site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशलाई अधिकारविहीन बनाउन बारको प्रस्ताव

काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान संशोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । बारले आफ्नो राष्ट्रिय सम्मेलनबाट पारित विषयहरूलाई बुँदागतरूपमा समेटेर प्रधानमन्त्रीलाई बुझाएको हो ।

जहाँ संविधान संशोधनको माग गरिएको छ । १६ बुँदे ज्ञापनपत्रमा संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशको भूमिका घटाउनेदेखि कानुन आयोगको जिम्मेवारी बढाउनेसम्ममा विषय समेटिएको छ ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका थप विषयमा पनि सुझाव दिन आग्रह गरेका छन् ।

“प्रधानमन्त्रीज्यूसँग सकारात्मक र सौहार्दपूर्ण कुराकानी भएको छ,” बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बाह्रखरीसँग भने, “संविधान संशोधनमा बारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।”

प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रियाबाट बार उत्साहित भएको उनको भनाइ छ । बारले भावी प्रधानन्यायाधीश नियुक्ति सिफारिसबाहेकका संवैधानिक पदाधिकारी सिफारिसमा परिषद्‌मा प्रधानन्यायाधीशलाई भूमिकाविहीन बनाउन माग गरेको छ ।

यस्तै, सर्वोच्च अदालतको संवैधानिक इजलासलाई स्थायी इजलासका रूपमा संविधानमा व्यवस्था गर्दै प्रधानन्यायाधीशपछिका वरिष्ठतम् चारजना न्यायाधीश रहने गरी संविधानमै किटान गर्न पनि माग गरिएको छ ।बारले संवैधानिक इजलासमा रहने न्यायाधीशले फुर्सद हुँदामात्र अन्य मुद्दा हेर्ने व्यवस्था गर्दै सर्वोच्चमा न्यायाधीशको संख्या बढाएर २५ पु‍र्‍याउन पनि माग गरेको छ ।

बारले न्यायाधीशको संसदीय सुनुवाइको व्यवस्था हटाउन र अन्य पदाधिकारीको हकमा कायम राख्न पनि सुझाव दिएको छ । प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद्‌मा र न्यायाधीशको हकमा न्यायपरिषद्‌मा सार्वजनिक उजुरी हेरी कैफियत रहे/नरहेको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन माग बारले गरेको छ ।

सर्वोच्च अदालतको क्षेत्राधिकार पुनरवलोकन गर्दै सर्वोच्चमा संविधान, मौलिक हक र संघीय कानुन तथा गम्भीर प्रकृतिका देवानी र फौजदारी मुद्दा हेर्न अधिकार क्षेत्र तोक्दै प्रदेश र संघको विवाद सर्वोच्चले हेर्ने व्यवस्था मिलाउन पनि संविधान संशोधनको माग गरिएको छ ।

यस्तै, स्थानीय तह र प्रदेशको विवाद तथा प्रदेश तथा स्थानीय तह निर्वाचनसम्बन्धी विवाद पनि प्रदेशमा रहेका उच्च अदालतबाटै टुंग्याउने व्यवस्था गर्न सुझाव दिएको छ ।

बारले विशेष अदालत, प्रशासकीय अदालत, श्रम अदालत, राजस्व न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरण र ऋण असुली न्यायाधीकरणलाई एकीकृत गरी हरेक उच्च अदालतको एकीकृत प्रशासनमा रहने गरी विकेन्द्रित गर्न र एकीकृत अदालत तथा न्यायाधीकरण गठनको पहल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।

बारले स्थानीय तहमा उपाध्यक्षका नेतृत्वमा रहने न्यायिक समितिलाई मेलमिलाप समितिमा रूपान्तरण गर्दै स्थानीय अदालत गठन गरी त्यहाँबाट न्याय निरुपणको व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

यस्तै, प्रधानन्यायाधीसहित संवैधानिक पदाधिकारीलाई महाभियोग लगाउँदा महाभियोग छानविन समितिले काम थालेको ६ महिनाभित्र टुंग्याउने अनिवार्य संवैधानिक व्यवस्था गर्न सुझाव दिइएको छ ।

बारले जिल्ला अदालतमा न्यायाधीश नियुक्त गर्दा फैसला गर्न सक्ने क्षमता, समस्याको पहिचान गर्ने क्षमतासहितका आधारमा परीक्षा लिने व्यवस्था मिलाउन र तीन महिना अनिवार्य कोर्स गरेपछि मात्र न्याय निरुपणमा सहभागी हुन पाउने व्यवस्था मिलाउन सुझाव दिएको छ । यस्तै, उच्च अदालतका न्यायाधीशको सेवानिवृत्त हुने व्यवस्था सर्वोच्चका न्यायाधीश समान राख्न पनि सुझाव दिएको छ ।

IMG-20240802-WA0028-1722602441.jpg

IMG-20240802-WA0029-1722602440.jpg

IMG-20240802-WA0030-1722602440.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro