गरिन्छ, त्यसको मार पोस्टप्रोडक्सनमा पर्छ । हतारमा पोस्टको काम हुन्छ । ‘हतारको काम लतरपतर’ भन्ने त उखानै छ । आरामले समय लिएर कहाँ कमजोरी भयो भनेर सच्याउँदै काम गर्ने समय मेकरसँग हुँदैन । त्यसैले सिनेमा प्राविधिक रूपमा कमजोर हुन्छ ।
पाँच वर्षअगाडि स्टार नायक अभिनीत एउटा चलचित्रको भीएफएक्सको काम नसकिँदै हलमा रिलिज गरिएको थियो । रिलिजको तीन दिनपछाडि फाइनल फाइल हलमा लगाइएको थियो । फाइनल कपी आउँदा हल रित्तिने अवस्था आइसकेको थियो ।
अहिले पनि अधिकांश सिनेमालाई प्रिमियरको दिनसम्म पोस्टको काम सक्न हम्मेहम्मे पर्छ । कतिपय चलचित्र त प्रिमियरमा फाइनल कपी नै देखाइँदैन, किनकि काम बाँकी नै हुने भएकाले शुक्रबारसम्म पोस्टप्रोडक्सनको काम भइरहेको हुन्छ ।
अघिल्लो वर्ष मात्रै दुईवटा चलचित्र सार्वजनिक प्रदर्शनको केही दिनपछि २०/२० मिनेटभन्दा धेरै काटिएको थियो । पोस्टको मोटामोटी काम नसकिएपछि हल टेस्ट गर्ने समयसम्म पनि मेकरसँग हुँदैन ।
मेकर नै पोस्टको काममा भ्याइ नभ्याइ भएपछि त्यसको असर पब्लिसिटीमा त पर्ने नै भयो । मेकरले नै समय नदिएपछि कलाकारलाई झनै सजिलो । अर्कातिर, सकेसम्म हातमा आएको सिनेमा नछोड्ने कलाकारलाई लिएर चलचित्र बनाएपछि उनीहरूलाई समेत पब्लिसिटीमा हिँड्ने फुर्सद हुँदैन । हतारहतारमा दुई दिन पनि पब्लिसिटीमा कलाकार हिँड्न पाउँदैनन् ।
निर्देशक सौरभ चौधरी हतारहतारमा काम हुनुको विभिन्न कारण रहेको तर यसले सिनेमाको गुणस्तरमा पनि नकारात्मक प्रभाव पारिरहेको बताउँछन् । सबैभन्दा ठूलो समस्या नेपाली चलचित्र क्षेत्रमा दक्ष प्राविधिकको अभाव रहेको सौरभको अनुभव छ ।
“स्क्रिप्ट र कलाकार अनुबन्धको सन्दर्भमा अरूको बारेमा त मैले बोल्ने कुरा भएन, तर मेरो हकमा स्क्रिप्ट र कलाकार दुई/तीन महिनाअगाडि नै लक्ड भइसकेको हुन्छ,” उनी भन्छन्, “तर, प्राविधिक पक्षमा भने निश्चय नै हो काम ढिलो हुन्छ ।”
पोस्टप्रोडक्सनमा काम गर्ने दक्ष जनशक्तिको संख्या कम भएकाले हरेक मेकरको चलचित्रको काम अन्तिम समयमा हतारहतारमा हुने गरेको उनी बताउँछन् । आफ्नै चलचित्र ‘अगस्त्य च्याप्टर–१’ प्राविधिकका कारण प्रिमियरमा बिग्रेको फाइल प्ले भएको उनी सुनाउँछन् ।
दक्ष जनशक्ति कम भएकाले जतिसुकै चाँडो पोस्टप्रोडक्सनको कामका लागि फाइल दिए पनि ढिलो हुने उनको तर्क छ । “हामीसँग वेल मेनपावर कम छ, त्यसैले अधिकांश मेकरका चलचित्र उनीहरूकैमा पुग्छन् । उनीहरूसँग लाइनअपमा धेरै सिनेमा हुन्छन्,” सौरभ भन्छन्, “जुन सिनेमाको रिलिज डेट अगाडि छ, त्यही हेरेर उनीहरूले पहिला त्यही चलचित्रको काम गर्छन् ।”
६ महिना वा दुई हप्ताअघि बुझाए पनि प्राविधिकले दुई सातअगाडि मात्र चलचित्रको काम सुरु गर्ने उनको गुनासो छ । सिनेमाको लाइनअपले यसो गर्नु बाध्यता भए पनि मेकर समस्यामा पर्ने गरेको उनको भनाइ छ ।
“धेरैलाई सिनेमाको लाइनअपका कारण पनि छिटै फाइल दिए पनि काम गर्न नसक्ने अवस्था छ,” उनी भन्छन्, “धेरै त होइन, केहीमा प्रोफेसनालिजमको पनि कमी छ, यसले पनि समस्या खडा भइरहेको छ ।”
निर्माता रोहित अधिकारीलाई ‘फर्की फर्की’ रिलिज गर्न हतार नभएको भए अझै राम्रो बनाउन सकिन्छ भन्ने लाग्छ । समयाभावका कारण केही ठाउँमा चलचित्र बिग्रिएको थाहा पाउँदापाउँदै पनि यतिकै छाड्नुपरेको रोहित स्वीकार गर्छन् ।
“हतार गर्दा देख्दादेख्दै पनि कति ठाउँमा बिग्रिएको चलचित्र रिलिज गर्नुपर्यो । मसँग एक महिना थप हुन्थ्यो भने ‘फर्की फर्की’ थप राम्रो हुन्थ्यो,” रोहित भन्छन्, “तर, समय नभएका कारण धेरै राम्रो गर्ने ठाउँ हुँदाहुँदै पनि गर्न सकिएन ।”
हतार गर्दा चलचित्र बिग्रिएको अनुभूत गरेका उनी अब यो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँछन् ।
वान लाइनर मन परेकै भरमा डेट अनाउन्स गर्ने, सिनेमाको नाम राख्ने, कलाकार फाइनल गर्ने प्रवृत्ति सामान्यसरह रहेको तर यसले असामान्य असर गरिरहेको रोहितको भनाइ छ । यो पनि रोहित आफैँले भोगेको समस्या हो ।
‘वरिष्ठ बलराम’ उनले निर्माणको घोषणा गरे, कलाकार फाइनल गरे । त्यति बेलासम्म उनीसँग वानलाइन स्टोरी मात्र थियो । “तर, जब हामीले स्टोरी डेभलप गर्दै गयौँ र स्क्रिप्ट तयार भयो, हामीलाई स्टोरी मन परेन,” रोहित खुलस्त भन्छन्, “राइटरलाई नै मन परेन स्क्रिप्ट । त्यसपछि हामीले तत्काललाई यो स्क्रिप्टमा काम नै नगर्ने निर्णय गर्यौं । अब यो फेरि शून्यबाट सुरु गर्छौं । अर्कै नाममा चलचित्र बनाउँछौँ ।”
अब आफू कहिले पनि सुरुमै रिलिज डेट नलिई पहिला काम सकेर मात्र प्रदर्शन मितिबारे सोच्ने उनी बताउँछन् । नेपाली चलचित्र उद्योगमा हतारमा काम गरेर फुर्सदमा पछुताउने रोगकै रूपमा विकास भइरहेको उनी टिप्पणी गर्छन् ।
निर्माता हतारिनुको मुख्य कारण रोहित बिदामा रिलिज गर्ने लोभलाई मान्छन् । “बिदामा आफ्नो चलचित्र रिलिज गरौँ भन्ने हरेक निर्मातालाई हुन्छ । यही मान्यताबाट म पनि गुज्रिएकै हो,” उनी भन्छन्, “बुद्धजयन्ती र गणतन्त्र दिवसको अवसर पारेर मैले ‘फर्की फर्की’ रिलिज गरेको हुँ ।”
बिदा र अरू सामान्य दिनको चलचित्रको व्यापारमा ७० देखि ८० प्रतिशतको अन्तर हुने उनी बताउँछन् । ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’बाट आफू बिदामा मात्र दर्शकको चाप हलमा बढ्ने निष्कर्षमा पुगेको उनी सुनाउँछन् ।
“यही भएर हो, सबै निर्माताको आँखा बिदामा पुगेर अडिएको । बिदा र अरू दिनमा सिनेमाको व्यापार उस्तै हुन्थ्यो भने सायद सिनेमाको काम पनि हतारमा हुने थिएन,” रोहित भन्छन्, “त्यसैले ‘रावायण’, ‘लाजशरणम्’, ‘छक्कापञ्जा’ सबैले बिदा हेरेर नै रिलिज डेट लिएका छन् ।” यसबाट पछि हटेर फुर्सदले काम गरेको खण्डमा सिनेमाको गुणस्तरमा सुधार हुने सम्भावना रहेको रोहित बताउँछन् ।